शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत संकटा क्लबसँगको खेलमा मैदानमा नै अचेत भएर ढलेका मछिन्द्र फुटबल क्लबका छिरिङ गुरुङ खतरामुक्त भएका छन्।
खेलको इन्ज्युरी समयको खेल चलिरहँदा छिरिङ आफ्नै टोलीका खेलाडी पुजन उपरकोटीसँग टाउकोमा ठोकीदा मैदानमा अचेत भएका छिरिङ खतरामुक्त रहेको मछिन्द्र फुटबल क्लबका टिम म्यानेजर अनिल श्रेष्ठले जानकारी दिए।
छिरिङको त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा उपचार भैरहेको छ। मैदानमा करिब २ मिनेट अचेत भएर ढलेका छिरिङलाई संकटाका मुख्य प्रशिक्षक सल्यान खड्कीले मुख खोलेर श्वासप्रस्वासमा सहज गरिदिएका थिए।
‘खेलमा त्यो अघि के भएको थियो मलाई थाहा छैन, उनी ढलेको देख्नासाथ गएँ। उनको मुख बन्द हुन लागेको थियो, मैले दुवै हात राखेर मुख बन्द हुन दिइनँ,’ संकटाका प्रशिक्षक खड्कीले भने, ‘उनको मुख बन्द हुन नदिनका लागि मलाई नै धेरै गाह्रो भएको थियो। त्यसपछि फिजियोहरु आएर सहयोग गर्नुभयो। उनी होसमा आएपछि मैले हात छाडे।’
छिरिङ मैदानमा अचेत हुनासाथ मछिन्द्रका फिजियो सुरज भुषाल मैदानमा पुगेका थिए।
त्यसको केही क्षणमा उनलाई एम्बुलेन्समा राखेर ब्लुक्रस अस्पताल लगिएको थियो। अस्पतालमा उनको सिटी स्क्यान गरेर स्वास्थ्य परीक्षण गर्दा सामान्य रहेको बताइएको छ।
खेलमा छिरिङलाई पुजनको घुँडाले नाकमा लाग्दा उनी मैदानमा अचेत भएर ढलेका थिए।
Shares
प्रतिक्रिया