शहिद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी क्लबले पहिलो जित दर्ता गरेको छ।
च्यासल खेल मैदानमा बिहिबार भएको खेलमा आर्मीले गत सिजनको लिग विजेता मछिन्द्र फुटबल क्लबलाई २–० गोल अन्तरले पाखा लगाएको हो।
आर्मीको जितमा दिपक गुरुङ र नवयुग श्रेष्ठले गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै गोल दोस्रो हाफमा सम्भव भयो।
खेलको ४८ औँ मिनेटमा दिपक गुरुङको गोलमा आर्मीले सुरुवाती अग्रता बनाएको थियो।
खेलको ५९ औं मिनेटमा कप्तान नवयुग श्रेष्ठले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर पारे।
मछिन्द्र पहिलो खेलमा जावलाखेलसँग ३–१ ले पराजित भएको थियो।
आजै ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा जावलाखेल युथ क्लबले न्युरोड टिम एनआरटीलाई २–१ गोलले पराजित गर्यो।
जावलाखेलले लिगमा लगातार दोस्रो जित दर्ता गरेको हो।
जावलाखेलका लागि सिमान्त थापा र फोफे फोफानाले गोल गरे। एनआरटीका सञ्जिव विष्टले गोल गरे।
खेलको ६८ औँ मिनेटमा सिमान्तले गोल गर्दै जावलाखेललाई सुरुवाती अग्रता दिलाए। ७७ औँ मिनेटमा फोफे फोफानले गोल गर्दै अग्रता दोब्बर पारे।
एनआरटीका सञ्जिवले ८० औँ मिनेटमा गोल फर्काए पनि टोलीको हार टार्न सकेनन्।
Shares
प्रतिक्रिया