नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मुख्य फरवार्ड सावित्रा भण्डारी साम्बाको उत्कृष्ट प्रर्दशनमा गोकुलम केरला एफसीले भारतीय महिला लिगमा सानदार जित दर्ता गरेको छ।
शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा गोकुलमले मुम्बइ किंग्स एफसीलाई ११–१ को फराकिलो अन्तरले पाखा लगायो।
जितसँगै गोकुलमले ७ खेलमा ६ मा जित र एक खेलमा बराबरी गर्दै १९ अंकका साथ शीर्ष स्थानमा रहेर अन्तिम ८ मा स्थान बनाएको छ।
गोकुलमका लागि साम्बा एक्लैले सात गोल गरिन्। सन्ध्या रंगनानाथले दुई गोल थप्दा इन्दुमति र रोजाले एक एक गोल गरे। मुम्बइकी भुमिका मानेले खेलको ४३औं मिनेटमा गरेको गोल सान्त्वना बन्यो।
पहिलो हाफमा ४ गोल गरेकी साम्बाले दोस्रो हाफमा ३ गोल थपिन्। साम्बा खेलको प्लेयर अफ दि म्याच समेत बनिन्।
लिगमा २६ गोल गरेकी साम्बा सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छिन्। लिगमा ९ गोल गरेकी सेथु एफसीकी काजोल डेसुजा दोस्रो स्थानमा छिन्।
साम्बाले खेलको ११, १६ र ३२ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन्। त्यसपछि ३९, ५५ र ८९ औं मिनेटमा गोल गर्दै दोस्रो ह्याट्रिक गरिन्। इन्ज्युरी समयको तेस्रो मिनेटमा साम्बाले गोल गर्दै एक्लैले सात गोल गरिन्।
इन्दुमतिले खेलको १० औं मिनेटमा गोल गरिन्। सन्ध्याले १५ र ५७ औं मिनेटमा गोल गरिन्। असिम रोजा देवीले ६२ औं मिनेटमा गोल थपिन्।
Shares
प्रतिक्रिया