ad ad

खेल


टी २० का कीर्तिमानी दीपेन्द्र एक दिवसीयमा ‘फ्लप’

जगत टमाटा भन्छन् : प्रोत्साहन गरौँ, सुधार नभए सोच्नुपर्छ
टी २० का कीर्तिमानी दीपेन्द्र एक दिवसीयमा ‘फ्लप’

उजिर कार्की
असार ३१, २०७९ शुक्रबार ९:३६, काठमाडौँ

राष्ट्रिय क्रिकेट टिमबाट पारस खड्काको सन्यासपछि सबैभन्दा आशा गरिएका ब्याटर हुन् दीपेन्द्रसिंह ऐरी। टी २० क्रिकेटमा नेपालबाट सर्वाधिक रन उनकै नाममा छ।

तर पछिल्लो समय उनै दीपेन्द्रले क्रिकेट प्रेमीलाई निरन्तर निराश बनाउँदैछन्। नेपालका निर्णायक र महत्वपूर्ण खेलमा उनको ब्याट चल्न छाडेको छ। 

अहिले नेपालले विश्वकप छनोटअघिको एक दिवसीय लिग २ का खेल खेलिरहेको छ। प्रतियोगिताका आधा खेल सकिँदा नेपालको विश्वकप छनोट खेल्ने सम्भावना कमजोर बनेको छ।

नेपालको सम्भावना कमजोर बन्नुका पछाडिको मुख्य कारण कमजोर ब्याटिङ हो। टि २० का कीर्तिमानी ब्याटर दीपेन्द्रले एक दिवसीयमा गरिरहेको खराब प्रदर्शन पनि हो। 

विगतको प्रदर्शनले टि २० र एकदिवसीय दुवैतर्फ टिममा पर्ने थोरैमध्ये दीपेन्द्र एक हुन्। टि २० मा सर्वाधिक नटआउट ११० रन जोडे उनकै नाममा एकदिवसीयमा पनि १०५ रनको रेकर्ड छ। 

नेदरल्यान्ड्सविरुद्ध अगस्ट १ २०१८ मा डेब्यु गरेका दीपेन्द्रले २२ खेलमा ३२८ रन जोडेका छन्। 

टि २० अन्तर्राष्ट्रिय क्रिकेटमा पनि उनले २०१८ जुलाई २९ मा नेदरल्यान्ड्सविरुद्ध नै डेब्यु गरेका थिए। टि २० अन्तर्राष्ट्रियमा ३९ खेलमा १०३३ रन जोड्दै सर्वाधिक रन जोड्ने नेपाली ब्याटरको कीर्तिमान उनकै नाममा छ।

अहिले टिममा रहेका विनोद भण्डारी, करण केसी, सोमपाल र दीपेन्द्र अनुभवी खेलाडी हुन्। यीमध्ये पनि दीपेन्द्र पूर्व उपकप्तान समेत हुन्। 

कुनै समय दीपेन्द्रलाई पारसपछिको कप्तानका रुपमा हेरिएको थियो। टिमकै नेतृत्व गर्ने विश्वास गरिएका दीपेन्द्र सम्हालिएर प्रदर्शन गर्न चुकिरहेका छन्। 

पछिल्ला ९ खेलको सर्वाधिक रन १६ मात्रै 
बुधबार राति नेपालले स्कटल्याण्डमाथि ऐतिहासिक जित हात पार्दै २ अंक थप्यो। तर, यो खेलमा पनि दीपेन्द्रले निराश बनाए। पार्टटाइम बलरसमेत रहेका उनले ११ बल बलिङ गर्दा २ रन मात्रै खर्चिएर एक विकेट हात पारे। 

दीपेन्द्रसँग नेपाली टिमको मुख्य अपेक्षा बलिङ नभएर ब्याटिङ हो। उनी चौथो वा पाँचौ क्रममा आउने ब्याटर हुन्। ओपनिङ धर्मराउँदा टिम सम्हाल्ने वा इनिङ उकास्ने दायित्व यो क्रमका ब्याटरको हातमा हुन्छ।

तर दीपेन्द्र यो भूमिकामा चुक्दै गएका छन्। जसले नेपाललाई विश्वकपबाट टाढा लाँदैछ।

बुधबार राति स्कटल्याण्डलाई हराएको खेलमा पनि ६ बल खेलेर ३ रन बनाउँदा क्याचआउट भए। 

ओपनर कुशल भुर्तेल र आशिफ शेखको उत्कृष्ट प्रदर्शनमा नेपालले सामान्य लक्ष्य सहजै पूरा गर्यो। 

बलियो टोली स्कटल्याण्डमाथि पहिलो भेटमै नेपालले जित दर्ता गर्यो। दीपेन्द्रको हकमा भने २०२२ का नवौं खेलकै खराब लयले निरन्तरता पायो। 

यसअघि नेपालले नामिबियासँग ४० रनको पराजय भोग्यो। नामिबियाको २२० रनको लक्ष्य पछ्याएको नेपाल ४६.५ ओभरमा १८० रनमै अलआउट भयो। 

यो खेलमा दीपेन्द्र ४ रनमा क्याच आउट भए। नामिबियाविरुद्ध पूरै १० ओभर बलिङ गरेका उनले ४१ रन खर्चिएर एक विकेट लिए। नामिबियासँगको खेल पनि नेपालले ब्याटिङकै कारण गुमायो। 

त्यसअघि जुन १५ मा अमेरिकाविरुद्ध पनि दीपेन्द्रको ब्याट चलेन। २४५ रनको लक्ष्य पाएको नेपाल १४ बल बाँकी छँदै अलआउट भयो। 

३९ रनको पराजय ब्यहोर्दा दीपेन्द्रका नाममा जम्मा ७ रन थियो। १० ओभर बलिङ गर्दा ४३ रन खर्चिएका उनले एक विकेट मात्रै हात पारे। 

जुन १४ मा ओमानविरुद्ध नेपालले खेल सहजै जित्यो। तर त्यतिबेला पनि दीपेन्द्रका नाममा ६ रन मात्रै प¥यो। यो खेलमा भने दीपेन्द्र नटआउट रहेका हुन्। 

३३.१ ओभरमा ३ विकेट गुमाएर १६४ रनको लक्ष्य पूरा गर्दा कुशल र आसिफले अर्धसतक पूरा गरे। 

यो खेलमा देव खनाल १० रनमा आउट हुँदा रोहित २६ रनमा नटआउट रहे। तीन ओभर बलिङ गरेका दीपेन्द्रले ९ रन खर्चिएर १ विकेट लिएका थिए। 

त्यसअघि जुन ९ मा नेपाल ओमानसँगै पराजित भयो। पराजयको कारण कमजोर ब्याटिङ नै बन्यो। 

२११ रनको लक्ष्य पछ्याएको नेपाल १९८ रन बनाउँदा २ बल अघि नै अलआउट भएको थियो। १० ओभर बलिङ गरेका दीपेन्द्र विकेटविहीन भए। 

पछि ब्याटिङमा १६ रनमै आउट भए। लिग २ का पछिल्ला ९ खेलमा उनको सर्वाधिक रन नै यहि हो। ३० बल खेल्दा १६ रन बनाएर क्याच आउट भएका थिए। 

यो खेलमा आरिफले ६६ रन जोडेका थिए। देव खनालले ३४ रन जोड्नुबाहेक अरु टिक्न सकेनन्। 

ओपनर चुक्दा मध्यक्रमका ब्याटर पनि सम्हालिन सकेनन्। जसकारण नेपालले अंक गुमायो।

मार्च २२ मा पपुवा न्युगिनीलाई नेपालले ७ विकेटले हरायो। १७३ रनको लक्ष्य ७८ बल बाँकी छँदै पूरा गरेको थियो। जुन खेलमा दीपेन्द्र शून्य रनमै आउट भएका थिए। 

चौथो क्रममा आएका उनी २ बलमा खाता नै नखोलि पेवेलियन फर्किँदा कुशल (५०), आरिफ (५९) र रोहित (४४) ले जित दिलाए। 

यो खेलमा आरिफ र रोहित नटआउट रहँदै जित दिलाएका थिए। अन्य ब्याटर एक खेलमा नचले पनि अर्को खेलमा योगदान गरिरहेका छन्। 

तर दीपेन्द्र भने लगातार निराशाजनक प्रदर्शन गरिरहेका छन्। बलिङ औषत छ। ब्याटिङ भने निरन्तर खराब। 
यसको अघिल्लो दिन नेपालले युएईसँग फराकिलो रन अन्तरले पराजय भोग्यो। यसको मुख्य कारण ब्याटिङ नै थियो। २०३ रनको लक्ष्य पछ्याएको नेपाल १०३ रनमा अलआउट भयो। 

ओपनिङ धरासयी बनेको अवस्थामा आएका दीपेन्द्र सम्हालिनै सकेनन्। खाता नखोल्दै पहिलो बलमै आउट भए। 

यो खेलमा नेपालका लागि ज्ञानेन्द्र मल्लले बनाएको ३० रननै सर्वाधिक ठूलो स्कोर हो। शून्य रनमै आउट हुने दीपेन्द्र मात्रै हुन्। ब्याटर नटिक्दा १५ ओभरअघि नै अलआउट भएको थियो। ६ ओभर बलिङ गर्दा दीपेन्द्रले २८ रन खर्चिएर १ विकेट हात पारेका थिए। 

त्यसअघि मार्च १८ मा पनि युएईसँगै लज्जास्पद हार ब्यहोरेको थियो। जुन खेलमा १६९ रनको लक्ष्य पनि पूरा गर्न सकेन। १५ ओभर बाँकी हुँदा १२० रनमा नेपाल अलआउट भएको थियो। 

यो खेलमा पनि दीपेन्द्रले ४ रन मात्रै बनाउन सके। रोहितले ४६ र ज्ञानेन्द्रले २८ रन बनाउनु बाहेक अरु ब्याटर टिकेनन्। 

त्यतिबेला ४८ रन बनाएका ज्ञानेन्द्र खराव प्रदर्शनको कारण देखाउँदै टिम बाहिर छन्। तर त्यति पनि रन जोड्न नसकेका दीपेन्द्र भने एक दिवसीयमा पनि नियमित मौका पाइरहेका छन्। 

लिग २ अन्तर्गत नै भएको खेलमा मार्च १६ मा नेपालले पपुवा न्युगिनीलाई २ विकेटले पराजित गर्यो। २०५ रनको लक्ष्य भेटाउँदा पनि दीपेन्द्र ओझेलमै थिए। 

त्यतिबेला पनि टिमलाई संकटबाट बचाउन दीपेन्द्र चुकेका थिए। दुई विकेट गुमेपछि क्रिजमा आएका दीपेन्द्र ८ रनमा आउट भए। दीपेन्द्र आउट हुँदा नेपालले ३० रन नजोड्दै चौथो विकेट गुमाउनु परेको थियो। 

जतिबेला रोहितले ६० रन र आरिफले ४९ रन जोड्दै टिम सम्हाले। करण केसी २९ रनमा नटआउट रहँदै जित दिलाएका थिए। यो खेलमा दीपेन्द्रले पूरै ओभर बलिङ गर्दा विकेट लिन सकेनन्। मात्रै २६ रन खर्चिएका थिए।

२०२१ को अन्तिम खेल नेपालले ओमानसँग खेलेको थियो। त्यो खेलमा दीपेन्द्र टिमबाहिर थिए। दीपेन्द्रबिना मैदान उत्रिएको नेपालले ओमानमाथि सहज जित हात पार्यो। 

१९० बल बाँकी हुँदा ओमानलाई ७ विकेटले पराजित गरेको थियो। ओमान १२१ रनमा समेटिँदा नेपालले १८.२ बलमा ३ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। 

जुन जितमा बलिङमा करण र सन्दीप, ब्याटिङमा आसिफ र ज्ञानेन्द्रको मुख्य भूमिका रह्यो। 

यसपछि नियमित टिममा मौका पाइरहेका दीपेन्द्र भने चुक्दै आएका छन्। ७ महिनादेखिको खराब प्रदर्शनले दीपेन्द्रको एक दिवसीयमा भविष्य नै संकटमा देखिएको छ।

प्रोत्साहन गरौं, सुधार नभए सोच्नुपर्छ : टमाटा 
नेपाली राष्ट्रिय पुरुष टिमका पूर्व प्रशिक्षक जगत टमाटा दीपेन्द्रलाई राम्रो खेलाडी मान्छन्। उनी हाल राष्ट्रिय महिला टोलीका प्रशिक्षक हुन्। 

‘प्रदर्शन तलमाथि हुन्छ। तर अहिले उसलाई प्रोत्साहन चाहिएको छ’, टमाटा भन्छन्, ‘प्रदर्शनले अर्थ राख्छ, अहिले उनको प्रदर्शन राम्रो भइरहेको छैन।’

उनले किन रन जोड्न सकिरहेका छैनन्?यसमा विचार गर्नुपर्ने टमाटा बताउँछन्। फेरि पनि उनको जोड खेलाडीलाई प्रोत्साहनमै छ। 

टमाटा भारतीय क्रिकेटर सचिन तेन्दुलकरको उदाहरण दिँदै भन्छन्, ‘अष्ट्रेलिया जानुअघि सचिनको पनि ८÷१० खेलमा प्रदर्शन राम्रो थिएन। जतिबेला टिमले मोटिभे गर्दा उनको प्रदर्शन राम्रो भयो। दीपेन्द्रलाई पनि अहिले टिममा त्यस्तै मोटिभेसन आवश्यक छ।’

यिनै दीपेन्द्र टि २० मा भने उत्कृष्ट ब्याटिङ गरिरहेका छन्। त्यसो भए एकदिवसीयमा फ्लप भएकै हुन् त? टमाटाको जवाफ छ, ‘होइन, उनी दुवै फम्र्याटमा आवश्यक छन्। टि २० लाई एकदमै राम्रो छ। ५० ओभरका लागि पनि राम्रो हो। उसको फर्म केही खस्किएको मात्रै हो।’

कतिपयले यसलाई क्रिकेटमा देखिएको पछिल्लो विवादसँग पनि जोडेका छन्। तर टमाटाको बुझाइ फरक छ। ‘मैदानमा गइसकेपछि देशका लागि खेल्ने हो। आफ्नो प्रदर्शन राम्रो बनाउँदै टिमलाई जिताउनुपर्छ भन्ने सबैलाई लागेको हुन्छ’, उनी भन्छन्। 

टमाटालाई सोध्यौँ : यही प्रदर्शनले एकदिवसीयमा टिक्लान्?
‘मैले उसलाई सन् २०१५ देखि हेरिरहेको छु। यु १९ मा राम्रो प्रदर्शन गरेकै कारण हामीले टिममा ल्याएका हौँ। अन्तिम सिजन मात्रै ५० ओभरमा उसको प्रदर्शन बिग्रिएको छ। हौसला दिन सक्यौं भने क्यापेबल छ’, टमाटा भन्छन्। 

आगामी दिनमा प्रदर्शन नसुधारे सोच्नुपर्ने टमाटा स्वीकार्छन्। ‘एक पटक प्रोत्साहन गरेर हेरौँ, त्यसपछि पनि सुधार भएन भने त क्रिकेट बोर्डले सोच्नुपर्ने हुन्छ। अहिले उसलाई भइरहेको कुरा कोचलाई थाहा हुनुपर्छ। दीपेन्द्र बेष्ट प्लेयर हुन्’, टमाटाले नेपालखबरसँग भने।

विश्वकप छनोटमा पुग्नै सकस
सन् २०२३ मा हुने एक दिवसीय विश्वकपका लागि लिग २ कोसेढुंगा हो। जसअन्तर्गत नेपालले २०२२ भित्र ९ खेल र समग्रमा १८ खेल खेलिसकेको छ। 

नेपालले ८ जितसहित १७ अंक बटुलेको छ। ९ खेल गुमाएको नेपालको एक खेल टाइ भयो। सात देश सहभागी लिग २ मा नेपाल अहिले पाँचौँ स्थानमा छ।

विश्वकप छनौटमा सहभागी हुन शीर्ष ३ मा पर्नुपर्छ। तर छैटौं स्थानको नामिविया भन्दा २ खेल बढी खेलेको नेपाल मात्रै एक अंकले अगाडि छ। लिग २ मा ओमानले पूरै ३६ खेल खेल्दा ४४ अंकसहित शीर्ष स्थानमा छ। 

समान २२ खेलमा स्कटल्याण्ड ३० र युनाइटेड अरब इमिरेट्सको २६ अंक छ। २४ खेलमा २३ अंक बटुलेको अमेरिका चौथो स्थानमा छ। २० खेलमा एक मात्रै जितेको पपुवा न्युगिनी तालिकाको अन्तिममा छ।

लिग २ मा सातै टोलीले हरेक देशसँग ६/६ खेल खेल्छन्। २ खेल घरेलु मैदानमा, २ खेल विपक्षीको मैदान र २ खेल तेश्रो देशको मैदानमा हुन्छ। 

अब स्कटल्याण्डमा नेपालले नामिविया र घरेलु टोलीसँग एक/एक खेल खेल्न बाँकी छ। नामिवियासँग शनिबार र स्कटल्याण्डसँग आइतबार खेल्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .