काभ्रेबाट बागमती प्रदेशको राजधानी हेटौँडा जोड्ने छोटो दूरीको सडक निर्माण सुरु भएको छ।
काभ्रेको रोशी गाउँपालिकाअन्तर्गत बिपी राजमार्गको कटुञ्जेबाट खार्पाचोक लेखपानी–सुँगुरे–बूढाखानी–फोक्सिङटार–गोकुले–तालढुङ्गा हुँदै हेटौँडासम्म प्रादेशिक सडक निर्माण सुरु गरिएको हो।
बागमती प्रदेश सरकारले उक्त सडक आयोजनाका लागि गत आर्थिक वर्षमा ९४ करोड ६९ लाख सुनिश्चित गरेको थियो। चालु आवमा रु सात करोड विनियोजन गरी निर्माण सुरु भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ।
उक्त कार्यालयमार्फत पहिलो चरणमा १५ किलोमिटर सडक स्तरोन्नतिका लागि ठेक्का आह्वान भइसकेको छ। सडक खस्नबाट रोक्न पर्खाल लगाउने, स्ल्याब, कलभर्ट निर्माण तथा ह्युमपाइप बिछ्याउनेलगायत संरचना निर्माण हुनेगरी रु ५१ करोड ४४ लाख लागतमा निर्माण व्यवसायी सिद्ध बाबा–ग्रिन ताराले ठेक्का सम्झौता गरेको छ।
बागमती प्रदेश सरकारले छ हजार किलोमिटर सडकलाई प्रादेशिक सडकमा सूचीकृत गरेर प्राथमिकताका आधारमा कालोपत्र गर्दै जाने बताइएको छ। रासस
Shares
प्रतिक्रिया