ad ad

समाज


सुनकोसी दुर्घटना: २५ फिट गहिराइबाट निकालियो गाडी, बेपत्ता ३ युवा अझै भेटिएनन्

सुनकोसी दुर्घटना: २५ फिट गहिराइबाट निकालियो गाडी, बेपत्ता ३ युवा अझै भेटिएनन्

सुनकाेसीकाे २५ फिट गहिराइबाट निकालिएकाे गाडी


नेपालखबर
भदौ ९, २०८१ आइतबार ११:४०, काठमाडौँ

सिन्धुलीको गोलोन्जोर गाउँपालिका–१ कुँडुलेबाट शनिबार साँझ सुनकोसी नदीमा गाडी खस्दा बेपत्ता भएका तीनजना युवा अझै फेला परेका छैनन्। 

घटना लगत्तैदेखि बेपत्ताको खोजी चलिरहे पनि उनीहरुलाई अझै फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले जानकारी दिए। 

खोटाङको हलेसी महादेव मन्दिरको दर्शन गरेर काठमाडौँ आउँदै गरेका भक्तपुरका चार युवा सवार प्रदेश ३ ख ०२३ च ६३६६ नम्बरको हाइलक्स गाडी गोलान्जोर गाउँपालिका–१ कुँडुलेबाट आइतबार साँझतिर सुनकोसी नदीमा खसेको थियो। 

‘नदीमा बेपत्ता भएको गाडी गएराति २ बजे सशस्त्र प्रहरीको गोताखोर टोलीले जेसिभीको सहायतामा नदीबाट निकालेको छ,’ एसपी काफ्लेले भने, ‘तर त्यसमा सवार तीन युवालाई अझै फेला पार्न सकिएको छैन।’

बेपत्ता हुनेमा भक्तपुरको सूर्यविनायक नगरपालिका जगातीका ३२ वर्षीय अबिन बके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा छन्।अबिन हाइलक्सका चालक हुन्। 

सोही गाडीमा सवार भक्तपुरकै २७ वर्षीय सुशान्त कक्षपतिले भने दुर्घटना हुँदा सडकमा फाल हानेर ज्यान जोगाएका छन्। सामान्य घाइते उनको उपचार चलिरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी अनिलकुमार खड्काले जानकारी दिए। 

बेपत्ता तीन युवाको खोजीमा आइतबार बिहानैदेखि सुरक्षाकर्मी खटिएका एसपी काफ्लेले बताए।

‘म अहिले घटनास्थलमै छु,’ उनले नेपालखबरसँग भने, ‘घटनास्थलदेखि तल १० किलोमिटर क्षेत्रसम्म नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोली र स्थानीयले बेपत्ताको खोजी गरिरहेका छन्।’

सशस्त्रको गोताखोर टोलीले नदीको झण्डै २५ फिट तल डुबेको अवस्थामा गाडी फेला पारेको हो। सडकबाट पल्टिएपछि गाडी झण्डै ५० मिटर तल पुगेर नदीमा डुब्दा त्यसमा सवार तीन जना बेपत्ता भएका प्रहरीले जनाएको छ। 

‘बाढी आएको कारण अहिले सुनकोसीको पानी एकदमै धमिलो र लेदो छ। बेपत्ता भएकाहरुलाई बालुवाले पुरेको पनि हुनसक्छ। हामी सम्भावित सबै किसिमबाट खोजी गरिरहेका छौँ,’ एसपी काफ्लेले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .