अफ्रिकन स्वाइन फिभर (बंगुरको हैजा) देशका २८ वटा जिल्लामा फैलिसकेको छ। नेपालमा पहिलोपटक २०७९ जेठ २ गते देखिएको यो रोगका कारण १४ लाख घरपालुवा बंगुर मात्र नभई जंगली बँदेलसमेत उच्च जोखिममा रहेको पशु चिकित्सा परिषद्ले जनाएको छ।
यही कारण करिब ४ लाख किसान परिवारको बंगुर पालन पेसा संकटग्रस्त अवस्थामा पुगेको छ।
गण्डकी प्रदेशमा यस रोगले पारेको प्रभावबारे प्राप्त प्रतिवेदनअनुसार हालसम्म गण्डकी प्रदेशका ४ जिल्लामा उक्त रोग फैलिई १६ हजार ५ सय ५४ बँगुर मरेको र यसबाट झन्डै ५० करोड रुपैयाँ बराबरको नोक्सानी भएको परिषद्ले जनाएको छ।
एएसएफ भाइरसको संक्रमणले घरपालुवा तथा जंगली सुँगुर प्रजातिमा लाग्ने यो रोगका कारण पशुको उच्च दरमा मृत्यु हुने, तुहिने, संक्रमण देखिएको ठाउँमा लामो समय बंगुर पालन पुन: गर्न नसकिने र निको भएका पशुलाई पहिलेकै अवस्थामा ल्याउन थप पोषण आवश्यक पर्छ।
जसले गर्दा किसानको ठूलो धनराशि नोक्सान भइरहेको, ठूलो परिमाणमा रोजगारी गुम्ने जोखिम रहेको र बंगुर व्यवसाय पुनर्स्थापनामा समेत समस्या सिर्जना हुने देखिन्छ।
विश्व पशु स्वास्थ्य संगठनले दिएको वैज्ञानिक तथ्य र नेपालमा यसले पारेको प्रभावलाई आधार मान्दा समयमै नियन्त्रण गरिएन भने यस रोगबाट थप ४० प्रतिशत बंगुर संक्रमित हुने र संक्रमितमध्ये ६६.६ प्रतिशत बंगुर मर्ने अनुमान गरिएको छ।
बंगुर मर्ने र रोग नियन्त्रणमा लाग्ने खर्चलाई मात्र आधार मान्दा प्रतिसंक्रमित रु २७ हजार ९२७ रुपैयाँ बराबरको प्रत्यक्ष नोक्सान हुने परिषद्को अध्ययनले देखाएको छ।
यो महामारी समयमै उपचार, नियन्त्रण तथा रोकथाम गर्न नसके ५ लाख ४३ हजार बंगुरमा संक्रमण फैलिने, जसमध्ये ३ लाख ६१ हजारवटा मर्ने र १५ अर्ब १६ करोड ४९ लाख बराबरको आर्थिक क्षति हुने अनुमान गरिएको छ।
Shares
प्रतिक्रिया