ad ad

समाज


कञ्चनपुरमा उच्च ज्वरो देखिएका ४ जनाको मृत्यु, स्वाब नलिएकोमा उठ्यो प्रश्न

कञ्चनपुरमा उच्च ज्वरो देखिएका ४ जनाको मृत्यु, स्वाब नलिएकोमा उठ्यो प्रश्न

गोकुल जोशी
भदौ ११, २०७७ बिहिबार ७:३६,

कञ्चनपुरमा उच्च ज्वरो देखिएका चार बिरामीको मृत्यु भएको छ।

जिल्लाको महाकाली नगरपालिकाका उच्च ज्वरो देखिएका चार बिरामीको मृत्यु भएको हो।

दुई साताको अवधिमा उच्च ज्वरो देखिएका चार जनाको मृत्यु भएको महाकाली नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख जय बहादुर महराले बताए।

ज्वरो आएपछि उपचारका लागि दोधारा–चाँदनी प्राथमिक स्वास्थ्य केन्द्र आएका ६ जनालाई अन्यत्र रेफर गरिएको थियो।

अन्यत्र अस्पताल रेफर भएकामध्ये चार जनाको मृत्यु भएको स्वास्थ्य शाखा प्रमुख महराले बताए।

उनका अनुसार उच्चज्वरो देखिएपछि रेफर गरिएका महाकाली नगरपालिका–६ की १३ वर्षीया पुजा बोगटी, वडानम्बर ५ का ६५ वर्षीय गम्भीर भण्डारी, वडानम्बर ४ का २१ वर्षीय प्रेम चन्द र वडा नम्बर १ का १५ वर्षीय पंकज चन्दको उच्च ज्वरोका कारण मृत्यु भएको हो।

कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिए पनि दोधारा–चाँदनीस्थित अस्पताल पुगेका बिरामीको संक्रमण परीक्षणका लागि स्वाब भने नलिएको खुलेको छ। 

कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएपछि कोरोना परीक्षणका लागि स्वाब संकलन पर्ने हुन्छ।

यद्यपी उनीहरुको स्वाब भने संकलन नगरिएको स्वास्थ्य शाखा प्रमुख महराले बताए।

‘उच्चज्वरो कोरोना भाइरसको लक्षण भए पनि अन्य लक्षण भने कोरोना भाईरससंग नमिलेका कारण स्वाब लिएनौँ। अहिले उहाँहरुको अन्त्यष्टी भइसकेको छ,’ उनले भने, ‘मृतकमध्ये एक जनामा मस्तिष्क ज्वरो पुष्टि भएकाले पनि स्वाब नलिइएको हो।’

यता स्वास्थ्य कार्यालय कञ्चनपुरले भने उच्चज्वरो देखिएपछि कोरोनाको आशंका हुने भएकाले स्वाब संकलन गरेर परीक्षण गर्नु पर्ने बताएको छ।

‘त्यस्तो अवस्थामा कोरोनाको आशंका हुन्छ। स्वाब संकलन गर्नु पथ्र्यो,’ स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड–१९ फोकल पर्सन सिद्धराज भट्टले भने, ‘शंकास्पद बिरामी आए स्वाब लिन निर्देशन दिएका छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .