समाज


लोपोन्मुख वनकरिया समुदायकी ‘गुरुआमा’

लोपोन्मुख वनकरिया समुदायकी ‘गुरुआमा’

सन्तोषी वनकरिया


सुनिता विष्ट
चैत १९, २०७९ आइतबार ९:३९, हेटौँडा

मकवानपुरको मनहरी गाउँपालिका–४ मुसेधाप भन्ने ठाउँमा सानो बस्ती छ। लोपोन्मुख समुदाय वनकरियाको बसोबास रहेको उक्त गाउँको एक उदाहरणीय नाम हो– सन्तोषी वनकरिया। जसले आफ्नो समुदायका लागि जंगली जीवनबाट बस्ती बसाल्नेदेखि शिक्षाको ज्योति छर्नेसम्मका काम गरिरहेकी छन्। वनकरिया बालबालिकालाई शिक्षातर्फ अभिप्रेरित गराउने तथा कन्दमूलको भरमा जीविका चलाउने अभिभावकको आर्थिक अवस्था सुधार्ने अभियानमा सक्रिय छिन्– २३ वर्षीया सन्तोषी। 

जंगलमा जन्मिएकी उनी ९ वर्षसम्म जंगली परिवेशमै रमाइन्। मान्छे देख्दा पनि डराउने सन्तोषीले विद्यालय गएर पढ्ने र सामान्य मान्छेसरह जीवन बिताउने कल्पना पनि गरेकी थिइनन्। तर त्यही कल्पनै नगरेको कुरा आज उनको जीवनमा पूरा भएको छ। 

९ वर्षकी हुँदा अरू मानिस विद्यालय गएको देखेपछि उनलाई पनि पढ्ने रहर जाग्यो। तर उनका आमाबाबुलाई पढाउनुपर्छ भन्ने ज्ञान थिएन। तर उनले आमाबाबुसँग पढ्ने जिद्दी गरेपछि ९ वर्षको उमेरमा बल्ल कखरा सिक्न सुरु गरिन्। दिनहरू बित्दै गए। पढ्ने हुटहुटीले विद्यलायमा पाइला टेकेकी उनले एसएलसी पास गरिन्। 

उनलाई पढ्न विभिन्न संघ, संस्था तथा व्यक्तिले सहयोग गरे। दाताको सहयोगमै सन्तोषीले हेटौँडा–१६ मा रहेको जनप्रिय माविबाट जेटीए उत्तीर्ण गरिन्। उनको शैक्षिक प्रगति हुँदै जाँदा वनकरियाको दिनचर्यामा पनि केही परिवर्तन आयो। काठले बारेर, खरको छानो हालेर वनकरियाले घर बनाउन थाले। जंगलमै फिरन्ते जीवन बिताइरहेका वनकरियाहरू पर्सा निकुञ्ज क्षेत्रमा पर्ने मुसेधाप गाउँमा एकीकृत भएर बस्न थाले। 

‘सन्तोषी गुरुआमा’
सन्तोषीलाई चिनाउने धेरै नाम छन्। तीमध्ये एउटा नाम हो– सन्तोषी गुरुआमा। जंगली जीवनको पनि अनुभव भएकी उनलाई वनकरियाका सबै बालबालिकालाई शिक्षित बनाउन मन छ। ‘जेटीए पढेकी म मेरो आफ्नै मात्रै भविष्य हेर्ने हो भने जहाँ गएर पनि जागिर खान सक्थेँ। तर मैले मेरो बारेमा मात्रै नभएर आफ्नो समुदायको बारेमा सोच्नुपर्छ जस्तो लाग्छ’, उनी भन्छिन्। 

आफ्ना बस्तीका बालबालिकालाई विद्यालयको बाँकी समयमा एकै ठाउँमा राखेर पढाउँछिन् उनी। त्यसो त कोरोनाले लकडाउन भएका बेला सबै विद्यालय बन्द थिए। त्यो बेला उनले आफ्ना समुदायका बालबालिकालाई पढाइमा अझ अब्बल बनाइन्। साना बालबालिकालाई अक्षर चिनाउन पनि उत्तिकै तल्लीन उनलाई बस्तीका सबैले ‘सन्तोषी गुरुआमा’ भनेर बोलाउने गरेका छन्। 

आफ्नो भविष्यको भन्दा पनि उनलाई वनकरिया समुदायलाई कसरी शिक्षित र आत्मनिर्भर बनाउने भन्ने चिन्ता छ। उनलाई गाउँमा ‘सन्तोषी दिदी’ भनेर पनि सम्बोधन गर्छन्। किनकि उनी साँच्चिकै गाउँका बालबालिकाका लागि ज्ञान बाँड्ने दिदी बनेकी छन्। गाउँमै काठले बारेर बनाइएको वनकरिया सामुदायिक भवनमा राखेर उनले साना बालबालिकामा शिक्षाको प्रकाश छर्ने गरेकी छन्। त्यसपछि ती बालबालिका गाउँबाट अलि पर रहेको पशुपति मावि र प्रजा आधारभूत विद्यालयमा नियमित पढ्न जाने गर्छन्। 

अध्ययनका क्रममा वनकरिया बालबालिका

सरकारले लोपोन्मुख जातिमा राखेको वनकरिया समुदायमा जन्मिएर पनि उनले हासिल गरेको सफलता आम मानिसका लागि सामान्य लागे पनि वनकरिया समुदायका लागि भने अकल्पनीय कुरा हो। जंगलमा रमाउन मन पराउने र सामान्य मान्छेलाई देख्दा पनि डराउने वनकरिया बस्तीमा हुर्केकी उनी अहिले वनकरिया समुदायको मात्रै होइन, सिंगो मकवानपुरकै उदाहरणीय व्यक्ति बनेकी छन्। 

एसएलसी पास गर्ने दोस्रो व्यक्ति
वनकरिया समुदायमा देशभरमै एसएलसी पास गर्ने दोस्रो व्यक्ति हुन्– सन्तोषी। वनकरिया समुदायबाट पहिलोपटक एसएलसी उत्तीर्ण व्यक्ति भने पम्फा वनकरिया हुन्। 

सन्तोषी विद्यालयमा अरू मान्छेहरूसँग घुलमिल हुन थाल्दासम्म पनि उनका आमाबाबु बाहिरी मान्छे देख्दा डराउँथे। तर उनी जंगली जीवनबाट सामान्य मान्छेकै स्वभावमा आइसकेकी थिइन्। रहर गरेर विद्यालय जान खोजेपछि उनका बाबुआमाले विद्यालय त पठाए, तर कापी–कलम जुटाउनु सानो चुनौती बनेन। आयआर्जन गर्ने त परको कुरा, पैसा कस्तो हुन्छ भन्नेसम्म थाहा नभएका उनीहरूलाई सन्तोषीको शिक्षाले बिस्तारै समाजमा स्थापित गरायो।  

त्यसपछि जेटीए
विभिन्न व्यक्तिको सहयोगमा एसएलसी पढाइ पूरा गरेकी सन्तोषीले अरूको सहयोगमै जेटीए पढिन्। गिठ्ठा, भ्याकुरलगायत कन्दमूल खाएर हुर्किएकी उनले कृषिसम्बन्धी जेटीए पढ्न रुचाइन्। जेटीए पढ्न उनलाई केही व्यक्तिले सहयोग गरे। तर उनले आत्मनिर्भर बन्न सक्ने उमेर भएपछि सधैँ अरूसँग हात फैलाउनु उचित ठानिनन्। पढ्दा आवश्यक पर्ने किताब–कापी, खाने/बस्ने व्यवस्था उनले क्रिस्टल माला (पोते उन्ने काम) उनेर जुटाइन्। निकै संघर्ष गरेर जंगलदेखि जेटीएसम्मको यात्रा तय गरेकी सन्तोषीले जानेको सीपका कारण अहिले गाउँका वनकरियाहरूले तरकारी खेती गर्न थालेका छन्। अहिले उनीहरू सागसब्जीदेखि माछामासुसम्म उत्पादन गर्दै आत्मनिर्भर बनेका छन्। यसमा सन्तोषीको ठूलो देन छ। 

खेतीमा व्यस्त वनकरिया महिला।

अहिले सन्तोषीले आफ्नै गाउँमा तरकारी खेती गरेकी छन्। गाउँका बालबालिकालाई पढाउनुका साथै उनी गाउँलेलाई तरकारी खेतीमा प्रेरित गरिरहेकी छिन्।

वनकरियालाई आत्मनिर्भर बनाउने इच्छा
हरेक कुरामा पछाडि परेका वनकरिया समुदाय खानकै लागि पनि अरूको मुख ताक्नुपर्ने अवस्था आफूलाई मन नपर्ने सन्तोषी बताउँछिन्। त्यसैले सन्तोषी वनकरिया बस्तीलाई आत्मनिर्भर बनाउन चाहन्छिन्। सामान्य मान्छेले जस्तै वनकरियाले पनि आफैँ आयआर्जन गरेर जीवनयापन गरेको हेर्ने उनको इच्छा छ। त्यसैले सन्तोषी आफ्नो सीप र शिक्षा दुवैलाई वनकरिया बस्ती परिवर्तनमा लगाइरहेकी छन्।

बालबालिकालाई पढाइमा केन्द्रित गराइरहेकी उनले अभिभवकहरूलाई खेतीपातीको ज्ञान दिने गरेकी छन्। बस्तीमा मौसमी खेतीदेखि प्राविधिक पाटोसम्म सन्तोषीकै भर छ। 

‘हामी पनि अरू मान्छेजस्तै हौँ, आत्मनिर्भर भएर बाँच्नुपर्छजस्तो लाग्छ’, उनी भन्छिन्, ‘आफूले जानेको सीप उपयोग गरेर आत्मनिर्भर हुने थुप्रै पाटा छन्। वनकरियाको जीवनस्तर उकास्न जति कसरत गर्नुपरे पनि गर्छु। तर सबैलाई आत्मनिर्भर हुन प्रेरित गर्छु।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .