सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत शनिबारको अन्तिम खेलमा मनाङ मर्स्याङदी क्लब र हिमालयन शेर्पा खेल्दै छन्।
खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुनेछ।
मनाङले लिगको तयारीका लागि पोखरामा प्रशिक्षण गरेको थियो। एक समय स्टार खेलाडीले भरिएको मनाङमा यो पठक नयाँ खेलाडीले भरिएका छन्। टोलीका मुख्य प्रशिक्षक किरण श्रेष्ठले आफुहरु लिगको लागि तयार रहेको बताएका छन्।
उनले भने, खेलाडीले टिम छोड्यो या व्यवस्थापनले निकाल्यो त्यो मलाई थाहा छैन। जुन तरिकाले टिम बनेको छ, राम्रो गर्छजस्तो लागेको छ। यहाँचाहिँ के कल्चर छ भने मनाङले १४–१५ जना राष्ट्रिय खेलाडी र राम्रो विदेशी खेलाडी ल्याएर लिग जित्छ भन्ने छ, त्यो कल्चर परिवर्तन गरेका छौं। फरक सोच राखेर टिम बनाएका छौं।
प्रशिक्षक श्रेष्ठले लिगमा शीर्ष चारको लक्ष्य राखेको र त्यसपछि च्याम्पियन बन्ने होडमा अघि बढ्ने बताए।
मनाङले यो पटक बार्सिलोनाको रिजर्भ टोलीमा रहेका डियालाई टोलीमा अनुबन्ध गरेको छ। प्रशिक्षक श्रेष्ठले नेपालमा आएको मध्ये टेक्नीकल्ली उत्कृष्ट खेलाडी रहेको र उनको आगमनले टोलीको मनोवल बढेको बताएका छन्।
टोलीका कप्तान दीप कार्कीले प्रशिक्षकको रणनीतिअनुसार नै लिगको लागि तयार भएको बताएका छन्।
उनले भने, कप्तानको जिम्मेवारी त छँदै छ, सबैलाई मिलाएर लैजानुपर्छ खेलाडीलाई एकजुट गरेका छौं। डियाले राम्रो मोटिभेट गरिरहेको छ, बार्सिलोनाको खेल टिभीमा हेरिरहेका हुन्छौं त्यही खेलेको खेलाडीसँग खेल्न पाउँदा हाम्रो मनोबल बढेको छ।
Shares
प्रतिक्रिया