कीर्गिस्तानको विस्केकमा हुने काभा पुरुष भलिबल नेशन्स लिगका लागि जाने नेपाली राष्ट्रिय भलिबल टोलीको बिदाइ गरिएको छ।
नेपाल भलिबल संघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै टोलीको बिदाइ गरेको हो।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, संघका अध्यक्ष जितेन्द्र चन्द, पुर्व अध्यक्ष मनोरञ्जन रमण शर्मा लगायतले बिदाइ गरे। नेपाली टोली शुक्रबार कीर्गिस्तान प्रस्थान गर्नेछ।
पहिलो पटक राष्ट्रिय टोलीको कप्तानी गर्न लागेका हरि हजुर थापाले विगतको भन्दा अहिलेको खेल फरक हुने बताए।
काभामा बलिया टोली रहेकाले हाम्रो लागि हरेक खेल चुनौतीपुर्ण छ उनले थपे, टोलीमा नयाँ खेलाडीको जोश र पुरानोको अनुभव मिलाएर खेल्नेछौँ।
किर्गिस्तान जानुअघि नेपाली टोलीका मुख्य प्रशिक्षक जगदिश भट्टले यो प्रतियोगिता नेपाली टोलीका लागि एसियन गेम्सको तयारी पनि रहेको बताए।
उनले भने, ‘हामीले कम्तीमा ६ खेल खेल्नेछौं। विगतको भन्दा बलियो टोलीसँग खेल्न लागेका छौं। धेरै कुरा सिकेर नेपाल फर्किने र एसियन गेम्सको लागि तयारी गर्नेछौं।
काभा पुरुष भलिबल नेसन्स लिग कीर्गिस्तानको विस्केकमा १८ देखि २५ जुनसम्म हुँदैछ।
नेपाली टोली
हरि हजुर थापा, लोकेन्द्र राज गिरी, मान बहादुर श्रेष्ठ, टेकराज अवस्थी, राजेन्द्र विष्ट, रोविन चन्द, दुर्गाबहादुर खड्का, हरिबहादुर अधिकारी, सफल विक, धनबहादुर भट्ट क्षेत्री र हेमन्त बहादुर मल्ल र भीम बहादुर गाहा।
Shares
प्रतिक्रिया