ad ad

समाज


नदी किनाराका बस्ती हटाउन खोज्दा जनता उचाल्ने काम भयो: मेयर बालेन्द्र

सरकारले बनाएको कानुन र अदालतको फैसला कार्यान्वयन गर्दा दोष किन हामीलाई?
नदी किनाराका बस्ती हटाउन खोज्दा जनता उचाल्ने काम भयो: मेयर बालेन्द्र

फाइल तस्बिर


नेपालखबर
भदौ २३, २०८१ आइतबार १०:५७, काठमाडौँ

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले महानगरपालिकाले कानुन कार्यान्वयन गर्न खोज्दा जनता उचाल्ने काम भइरहेको आरोप लगाएका छन्। 

आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले काठमाडौँका नदी किनाराका बस्ती हटाउन महानगरले पहल अघि बढाउँदा जनता उचाल्ने काम भइरहेकाे आरोप लगाएका हुन्। 

मेयर शाहले खोलाको मापदण्डको कानुन आफैँ बनाउने तर, त्यसलाई कार्यान्वयन गर्न खोज्दा जनता उचालेर महानगरपालिकाको नेतृत्वको विरोध गर्ने काम बन्द गर्न पनि आग्रह गरेका छन्। 
 

‘खोलाको मापदण्ड र कानुन आफैँ बनाउने, आफैँ सहभागी भएको परिषददेखि न्यायाधीश आउने। सरकार आफ्नै। कानुन बनाउने र संशोधन गर्ने अधिकार आफ्नै,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अनि, भएको कानुन र फैसलालाई कार्यान्वन गर्दा दोष जति काठमाडौँ महानगरलाई? गलत जानकारी दिएर जनतालाई उचाल्ने काम बन्द गरौँ।’
 
उनले काठमाडौँ महानगरलाई गाली गरेर न्याय नपाइँने पनि तर्क गरेका छन्। 

‘तपाईंहरु न्याय खोज्नु हुन्छ भने काठमाडौँ महानगरलाई गाली गरेर न्याय पाउनु हुन्न। तपाइँकै नेतालाई प्रश्न गर्नु होला, यस्तो कानुन किन बनाइस् भनेर। निकास दे भनेर आफ्नै नेतालाई भन्नु होला,’ बालेनले लेखेका छन्। 

उनले नयाँ मापदण्ड अन्तर्गत पर्ने नदी किनाराका कुनै घर नभत्किने बताएका छन्। 

‘तपाइँको नयाँ मापदण्ड अन्तर्गत पर्ने घर कुनै भत्किने छैन। निश्चिन्त रहनुहोस्, भत्काउनै परे मुआब्जा दिनुपर्छ सरकारले। ५० वर्ष पहिलेको तीनकुने कोमुआब्जा दिन नसक्ने सरकारले तपाइँलार दिन नि सक्दैन भत्काउन नि सक्दैन। तपाइँको लागि हामी छँदै छौँ, केन्द्र सरकारलाई दबाब दिनुहोस्  नियम परिवर्तनको लागि। जब नियम परिवर्तन हुन्छ हामी सोही अनुसार फेरि सूचना जारी गरि हाल्नेछौँ त्यतिनजेल कोही नठगियोस् भन्ने चाहना मात्र हो हाम्रो।’

केही समयअघि सर्वोच्च अदालतले खोला किनाराबाट दायाँबायाँ थप २०-२० मिटरमा संरचना बनाउने नपाइने आदेश दिएपछि महानगरले उक्त आदेश कार्यान्वयनका लागि सूचना निकालेको थियो।

मेयर बालेन्द्रको निर्देशनमा महानगरले सूचना निकालेको भन्दै उपमेयर सुनिता डंगोल, केही वडाध्यक्ष, महानगरका पूर्वमेयर तथा एमाले नेता विद्यासुन्दर शाक्य, कांग्रेस काठमाडौँ महानगर समिति, नेकपा (एमाले) लगायतले मेयर शाहको आलोचना गर्दै आएका छन्। 

केही दिनअघि काठमाडौँ महानगरपालिकाका पूर्वमेयर शाक्यसहित केही एमाले नेताले विभिन्न राजनीतिक दलका शीर्ष नेतालाई भेटेर काठमाडौँको नदी किनाराका जग्गाका सम्बन्धमा देखिएको समस्या समाधान गर्न आग्रह गरेका थिए। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .