ad ad

समाज


मध्यविन्दु नगरपालिका क्षेत्रका विद्यालयमा ‘हाम्रो खुसी’ पाठ्यक्रम

मध्यविन्दु नगरपालिका क्षेत्रका विद्यालयमा ‘हाम्रो खुसी’ पाठ्यक्रम

नेपालखबर
जेठ ८, २०८१ मंगलबार १०:१४, नवलपरासी

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिकाले ‘हाम्रो खुसी’ पाठ्यक्रम सुरु गरेको छ। 

चालु शैक्षिक सत्र २०८१ देखि नगरभित्रका कक्षा १ देखि ८ कक्षासम्मका सबै विद्यालयमा हाम्रो खुसी पाठ्यक्रम पठनपाठन सुरु गरिएको मध्यविन्दु नगरपालिकाका प्रमुख भीमलाल अधिकारीले बताए।

‘विद्यार्थीमा आत्मीय भावनाको विकास र पारिवारिक सम्बन्ध विस्तारका लागि यो पाठ्यक्रम कोशेढुङ्गा साबित हुने हामीले विश्वास लिएका छौँ’, उनले भने। 

स्थानीय पाठ्यक्रमलाई निरन्तरता दिँदै सबै शिक्षक र विद्यार्थी खुसीसाथ विद्यालय हाताभित्र प्रवेश गर्ने र नगरवासीलाई नै खुसी के हो भनेर जोड्ने गरी ‘हाम्रो खुसी’ पाठ्यक्रम देशमा नै  पहिलो पटक सुरु गरिएको नगरप्रमुख अधिकारीले बताए।

‘जीवन, सम्बन्ध, संस्कार, व्यवहार, कर्तव्यनिष्ठता, राष्ट्र प्रेमको भावनादेखि पारिवारिक र सामाजिक सम्बन्धसँग सम्बन्धित विषय पाठ्यक्रमका समावेश छन्’, उनले भने। 

विभिन्न चरणमा गरिएको अध्ययन, छलफल र अनुसन्धानपछि पाठ्यक्रम तयार गरिएको मध्यविन्दु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले बताए। ‘विज्ञ समूहबाट नगरपालिकाभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयका शिक्षकलाई अभिमुखीकरण तालिम सञ्चालन गरिएको छ’, उनले भने, ‘हाम्रो खुसी पाठ्यक्रम सबै विद्यालयमा एकसाथ सुरु गर्न शिक्षकलाई सक्षम बनाइएको छ।’

चोरमारास्थित नवजागरण नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिप्रसाद  देवकोटाको संयोजकत्वमा पाठ्यक्रम अध्ययन तथा अनुसन्धान केन्द्र गठन गरी हाम्रो खुसी पाठ्यक्रम तयार गरिएको हो। नेपालमा अहिलेसम्म प्रयोग भएका पाठ्यक्रमभन्दा यो निकै भिन्न र व्यावहारिक रहेकाले उपलब्धिपूर्ण हुने पाठ्यक्रम अध्ययन तथा अनुसन्धान केन्द्रका संयोजक हरिप्रसाद देवकोटाले बताए।

‘कथा र गतिविधिका माध्यमबाट बालबालिकामा विचारशीलता तथा जीवन मूल्य र सम्बन्ध बोध गराउने हेतुले पाठ्यक्रम तयार पारिएको छ’, उनले भने, ‘विद्यार्थीको आनीबानी, संस्कार, बौद्धिक एकाग्रता, सोचको दायराका क्षेत्रमा यस पाठ्यक्रमले सकारात्मक परिवर्तन ल्याउने छ।’

मध्यविन्दु नगरपालिकाभित्रका सबै शिक्षकलाई पाठ्यक्रमसम्बन्धी तालिम सञ्चालन, खुसी संयोजक तोक्ने, विद्यालय व्यवस्थापन समिति र अभिभावकलाई अभिमुखीकरण तालिमलगायतका काम सम्पन्न गरिएको संयोजक देवकोटाले बताए।

मध्यविन्दुमा सामुदायिक र संस्थागत गरी ६४ विद्यालय छन् । ‘हाम्रो खुसी’ पाठ्यक्रम निर्माणसँग सम्बन्धित सबै काम गर्न  गण्डकी प्रदेश सरकारले नवपर्वतक कार्यक्रमअन्तर्गत ७६ लाख र नगरपालिकाले ४५ लाख रकम विनियोजन गरिएको मध्यविन्दु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .