ad ad

खेल


कीर्तिपुर मैदानमा गुञ्जियो ‘रातो र चन्द्रसूर्य जंगी निशान हाम्रो...’ (भिडिओसहित)

कीर्तिपुर मैदानमा गुञ्जियो ‘रातो र चन्द्रसूर्य जंगी निशान हाम्रो...’ (भिडिओसहित)

नेपालखबर
फागुन ९, २०७९ मंगलबार १९:२०, काठमाडौँ

आईसीसी विश्वकप लिग २ अन्तर्गत एक दिवसीय त्रिकोणात्मक सिरिज नेपालले क्लीन स्वीप गरेपछि कीर्तिपुर क्रिकेट मैदान रातो र चन्द्रसूर्य जंगी निशान हाम्रो गीतले गुञ्जिएको छ।

घरेलु मैदानमा भएको त्रिदेशीय सिरिजका चारै खेल आफ्नो पक्षमा पार्दै नेपाली क्रिकेट टोलीले दर्शकहरुमा उत्साह र खुसीको सञ्चार गरे। 

सिरिज अन्तर्गत मंगलबार भएको अन्तिम खेलमा लिग २ च्याम्पियन स्कटल्यान्डमथि २ विकेटको रोमाञ्चक जित निकाल्दै नेपालले सिरिज क्लीन स्वीप गरेको हो।

अन्तिम खेलमा जित निकाल्ने क्रममा ब्याटिङतर्फ कप्तान रोहित पौडेल नायक सावित भए। कुनै बेला ५ विकेट गुमाएर हारको मुखमा पुगिसकेको टिमलाई उद्धार गर्दै रोहितले नेपाललाई २ विकेटको जित दिलाए। 

नेपालले लिग २ को सिरिजअन्तर्गत पहिलो पटक चारै खेलमा जित निकालेको हो। स्कटल्यान्डलाई एकै सिरिजका दुवै खेलमा हराउने नेपाल एक्लो टोली भएको छ।

स्कटल्यान्डले दिएको २१३ रनको सामान्य लक्ष्य नेपालले ३५ बल अगावै ८ विकेटको क्षतिमा भेट्टायो। 

एक समय ३१.५ ओभरमा ८ विकेट गुमाएर १३८ रनको संकटपूर्ण अवस्थाको नेपाललाई पौडेलले उद्दार गर्दा करण केसीले साथ दिए। उनीहरुले ७५ रनको साझेदारी गर्दै रोमाञ्चक जित दिलाए

कप्तान रोहित ९५ र करण ३१ रनमा नटआउट रहे। रोहितले १०१ बलमा ७ चौका र ४ छक्का हाने। करणले ३७ बलमा २ चौका र १ छक्का हाने। 

उता बलिङतर्फ पनि यो सिरिजमा सन्दीप लामिछानेले लगातार आफ्नो प्रभाव देखाए। नेपालका लागि स्पिनर सन्दीपले एक्लैले ४ विकेट लिए। ब्याटिङमा रोहितलाई बलियो साथ दिएका करण केसीले बलिङमा पनि गतिलो प्रदर्शन गरे । उनले स्कटल्यान्डका ३ विकेट झारेका थिए।

भिडिओ

रोहितले कप्तानी पारी खेलेपछि कीर्तिपुर क्रिकेट मैदान उत्साहमय बन्यो। खेलाडीले मैदानमा घुमेर घाँसे प्याराफिटमा बसेका दर्शकहरुलाई अभिवादन गरे। सिरिजको अन्तिम खेलमा नेपालालई साथ दिन हजारौँ दर्शक मैदान वरिपरि पुगेका थिए।

सिरिज क्लिन स्विप गरेपछि कीर्तिपुर मैदानमा चर्चित नेपाली साहित्यकार गोपालप्रसाद रिमालले रचना गरेको राष्ट्रभक्ति गीत ‘रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो’गुञ्जियो।

नेपाली टोलीका प्रशिक्षक मोन्टी देसाईले पनि यो गीत गाउँदा खेलाडीहरुलाई अँगालो हालेर साथ दिए। देसाईको कमान्डमा नेपाली टोलीले ब्याटिङमा पनि सुधारिएको प्रदर्शन गर्दै आफूलाई अब्बल प्रमाणित गरेको छ । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .