भविष्य खोज्न अस्ट्रेलिया उड्नुअघि नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान सुजल श्रेष्ठले सन्यास लिएका छन्।
पछिल्लो समय ए डिभिजन क्लब मछिन्द्रको कप्तानको भूमिकामा रहेका उनी बिहीबार मध्यराति १२ बजे अस्ट्रेलियतातिर उड्ने छन्।
उनी अस्ट्रेलिया उड्नुअघि बुधबार लाओसविरुद्ध भएको खेलका लागि अखिल नेपाल फुटबल संघले दशरथ रंगशालामा बोलाएको थियो। तर उनी त्यहाँ उपस्थित भएका थिएनन्।
बुधबार दशरथ रंगशाला नगएका उनले बिहीबार सन्यास घोषणा गरेका हुन्।
उनले नेपाली राष्ट्रिय टोलीमा सन् २०११ मा भुटानविरुद्धको खेलमा डेब्यु गरेका थिए। उक्त खेल पोखरामा भएको थियो।
उनी पछिल्लो समयमा ए डिभिजन लिग च्याम्पियन मछिन्द्रबाट फुटबल खेलिरहेका थिए।
ए डिभिजन लिग पनि खेलिरहेका उनले पछिल्लो समय मछिन्द्रबाट केपी ओली कप, भद्रपुर गोल्डकप खेलेर उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए।
यसघि उनी २०७६ सालमा नेपाली टिमको कप्तान पनि भइसकेका छन्। २०७६ मा मलेसियाको च्याम्पियन जोहर दारुल ताजिमसँग मैत्रीपूर्ण प्रतिष्पर्धाका लागि उनले कप्तानको भूमिका पाएका थिए।
उनी यो सिजन मछिन्द्रमा कप्तानको भूमिकामा पनि थिए। उनी ६ दिनअघि ए डिभिजन लिगमा चर्च ब्वाइजसँग बराबरी भएको खेलमा पनि मछिन्द्रको कप्तानकै भूमिकामा मैदानमा उत्रिएका थिए।
प्रतिक्रिया