ad ad

खेल


मेस्सी भित्र्याउन नसकेको अल हिलालको नजर एम्बाप्पेमा, २५९ मिलियन पाउन्डको प्रस्ताव

मेस्सी भित्र्याउन नसकेको अल हिलालको नजर  एम्बाप्पेमा, २५९ मिलियन पाउन्डको प्रस्ताव

नेपालखबर
साउन ९, २०८० मंगलबार १२:१२, काठमाडौँ

साउदी अरेबियन प्रो लिग क्लब अल हिलालले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का युवा स्ट्राइकर किलियन एम्बाप्पेमा नजर लगाएको छ।

अर्जेन्टिनाका सुपरस्टार लियोनेल मेस्सीका लागि विश्व कीर्तिमानी रकम प्रस्ताव गरे पनि भित्र्याउन नसकेको अल हिलालले एम्बाप्पेलाई कम्तीमा एक सिजन राख्ने गरी प्रस्ताव गरेको हो।

अल हिलालले यो सिजन साउदी अरेबियामा रहेर अर्को सिजन अन्यत्र जान दिने अप्सनसहित उक्त प्रस्ताव गरेको बताइएको छ।

बीबीसीका अनुसार अल हिलालले एम्बाप्पेलाई अनुबन्धन गर्न २५९ मिलियन पाउन्डको प्रस्ताव पीएसजीसमक्ष गरेको हो।

यो भनेको नेपाली रुपैयाँ ४३ अर्ब ६५ करोड १७ लाख ६८ हजार ६५० हुन आउँछ। विश्व च्याम्पियन एम्बाप्पे अब पीएसजीमा एक सिजन मात्रै रहनेछन्।

त्यसपछि उनको सम्झौता सकिनेछ। पीएसजीसँगको सम्झौता सकिएपछि उनी फ्री ट्रान्सफरमा स्पेनिस क्लब रियल मड्रिड जान तम्तयार छन्।

तर पीएसजी उनलाई कुनै हालतमा फ्री मा जाने दिने पक्षमा छैन। त्यहीकारण उसले सकेसम्म यही सिजन एम्बाप्पेलाई बेच्ने योजना बनाएको छ।

नयाँ सम्झौता गर्न तयार नभएका एम्बाप्पेलाई विक्री गर्न पीएसजी तयार भएको अवस्थामा अल हिलाले उनीमाथि पैसाको खोलो बगाउन तयार भएको जनाएको हो। 

पीएसजीसँग सम्झौता नवीकरण नगर्ने घोषणा गरिसकेका उनलाई क्लबले जापान भ्रमणमा पनि नलग्ने निर्णय गरेको छ। यस्तोमा यही सिजन एम्बाप्पेलाई बेच्ने योजनामा पीएसजी छ। 

एम्बाप्पे पीएसजीबाट बाहिरिने भएपछि इङ्लिस क्लबहरु चेल्सी, म्यानचेस्टर युनाइटेडसहित किन्न तयार छन्। तर रियल मड्रिड जान तयार एम्बाप्पे यो सिजन कहाँबाट खेल्छन् अहिलेसम्म टुंगो लागेको छैन। 

उता साउदी अरेबियन इनभेष्टमेन्ट फन्डबाट सञ्चालित प्रो लिग क्लब अल हिलाले यो सिजनका लागि रुबिन नेभिस, कालिदो कौलिबाली जस्ता युरोपका स्टार खेलाडीलाई किनि सकेको छ। 

यसअघि यसै सिजनमा पीएसजीसँगको सम्झौता सकिएपछि अल हिलालले मेस्सीलाई किन्न चाहेको थियो। तर मेस्सी दीर्घकालीन सम्झौतासहित अमेरिकी मेजर लिग सकर क्लब इन्टर मियामी गइसकेका छन्।

मेस्सीले पीएसजी छाड्ने भएपछि साउदी अरेबियाको प्रो लिग क्लब अल हिलालले कीर्तिमानी रकम प्रस्ताव गरेको थियो। 

मेस्सीलाई क्लबमा भित्र्याउने योजनासहित उसले प्रतिसिजन ४०० मिलियन युरोको प्रस्ताव गरेको थियो। मेस्सीका लागि साउदी अरेबियन क्लब अल हिलालले गरेको रकम प्रतिसिजन ५७ अर्ब ७३ करोड ४३ लाख ३ हजार नेपाली रुपैयाँ हुन आउँछ। 

पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो अहिले साउदी अरेबियामै छन्। उनी अहिले साउदी प्रो लिग क्लब अल नासरबाटमा दोस्रो सिजन खेल्न तयार छन्। 

रोनाल्डोलाई अल नासरले प्रतिसिजन १७३ मिलियन युरो अर्थात् नेपाली २८ अर्ब ३३ करोड २० लाख रुपैयाँ आसपास तिर्ने गरेको बताइन्छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .