काठमाडौंमा जारी एसीसी प्रिमियर कप क्रिकेटमा यूएईले सेमिफाइलन यात्रा तय गरेको छ।
मूलपानी क्रिकेट मैदानमा बुधबार भएको खेलमा बहराइनलाई ८ विकेटले पराजित गर्दै यूएई सेमिफाइनल पुगेको हो।
समूह 'बी' मा रहेको यएईले ४ खेलमा ३ जित र १ हारसहित ६ अंक बनाएको छ। उसले समूहको शीर्ष स्थानसहित अन्तिम चारको यात्रा तय गरेको हो।
पहिले ब्याटिङ गरेको बहराइनले दिएको ११७ रनको लक्ष्य यूएईले २७.४ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो। युएईलाई सहज जित दिलाउने क्रममा अविजित रहेका भृत्य अरविन्दले ८४ बलमा ५ चौका र १ छक्कासहित ६२ रन बनाए।
त्यसैगरी अर्का ब्याटर रोहन मुस्तफाले ५६ बलमा ५ चौका र १ छक्का हान्दै ५० रन पूरा गरे। यूएईलाई जिताउन यी दुई खेलाडीले ९९ रनको साझेदारी गरे।
टस जितेर पहिला ब्याटिङ रोजेको बहराइनले ४०.५ ओभरमा अलआउट हुँदै ११६ रन जोडेको थियो। बहराइनले कुनै बेला ८० रन जोड्दा ९ विकेट गुमाइसकेको थियो। तर अन्तिम विकेटका रुपमा अली दाउद र वासिक अहमदले ३६ रनको साझेदारी गरेपछि बहराइको स्कोर सयमाथि गएको थियो।
बहराइनका लागि अली दाउदले ४७ बलमा १ चौका र १ छक्कासहित २३ रन बनाए। उनी नटआउट रहे। उता वासिक अहमदले ४२ बलमा १ चौका हान्दै १२ रन बनाए। त्यस्तै कप्तान हैदर अली बटले ४९ बलमा ४ चौका हान्दै २३ रन जोडे।
अब कुवेत र हङकङबीचको नतिजाले यूएई समूह विजेता हुने नहुने टुंगो हुनेछ। हङकङ र कुवेतमध्ये एक टोली सेमिफाइनल जानेछन्।
यसअघि नै समूह ए मा रहेको नेपाल ३ खेलमा ५ अंक जोड्दै शीर्ष स्थानमा रहेर सेमिफाइनल पुगिसकेको छ।
अन्तिम चार यात्रा तय गरिसकेको नेपालले अब बिहीबार कतारसँग अन्तिम खेल खेल्नेछ। नेपालसँग हारेका साउदी अरेबिया र ओमानमध्ये एक टोली आजको खेल जितेर सेमिफाइनल पुग्नेछन्।
Shares
प्रतिक्रिया