नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी साम्बाको ह्याट्रिकसहित ४ गोलमा गोकुलम केरला एफसीले भारतीय महिला लिग (आइडब्लूएल) मा लगातार दोस्रो जित निकालेको छ।
शनिबार भएको लिग चरणको दोस्रो खेलमा गोकुलमले नेपाली राष्टिय टोलीकै अर्की सदस्य रेखा पौडेल सम्मिलित स्पोर्टस् ओडिसालाई ८–१ गोल अन्तरले हराएको हो।
गोकुलमको जितमा साम्बाले चार गोल गरिन्। खेलको सातौं मिनेटमा साम्बाले सुरुवाती गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन्। तर १२औं मिनेटमा सुमित्रा हेमब्रमले गोल गर्दै स्पोर्टस् ओडिसालाई बराबरीमा ल्याइन्।
खेलको २८ औं मिनेटमा भिभियान कोनाडुले गोल गर्दै गोकुलमलाई २-१ को अग्रता दिलाइन्। खेलको ४३औं मिनेटमा दाङमेइ ग्रेसले गोकुलमको अग्रता फराकिलो पारिन्।
पहिलो हाफमा ३-१ ले अग्रता बनाएको गोकुलमले दोस्रो हाफमा ५ गोल थप्यो।
खेलको ६२ औं मिनेटमा साम्बाले व्यक्तीगत दोस्रो गोल गर्दै टोलीलाई ४-१ को अग्रता दिलाइन्। त्यसको एक मिनेटपछि नै साम्बाले गोल गर्दै ह्याट्रिक पूरा गरिन्। खेलको ७० औं मिनेटमा सिल्की देवीले गोकुलमको अग्रता थपिन्।
खेलको ७९ औं मिनेटमा व्यक्तीगत चार गोल गर्दै साम्बाले गोकुलमलाई ७-१ को अग्रता दिलाईन्। ८६औं मिनेटमा भिभियनले व्यक्तीगत दोस्रो गोल गरेपछि गोकुलमले ८-१ को फराकिलो जित निकालेको हो।
लगातार दोस्रो जितसँगै गोकुलमा ६ अंकमा तालिकाको शीर्ष स्थानमा यथावत छ।
Shares
प्रतिक्रिया