जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्जमा जारी गरेको कर्फ्यु खुकुलो बनाउँदै लगेको छ।
आज (बुधबार) बिहान ११ बजेदेखि राति १० बजेसम्मको लागि स्थानीय प्रशासनले कर्फ्यु हटाएको हो। गएको सोमबार साँझदेखि स्थानीय प्रशासनले वीरगन्ज क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु जारी गरेको थियो।
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले आज बिहान सूचना जारी गरेर आज बिहान ११ बजेदेखि राति १० बजेसम्मको लागि कर्फ्यु हटाइएको जनाएका छन्।
राति १० बजेदेखि भने कर्फ्युले निरन्तरता पाउने स्थानीय प्रशासनले जनाएको छ।
सर्वसाधारणको सहजताका लागि निषेधाज्ञा थप खुकुलो बनाउँदै जाने नीति लिइएको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए।
रौतहटको इशनाथ नगरपालिकामा केही दिनअघि दुई धार्मिक समुदायबीच भएको झडपको विरोधमा हिन्दू समाजले गत सोमबार वीरगन्जमा निकालेको प्रदर्शनका क्रममा झडपको स्थिति सृजना भएपछि स्थानीय प्रशासनले गएको सोमबार साँझदेखि वीरगन्जमा अनिश्चितकालीन निषेधज्ञा जारी गरेको थियो।
Shares
प्रतिक्रिया