नेपालमा जारी काभा महिला भलिबल च्यालेन्ज कपमा किर्गिस्तान र श्रीलंका पाचौं स्थानका लागि प्रतिस्पर्धा गर्ने भएका छन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न खेलमा किर्गिस्तानले माल्दिभ्ससँग जित निकाल्दा अर्को खेलमा श्रीलंकाले बंगलादेशलाई पराजित गरेको हो।
दुवै टोलीको जितसँगै विजेता दुई टोलीको भिडन्त पाँचाैं स्थानका लागि तय भएको हो। प्लेअफ अन्तर्गत बिहीवार भएको पहिलो खेलमा किर्गिस्तानले माल्दिभ्समाथि ३–० को सहिजत जित दर्ता गरेको हो। किर्गिस्तानले माल्दिभ्सलाई २५–२०,२५–२० र २५–१५ ले हराएको हो । पाँचौ स्थानका लागि शनिबार खेल हुनेछ।
प्रतियोगिता अन्तर्गत बिहीवार नै भएको अर्को खेलमा श्रीलंकाले बंगलादेशलाई ३–० को सेटमा जित निकाल्दै किर्गिस्तानसँगको भेट पक्का गरेको हो। रोमाञ्चक खेलमा श्रीलंकाले बंगलादेशमाथि २५–१६, २५–१५ र २५–७ को सहज जित निकालेको हो।
यससँगै छैठौं र साताैं स्थानका लागि प्रतिष्पर्धा गर्ने टोलीको पनि टुङ्गो लागेको छ। यस स्थानका लागि माल्दिभ्स र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिता अन्तर्गत शुक्रवार नै उज्वेकिस्तान र भारतबीच पहिलो सेमिफाइनल खेल दिउँसो साढे दुई बजे हुनेछ। त्यस्तै नेपाल र काजकिस्तानबीच दोस्रो सेमिफाइनल खेल शुक्रवार साँझ ५ बजे हुनेछ। दुवै सेमिफाइनल विजेताका बीचमा आइतबार फाइनल खेल हुनेछ। नेपाल घरेलु कोर्टमा च्याम्पियनको ह्याट्रिक गर्ने लक्ष्यमा रहेको छ।
प्रतिक्रिया