चर्च ब्वाइज युनाइटेड क्लबलाई पराजित गर्दै मछिन्द्र फुटबल क्लब केपी ओली कप फुटबल प्रतियोगिताको सेमिफाइनमा प्रवेश गरेको छ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा शुक्रबार भएको खेलमा चर्च ब्वाइजलाई २–१ गोल अन्तरले हराउँदै मछिन्द्रले प्रतियोगिताको अन्तिम ४ मा स्थान पक्का गरेको हो।
पहिलो हाफका १६ औँ मिनेटममा कप्तान सुजल श्रेष्ठको फ्रिकीक गोलमा मछिन्द्रले सुरुवाती अग्रता लिएको थियो।
खेलको ४० औँ मिनेटमा रञ्जित धिमालले गोल गर्दै अग्रता दोब्बर पारे।
पहिलो हाफमा २–० ले पछि परेको चर्च ब्वाइजले दोस्रो हाफमा एक गोल उपहार पायो। खेलको ६० औँ मिनेटमा मछिन्द्रका डिफेन्डर छिरिङ गुरुङले आत्मघाती गोल गरे।
मछिन्द्रले अब फाइनल प्रवेशका लागि आयोजक केपी ओली क्लब र जावलाखेल युथ क्लबको विजेतासँग खेल्नेछ।
प्रतियोगिताको उपाधि विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन्। हरेक खेलको विजेताले २५ हजार रुपैयाँ पाउनेछ। सर्वोत्कृष्ट खेलाडीले १ लाख रुपैयाँ प्राप्त गर्नेछ।
विभागततर्फ उदीयमान खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले समान ५० हजार रुपैयाँ पाउनेछन्।
Shares
प्रतिक्रिया