अस्पतालको बेडमा छोरा ढलेको झण्डै तीन महिना भयो। छोरा ढलेकै दिनदेखि आमाले अहिलेसम्म उनको आवाज सुन्न पाएकी छैनन्। खाइलाग्दो शरीर सुकेर हड्डी र छाला मात्रै बाँकी छ। उनी पहिलेजस्तै हुन्छन् भन्ने आमाको आशा चाहिँ मरेको छैन।
जेठ १२ गतेयता ती आमाका आँखा ओभाना छैनन्। अचेत अवस्थामा सुतिरहेका छोराको कहिले निधारमा, कतिबेला खुट्टामा म्वाई खान्छिन्। छोराको शरीरमै पर्नेगरी आँसुधारा बगाउँछिन्। तर, छोराले भने पत्तै पाउँदैनन्।
यो दृश्य हो रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस् शिक्षण अस्पताल सर्जिकल डिपार्टको अपरेटिभ वार्डको १० नं. बेडमा ढलिरहेका नवलपरासी रामग्राम नगरपालिका १७, देवगाउँ, फूलभरियाका १६ वर्षीय छोटु साहानीको। उनको अवस्था देख्ने जो कोहीको पनि मन कुँडिन्छ, आँसु आउँछ, छट्पटाहट बढ्छ।
जेठ १२ गते आँपको रुखबाट लडेर टाउकोमा गम्भीर चोट लागेका छोटुको हेरचाहमा अस्पतालको बेड छेउमा आमा रमावती बसिरहेकी छन्। विक्षिप्त उनको आँखाको आँसु नथामिएको तीन महिना बित्नै लाग्यो। थामियोस् पनि कसरी? एउटा छोरा १० वर्ष अघि नै गुमाइन्। अर्को छोरा जीवन मरणको दोसाँधमा छन्।
आमासँगै भाइको हेरचाहमा जुटेकी दिदी अन्जनीको अवस्था पनि आमाको भन्दा फरक छैन। आँखाभरी आँसु र मनभरी पीडा छ । तर, अस्पताल बस्नुको विकल्प छैन।
बुवा उपचारका लागि पैसाको जोहो गर्न गाउँ र भैरहवा ओहोरदोहोर गर्छन्। भएको जायजेथा सकिनै थाल्यो। छोरालाई ठीक भएको छैन। गाउँमा ऋण उत्तिकै छ। छोरा ठीक हुनु त परको कुरा, उनीहरुले आवाज समेत सुन्न पाएका छैनन्।
मजदूरी गरेर खाने यो परिवारमा एकाएक बज्रपात आइलाग्यो । १२ गते बिहान साहानीको गाउँदेखि करिब ३ किमी टाढा रहेका छोटुका साथीले फोन गरेर आँप टिप्न आऊ, तिमीले पनि लैजाउला, हामीलाई पनि हुन्छ भनेर बोलाए।
छोटु आमाबुबालाई आधा घण्टामा आउँछु भनेर गए। आँप टिप्ने क्रममा रुखबाट लडेका उनको टाउकोमा गम्भीर चोट लाग्यो।
चोट लागेपछि छोटुका साथीले उनलाई परासीस्थित पृथ्वीचन्द्र अस्पताल पुर्याए। अस्पतालले गम्भीर चोट भएको जनाउँदै भैरहवा मेडिकल कलेजमा रेफर गर्याे। छिमेकी घनश्याम हरिजनले त्यहाँबाट एम्बुलेन्स मगाएर भैरहवा पुर्याए। बाबु अमेरिका साहानीले घर बनाउने काम गर्छन्। आफूले काम गर्ने ठाउँमा ४० हजार र छिमेकीसँग ऋण खोजेर २० हजार रुपैयाँ लिएर भैरहवा आए।
अस्पतालले भिडियो एक्सरे गर्याे। अपरेसन गर्नुपर्ने बतायो। बाबु अमेरिकाले सोधे– कति पैसा लाग्छ अपरेसन गर्न? छोरा बाँच्छ कि बाँच्दैन? चिकित्सकले जवाफ फर्काए, ‘३ लाखसम्म खर्च हुन्छ होला। ७० प्रतिशत भन्न सकिँदैन, ३० प्रतिशत सफल हुनसक्छ। यतिमात्रै होइन, अपरेसन सफल भए पनि आँखा नदेख्ने, शरीरका अंग नचल्ने हुनसक्छ।’
डाक्टरले जे भने पनि साहानी परिवारमा अपरेसनको कुनै विकल्प थिएन। अमेरिका पैसाको जोहोमा लागे। आमा र दिदीले छोटुको हेरचाह गर्न थाले। उसैदिन अपरेसन भयो। सफल पनि भयो। अपरेसन सफल भए पनि छोरा उठेका छैनन्।
अपरेसनपछि केही दिन भेन्टिलेटरमा राखियो त, ३० दिन आईसीयूमा। अहिले पोस्ट अपरेसन वार्डमा राखिएको छ। ‘डाक्टरले अपरेसन गर्दा १०–१५ दिनमा ठीक हुन्छ भन्थे, तीन महिना पुग्न थाल्यो, अझै ठीक भएन। मन अत्तालिएको छ। अब त पैसा पनि छैन’, गहभरि आँसु लिँदै बाबुले भने।
अस्पतालकाअनुसार अहिलेसम्म ७ लाख ३१ हजार १५७ रुपैयाँ खर्च भइसकेको छ। अस्पतालमा अहिलेसम्म अमेरिकाले ३ लाख ३३ हजार ७३९ रुपैयाँ तिरिसकेका छन्। अझै ३ लाख ९७ हजार ४१८ रुपैयाँ तिर्न बाँकी छ। अस्पतालमा लामो समय कुरुवा बस्दा र घर आउजाउ गर्दा करिब ३ लाख खर्च भइसकेको छ।
छोराको उपचारकै दौरानमा अमेरिकाले डेढ कठ्ठा जमिन ३ लाख रुपैयाँमा बिक्री गरिसके। अब सम्पत्तिका नाममा साढे दुई धुरमा बनेको कच्ची घर मात्रै बाँकी छ। आर्थिक अभावले गर्दा उनले त्यही घर पनि बिक्री गर्न खोजीरहेका छन्। तर, बिक्री भएको छैन।
साहानी परिवारमा बज्रपात परेको अहिलेमात्र होइन। छोराको उपचारकै दौरानमा अमेरिकालाई हर्निया भएको छ। एक वर्षअघि छोरीको पत्थरीको अपरेसन गरे। दुई वर्षअघि श्रीमतीको पाठेघरको अपरेसन गरिएको थियो। ‘१० वर्षअघि सर्पले डस्दा जेठो छोराको ज्यान गयो। अहिले अर्को छोरा पनि जीवनमरणको दोसाँधमा छ’, उनले भने।
उपचारमा संलग्न न्यूरो सर्जन डा.राजकुमार केसीले छोटुलाई डिस्चार्ज गर्न अझै डेढ महिना जति लाग्ने बताउँछन्। टाउकोमा लागेको चोटका कारण रगत जमेकाले उनको अपरेसन जटिल तरिकाले गरिएको उनले बताए। ‘क्रिटिकल अवस्थामा हामीले सफल अपरेसन गर्यौ तर उनी अब पहिलेकै अवस्थामा आउन भने गाह्रो छ’, उनले भने।
शरीरभरी सुई रोपेको देख्दा आमा झनै विक्षिप्त हुन्छिन्। छोटुलाई स्वासप्रश्वासमा समस्या नहोस् र खकार निकाल्न सजिलो होस् भनेर चिकित्सकले घाँटीमा प्वाल पारेर पाइप लगाइदिएका छन्। टाउकाको बायाँतर्फ चोट लागेकाले उनको दायाँतर्फको हात खुट्टा चल्दैनन्। ब्रेनमा समस्या छ। विस्तारै सास फेरे पनि बोल्न सक्दैनन्। सुरुसुरुमा पाइपबाट खाना दिए पनि अहिले पाइप निकालेर झोलिलो पदार्थ मात्रै खान दिइएको छ।
आर्थिक समस्याका कारण बाबुले अस्पतालसँग छोरालाई डिस्चार्ज गर्न भनिरहेका छन्। ‘अझै डेढ महिना राख्दा ४-५ लाख रुपैयाँ खर्च हुन्छ। पैसा कहाँबाट ल्याउने? त्यसैले जतिसक्दो छिटो डिस्चार्ज होस् भन्ने चाहेको छु’, उनले भने। उपचारमा संलग्न चिकित्सकले भने अझै डेढ महिना उपचार गर्नुपर्ने बताउँछन्।
अस्पतालका सहायक वित्तीय नियन्त्रक सुरज पौडेलले आफूहरुले केही छुट दिने तयारी गरेकाले ठीक भए पछि मात्रै डिस्चार्ज गर्न अमेरिकालाई सुझाब दिएका छन्।
‘आर्थिक अभावका कारण यहाँ दैनिक ८–१० जनालाई छुट दिने गरेका छौं। कतिपयको बेडचार्ज शत प्रतिशत छुट गरिएको छ’, उनले भने, ‘उहाँ (छोटु) लाई पनि जतिसक्दो छुट दिन्छौं।’ अमेरिकाले छोराको उपचारमा आफ्नो सबै जायजेथा सकिएकाले सहयोग गर्न अपिल गरेका छन्।
छोटुले कक्षा ९ पढ्दापढ्दै छाडेका हुन्। लकडाउनमा उनले जेसीभी चलाउन सिकिरहेका थिए। ‘अब छोराले कमाउँछ र परिवार चलाउन केही सहज हुन्छ भन्ने बेला यस्तो विपत्ति आइलाग्यो’, अमेरिकाले भने।
दिदी अन्जनीले भाइको अवस्था देखेर आफू र आमा सम्हालिन निकै कठिन भएको बताइन्। भाइ उठ्छ र पहिलेको जस्तै हुन्छ भन्नेमा आशा भने नमारेको उनको भनाइ छ।
प्रतिक्रिया