ad ad

समाज


‘डार्क फाइल’ का अभियुक्त तिमल्सिना पक्राउ

‘डार्क फाइल’ का अभियुक्त तिमल्सिना पक्राउ

नेपालखबर
भदौ ५, २०८१ बुधबार १९:४६, काठमाडौँ

सिधाकुरा नामक न्युज पोर्टल तथा युट्युब च्यानलले प्रकाशन गरेको ‘डार्क फाइल’ रिपोर्टमा सूचना दिने राजकुमार तिमल्सिना पक्राउ परेका छन्। अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार साँझ तिमल्सिनालाई पक्राउ गरेको हो। 

उनलाई पेप्सिकोलास्थित डेराबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले नेपालखबरलाई जानकारी दिए। 

उनलाई बैंकिङ कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएको उनले बताए। बैंकिङ कसुर बाहेक उनीविरुद्ध अन्य दुई/तीन वटा कसुरमा मुद्दा परेको र त्यसमाथि पनि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। 

उक्त प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले २०८१ असार १३ गते विद्युतीय कारोबार ऐन र अपमानजनक कसुरविरुद्धको अपराध गरेको अभियोगमा तिमल्सिनासहित तीन जनलाई प्रतिवादी बनाएर १ लाख रुपैयाँसम्मको जरिवाना, ५ वर्षसम्म कैद वा दुवै सजाय माग दाबी गर्दै मुद्दा दर्ता गरेको थियो।

उक्त च्यानलविरुद्ध परेको अवहेलना मुद्दामा भोलि (भदौ ६) गते पेसी तोकिएको छ। भोलि नै निर्णय सुनाइने जनाइएको छ।

यसअघि ९ न्यायाधीशको इजलासमा भएको सुनुवाइपछि बिहीबारका लागि निसुको आदेश भएको थियो।

यो मुद्दा सुनुवाइ गर्न सर्वोच्चले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित ९ न्यायाधीशको बृहत् इजलास गठन गरेको थियो।

जसमा न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, हरिप्रसाद फुयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकाल छन्। 

सिधाकुराले प्रसारण गरेको विवादित अडिओका विषयमा सर्वोच्च अदालत प्रशासनले नै प्रतिवेदन उठाएर अदालतको अवहेलना मुद्दा दायर गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .