समाज


कोरोनाबारे गलत हल्ला फैलाउनेविरुद्ध प्रहरीमा उजुरी

कोरोनाबारे गलत हल्ला फैलाउनेविरुद्ध प्रहरीमा उजुरी

शैलेन्द्र समदर्शी
फागुन २९, २०७६ बिहिबार १३:१०,

कोरोना भाइरस (कोभिड–१९) लाई लिएर गलत हल्ला फैलाउने एक महिलाविरुद्ध दार्जिलिङ प्रहरीमा उजुरी परेको छ।

बिहीबार बिहानै कोरोना संक्रमित एक मानिस दार्जिलिङस्थित युमा नर्सिङ होममा भर्ना भएको झुटो खबर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेर आतंक फैलाएको भन्दै प्रहरीमा उजुरी दर्ता भएको हो। सामाजिक सञ्जालमा दार्जिलिङको होटल विन्डामेयरका चौकीदार कोरोना भाइरस संक्रमित बनेर युवा नर्सिङ होममा भर्ना भएको उल्लेख थियो।

सामाजिक सञ्जालमा यो खबर आएपछि बिहीबार दिनभरि दार्जिलिङ क्षेत्र त्रसित र आतंकित बनेको थियो।

पछि यो खबर गलत रहेको भेटियो। गलत हल्लाले यस क्षेत्रका बासिन्दाहरु आतंकित बनेपछि प्रहारीले दिउँसो मुख्य सहरमा माइकिङ गरी खबर झुटो भएको हुँदा त्रसित नहुन आग्रह गरेको थियो।

गलत हल्ला फैलाएको भन्दै होटल विन्डामेयर र युमा नर्सिङ होमले बिहीबार दिउँसो नै प्रहरीसमक्ष उजुरी दिएका हुन्।

यससम्बन्धमा युमा नर्सिङ होमका प्रमुख डा. दावा भोटियाले आफ्नो अस्पतालमा कुनै संक्रमित व्यक्ति भर्ना नभएको बताए। ‘हाम्रो अस्पतालमा कोरोना भाइरस संक्रमित मानिस भर्ना भएको भन्ने खबर झुटो हो’, उनले भने।

उनले दार्जिलिङमा मात्र नभएर उत्तर बंगालमै कसैलाई पनि कोरोना भाइरस संक्रमण भएको पुष्ट कुनै समचार नभएको समेत प्रस्ट पारे।

दार्जिलिङमा कोरोना भाइरस संक्रमण नभएको स्वास्थ्य विभागले पटक पटक जनाउँदै आएको छ।

बुधबार मात्र कोरोना भाइरस प्रकोप नियन्त्रणका लागि दार्जिलिङमा गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनको उच्चस्तरीय बैठक गरेको थियो। उक्त बैठकमा दार्जिलिङका प्रहरी उपरीक्षक अमरनाथ केले कोरोना भाइरससम्बन्धमा अफवाह फैलाएर मानिसहरूलाई आतंकित बनाउनेविरुद्ध कडा कारबाही गर्ने चेतावनी दिएका छन्।

प्रहरी उपरीक्षकले चेतावनी दिएको भोलिपल्टै यस्तो खबर सार्वजनिक भएको हो। एक महिलाको आवाजमा रहेको सो म्यासेज ह्वाटसएपमा सार्वजनिक भएको थियो। उनी को हुन भन्ने बारेमा अहिलेसम्म केही पत्ता नलागेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .