ad ad

खेल


सन्दीप लामिछाने : सफलताको शिखर चुमेको करिअर पुग्यो कारागार

चितवनबाट उदाए, आईपीएलबाट चम्किए
सन्दीप लामिछाने : सफलताको शिखर चुमेको करिअर पुग्यो कारागार

फाइल तस्बिर


लक्ष्मी जि.सी
कात्तिक १८, २०७९ शुक्रबार १५:३५, काठमाडौँ

क्रिकेटर सन्दीप लामिछाने पछिल्लो समयको निकै चर्चित नाम हो। 

सन् २०१८ मा इण्डियन प्रिमियर लिग (आइपीएल) टोली दिल्ली क्यापिटल्स (दिल्ली डेयर डेभिल्स) मा अनुबन्ध भएपछि उनको चर्चा अन्तर्राष्ट्रिय क्रिकेटमा चुलिएको थियो।

आईपीएलबाट अन्तर्राष्ट्रिय फ्रेन्चाइज क्रिकेटमा पाइला राखेका सन्दीपले त्यसयता पछाडि फर्किनुपरेको थिएन। 

तर, गत भदौ महिनामा केन्या भ्रमण सकेर क्यारेबियन प्रिमियर लिग खेल्न वेष्ट इण्डिज पुगेका समय उनीमाथि गम्भीर आरोप लाग्यो। 

क्यारेबियन प्रिमियर लिगको जमैका तलावाजमा आवद्ध उनीमाथि १७ वर्षीया नाबालिगलाई जर्बजस्ती करणी गरेको आरोप लाग्यो। त्यसपछि सन्दीपले बीचमै लिग छाडेर हिँड्नुपरेको थियो। 

वेष्ट इण्डिज पुगेका बेला बलात्कार आरोप लागेपछि उनी त्यहाँबाट एक महिना विदेशमै रहे। सम्भवतः उनी अमेरिकामा बसेर असोज २० गते नेपाल आएको बताइन्छ।

लामिछानेले नाबालिगलाई गत भदौ ५ गते काठमाडौंको सिनामंगलस्थित एक होटलमा लगेर दुईपटक बलात्कार गरेको आरोप छ।  गत भदौ २१ गते उनीविरुद्ध प्रहरी बृत्त गौशालामा जाहेरी परेको थियो। 

क्यारेबियन लिग लिग छाडेर स्वदेश फर्किने बताएका उनी एक महिना सम्पर्कविहीन भएपछि फरार भएको खबर सार्वजनिक भएको थियो। 

यद्यपि उनले सामाजिक सञ्जालमार्फत आफू निर्दोष रहेको र स्वदेश फर्कने बताएर थिए। बलात्कार आरोप लागेपछि एक महिना विदेशमै बसेका सन्दीप गत असोज २० गते त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए। 

नेपाल आएलगत्तै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पक्राउ परेका सन्दीप लामिछाने करिब एक महिना गौशाला प्रहरी वृत्तमा रहेका थिए। तर शुक्रबार जिल्ला अदालतले थुनामा राख्न आदेश दिएसँगै उनी केन्द्रीय कारागार सुन्धारामा चलान भएका छन्। 

करिअर
चितवनमा एकेडेमीबाट क्रिकेट खेल्न सुरु गरेका स्पिनर सन्दीपले राष्ट्रिय टोलीमा स्थान मात्रै बनाएनन्, टोलीको कप्तानीसम्मको जिम्मेवारी पाए। नाबालिगमाथि करणीको आरोप लागेपछि नेपाल क्रिकेट संघ (क्यान) ले कप्तानबाट उनलाई निलम्बन गरेको थियो। 

नेपालबाट अन्य क्रिकेटरले अन्तराष्ट्रिय फ्रेन्चाइज क्रिकेटमा यात्रा सुरु गर्न चाहे पनि सन्दीपजति अवसर र सफलता अन्य कुनै खेलाडीले पाउन सकेनन्। 

सन्दीपले सन् २०१८–२० सम्म आईपीएलमा दिल्ली क्यापिटल्सबाट खेले। २०१८ मा नै क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा एसटी किट्स एण्ड नेभिस प्याट्रियट्सबाट खेले।

सन् २०१९ मा बर्रबोडा रोयल्समा आवद्ध भए। २०१९ मा नै जमैका तलावाजमा आवद्ध हुँदै सीपीएल खेलेका थिए। 

यस्तै २०१८ मा नै अफगानिस्तान प्रिमियर लिगमा नांगरहार लियोपार्डस्, सन् २०१८–१९–२० अष्ट्रेलियन लिग बिगबास लिग मेलवर्न स्र्टास र सन् २०२१–२२ मा होबर्ट हुरिकेन्समा आवद्ध भएका थिए। 

यस्तै सन् २०१९ मा सिलहट स्ट्राइकर्सबाट बगंलादेश प्रिमियर लिग, पाकिस्तान सुपर लिगमा लाहोर क्वालन्डर्सबाट खेलेका थिए। आईपीएल, सीपीएल लगायतको अन्तराष्ट्रिय क्रिकेटमा नेपालबाट आवद्ध हुने सन्दीप पहिलो क्रिकेटर हुन्। 

तत्कालीन कप्तान ज्ञानेन्द्र मल्लको स्थान लिँदै सन्दीले २०२१ डिसेम्बरमा नेपाली राष्ट्रिय टोलीको कप्तानी सम्हालेका थिए। तर, नाबालिगमाथि जर्बजस्ती करणीको आरोप लागेपछि २०२२ को सेप्टेम्बर ९ मा कप्तान पदबाट निलम्बनमा परे। 

२०१८ मा वेष्ट इण्डिजविरुद्ध खेल्दै उनले टि–२० आइ मा डेब्यु गरेका थिए। एक दिवसीयमा भने २०१८ को अगष्टमा नेदरल्याण्डविरुद्ध खेल्दै डेब्यु गरेका थिए। 

एक दिवसीय क्रिकेटमा उनले ६९ तथा टि–२० आईमा ८५ विकेट लिएका छन्। टि–२० मा भने १९३ तथा लिष्ट ए मा ११५ विकेट सन्दीपले झारेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .