जोसे मोउरिन्होको प्रशिक्षणमा रहेक इटालियन क्लब एएस रोमालाई हराउँदै स्पेनिस क्लब सेभिल्लाले कीर्तिमानी सातौँ पटक युरोपा लिगको उपाधि जितेको छ।
निर्धारित समयमा एक एक गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइँदा सेभिल्लाले बाजी मार्दै आगामी सिजनको च्याम्पियन्स लिग यात्रा पनि पक्का गरेको छ।
टाइब्रेकरमा सेभिल्लाले ४–१ को जित निकाल्दा दोस्रो पटक युरोपा लिगको फाइनल पुगेको रोमा उपविजेतामै चित्त बुझाउन बाध्य भयो।
यसअघि सेभिल्लाा सन् १९९१ मा फाइनल पुगेको थियो, त्यो बेलामा इन्टर मिलान विजयी भएको थियो।
हंगेरीको बुढापेस्टस्थित मैदानमा सेभिल्लाले च्याम्पियन ट्रफी उचालिरहँदा रोमाका प्रशिक्षक जोसे मोउरिन्हो भने आफूले लगाएको पदक दर्शकतिर फालिरहेका थिए।
आफ्नो प्रशिक्षणमा सबै पाँच युरोपेली उपाधि उचालेका मोरिन्होले सेभिल्लाले जितको उत्सव मनाइरहँदा आफूलाई प्राप्त दोस्रो स्थानको पदक दर्शकदीर्घामा रहेका एक बच्चातिर फ्याकिरहेका थिए।
‘मलाई दोस्रो स्थानको पदक चाहिँदैन, म दोस्रो भएको पदक राख्न सक्दिन त्यसैले दिएँ। म रोमामा बस्न चाहान्छु। मेरा खेलाडीहरु अझै योग्य छन्’, उनले भनेका छन्, ‘त्यसका लागि म अब लड्न चाहान्नँ, म प्रशिक्षक, कम्युनिकेटर र क्लबको प्रवक्ता भएर थकित छु।’
Shares
प्रतिक्रिया