सशस्त्र प्रहरी बलले चीनको सीमातर्फ गोरखाको चुमनुब्री गाउँपालिका–१ साम्दोमा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरेको छ।
जेठ १३ गते (आइतबार) बाट साम्दोमा बीओपी सञ्चालनमा आएको सशस्त्र प्रहरी बलका सह- प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
यससँगै चीनतर्फ बीओपीको संख्या १० वटा पुगेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर २९ गुल्म गोरखाको मातहत रहने गरी स्थापना भएको बीओपी सदरमुकाम गोरखा बजारबाट करीव १ सय ६४ किलोमिटर उत्तरतर्फ रहेको छ।
समुन्द्री सतहबाट ३ हजार ८ सय ७५ मिटरको उचाई स्थापना भएको बीओपीबाट करिब १५ किलोमिटर नजिक चीनसँगको सीमानामा रुइला नाका रहेको छ।
यसअघि सशस्त्र प्रहरी बलले चीनतर्फ दार्चुलाको तिंकर, हुम्लाको हिल्सा, मुस्ताङको नेचुङ्ग, रसुवाको टिमुरे, सिन्धुपाल्चोकको तातोपानी र गुम्बा, दोलाखाको लामाबगर, संखुवासभाको किमाथाङका, ताप्लेजुङ्गको ओलाङचुङगोलासहित ९ ठाउँमा बीओपी स्थापना गरिसकेको छ।
हाल भारतको सीमानातर्फ २ सय ४४ र चीनको सिमानातर्फ १० गरी बिओपीको संख्या २ सय ५४ पुगेको छ।
Shares
प्रतिक्रिया