प्रधानमन्त्री कप थ्री नेसन्स फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आज बुधबार नेपाल र लाओस भिड्दैछन्।
खेल दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुनेछ। नेपाल र लाओस ७ वर्षपछि आमानेसामने हुन लागेका हुन्। यसअघि सन् २०१६ मा भएको सोलिडारिटी कपमा यी दुई टोली पहिलो पटक खेलेका थिए।
अनुभवी खेलाडी विदेशीयपछि यो पटक टोलीमा नयाँ खेलाडीले स्थान बनाएका छन्। यही साता सकिएको ए डिभिजन लिगको पाँचौं राउण्डसम्मको खेलको आधारमा मुख्य प्रशिक्षक शिनसेन्जो अल्बर्टो एनेसेले खेलाडी छनोट गरेका हुन्। आजको खेलमा नयाँ खेलाडीले डेब्यु गर्ने सम्भावना छ।
मुख्य प्रशिक्षक शिनसेन्जोले मंगलबार मात्र टोली घोषणा गरेका थिए। छोटो समयको तयारी भएपनि यो आफुहरुका लािग अवसर भएको उनले बताएका छन्।
टोलीका कप्तान किरण चेम्जोङले भने, यो पटक टोलीमा नयाँ खेलाडीहरू रहेकाले आफूहरुका सामु नयाँ चुनौती रहेको सुनाएका छन्।
उनले थपे, ‘धेरै खेलाडीहरु विदेश पलायन भएका छन्। त्यो उनीहरूको रोजाइ हो। हामीले अझै धेरै चुनौतीहरू फेस गर्नुपर्नेछ। प्रशिक्षकको नयाँ तरिका र रणनीतिलाई हामीले फलो गर्नुपर्नेछ।’
Shares
प्रतिक्रिया