हङकङमा सम्पन्न शारीरिक सुसंगठन प्रतियोगितामा हङकङ निवासी नेपाली आपुन केले कास्य पदक जितेका छन्।
फिजिकल कल्चर एसोसिएसन (पीसीए) को आयोजनामा आइतबार सम्पन्न ‘पाँचौं पीसीए बडिबिल्डिङ च्याम्पियनसिप’ प्रतियोगिताअन्तर्गत ७५ किलोग्राममुनिको समूहमा आपुन केले कास्य पदक प्राप्त गरेका हुन्। कौलुनबे अन्तर्राष्ट्रिय व्यापार तथा तथा प्रदर्शनी केन्द्रको स्टार हलमा भएको प्रतियोगितामा फिलिपिनी खेलाडीले स्वर्ण पदक जिते भने चीनका खेलाडीले रजत पदक हात पारेका छन्।
प्रतियोगितामा नेपालसहित चीन, हङकङ, मकाउ, भारतलगायत देशका ७५ जना प्रतियोगीले भाग लिएका थिए।
क्लासिक फिजिक, मिन्स बडिबिल्डिङ र बिकिनी विधामा प्रतिस्पर्धा गराइएको थियो। ५२ वर्षीय आपुन केले नेपालको प्रतिनिधित्व गर्दै मिन्स बडिबिल्डिङतर्फ कास्य पदक जितेका हुन्।
५२ वर्ष पुग्नुभएछ, अब त रिटायर्ड हुने बेला भएन?
नेपालखबरको प्रश्नमा उनले भने, ‘उमेर त संख्या मात्र हो, मेहनत र दृढ संकल्प भए उमेरले छेक्दैन, अहिले कास्य पदक मात्र हात पर्यो, अब मेरो लक्ष्य स्वर्ण पदक जित्ने हो।’
उनले आत्मविश्वासका साथ थपे, ‘हामी नेपालीहरूमा गलत धारणा छ, ३५/४० पुगेपछि बूढो भइयो, अब केही गर्न सकिन्न भन्ने हीनताबोध गर्छन्, तर जहाँ इच्छा त्यहाँ उपाय भन्ने कुरा बिर्सिन्छन्, म त्यस्तो नकारात्मक सोच भत्काउन चाहन्छु।’
सन् १९९३ बाट व्यायामशाला धाउन थालेका आपुन केले सोही वर्ष मुए थाई बक्सिङमा प्रवेश गरे। र, उनी वेल्टरवेट च्याम्पियनसमेत बने।
तर भिडन्तका क्रममा घाइते बनेपछि उनले सन् २००४ मा बक्सिङबाट सन्न्यास लिए। त्यसपछि सन् २००९ बाट उनी बडिबिल्डिङमा प्रवेश गरे।
यसअन्तर्गत अहिलेसम्म उनले स्पेन, जापान, श्रीलंका, मंगोलिया, मकाउलगायत देशमा सहभागिता जनाइसकेका छन्। उनी फेडेरेसन अफ बडिबिल्डिङ एन्ड फिटनेस (आईएफबीबी) नेपालका संस्थपाकमध्ये एक हुन्।
नेपालमा उनको घर पर्वत हो। सन् १९९२ देखि उनी हङकङमा बसोबासरत छन्। उनले गत मे महिनामा नेपालका कोरोना संक्रमितहरूका लागि डेढ करोड रुपैयाँ सहयोगसमेत जुटाएका थिए।
Shares
प्रतिक्रिया