आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालमा जारी खेलमा स्कटल्यान्डले नामिबियासामु २ सय २२ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको स्कटल्यान्ड ४८.४ ओभरमा २२१ रनमा अलआउट भयो।
स्कटल्यान्डका क्रिस्टोफर म्याकब्राइट ४७ रन बनाउँदै पवेलियन फर्के। थोमक म्याकिनटोसले ३४ र कप्तान रिची बेरिङटोनले ३२ रन थपे। माइकल लिस्क २९, लियाम नोयर २०, म्याथु क्रस १६ र क्रिस ग्रिभ्स १४ रनमा आउट भए। ओपनर कार्ल कोट्जर शून्य रनमा फर्के।
नामिबियाका रुबेनले सर्वाधिक ५ विकेट झारे। ९.४ ओभर बलिङ गरेका उनले मात्र ३० रन खर्चे। तानगेनी लुंगामेनीले २ तथा बेर्नाड, बेन र पिक्की या फ्रान्सले समान एक विकेट लिए।
नेपालमा जारी सिरिजको अन्तिम खेल खेलिरहेको नामिबिया पहिलो जितको खोजीमा छ। यसअघिको तिनै खेलमा पराजित नामिबिया स्कटल्यान्डलाई हराउँदै नेपाल सिरिजको सुखद अन्त्य गर्न चाहन्छ।
यसअघि नै लिग २ च्याम्पियन बनिसकेको स्कटल्यान्ड भने नामिबियालाई हराउँदै नेपाल भ्रमणमा दोस्रो जित निकाल्न चाहन्छ।
Shares
प्रतिक्रिया