ad ad

समाज


नख्खुबाट उद्धार गरिएकी बालिका ‘बेडभर्ना’, दुई जना डिस्चार्ज

नख्खुबाट उद्धार गरिएकी बालिका ‘बेडभर्ना’, दुई जना डिस्चार्ज

नेपालखबर
असोज १२, २०८१ शनिबार २१:१९, काठमाडौँ

ललितपुरको नख्खु खोलाको बाढीले बगाउँदै गर्दा उद्धार गरिएकी बालिकालाई अस्पताल भर्ना गरिएको छ। रौतहट घर भई नख्खु खोलाको किनारमा बस्दै आएकी ५ वर्षकी मेघना साहलाई थप उपचारका लागि पाटन अस्पतालमा भर्ना गरिएको ललितपुर प्रहरीले जानकारी दिएको छ। 

मेघनासँगै खोलाले बगाउँदै गर्दा उद्धार गरिएका उनका बुबा राजु साह र काका राज साह भने उपचारपछि डिस्चार्ज भएका छन्। तर मेघनालाई थप उपचारका लागि वार्डमा भर्ना गरिएको प्रहरीले जानकारी दिएको छ। 

मेघनाकी दिदी सेतु बाढीले बगाएपछि बेपत्ता छिन्। 

आफू बस्दै आएको टहरालाई चारैतिरबाट बाढीले घेरेपछि परिवारै छतमा चढेका थिए। छतमा पसेर हारगुहार गर्दा पनि कसैले उद्धार गर्न नसकेपछि उनीहरुलाई टहरोसहित बाढीले बगाएको थियो।

उनीहरूलाई बगाउँदै गरेको लाइभ देखेका सबैले माया मारिसकेका थिए। तर बगाउँदै ल्याएको देखेपछि काभ्रेको तेमालका चनिकलाल तामाङले उद्धार गरे। 

भिडिओ हेर्नुहोस् :

 

चनिकलाले राज र मेघनालाई बाहिर निकालेका हुन्। उनी पनि नख्खु खोलाको बाढी हेर्न किनारमा पुगेका थिए। तर बाढीले मान्छे बगाउँदै ल्याएको देखेपछि उनी खोलामा हेलिएका थिए। 

उनले उद्धार गरेपछि नेपाल प्रहरीका पूर्वडीआईजी अशोक सिंहले उनीहरुलाई गाडीमा अस्पताल पुर्‍याएका थिए। 

ललितपुरमा बाढी पहिरोमा परी ठूलो जनधनको क्षति भएको छ। 

शनिबार साँझसम्ममा जिल्लामा २० जनाको शव फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका डीएसपी नरहरि अधिकारीले जानकारी दिए।

यस्तै १५ जना जति बेपत्ता भएको सुचना आएको प्रहरीले जनाएको छ। 

ललितपुरबाट नेपाली सेनाले पनि हेलिकोप्टरमार्फत ४ जनाको उद्धार गरेको छ। अरु ६४० जनाको पनि उद्धार गरिएको छ। बाढी पहिरोमा परी १० जना घाइते भएकोमा ९ जना उपचारपछि डिस्चार्ज भएका छन्। 

मेघना मात्रै अस्पतालमा छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .