ad ad

खेल


विश्वकप उपाधि भिडन्त : यी हुन् भारत र अस्ट्रेलियाका प्रमुख हतियार

भारतको लय, अस्ट्रेलियाको इतिहास
विश्वकप उपाधि भिडन्त : यी हुन् भारत र अस्ट्रेलियाका प्रमुख हतियार

नेपालखबर
मंसिर ३, २०८० आइतबार १३:५०, काठमाडौँ

सर्वाधिक पाँच पटकको विश्व विजेता अस्ट्रेलियाले एक दिवशीय विश्वकप क्रिकेटको उपाधिका लागि आयोजक भारतको सामना गर्दैछ। यसअघि ७ पटक विश्वकपको फाइनलमा पुगेको अस्ट्रेलिया दुई पटक मात्रै पराजित भएको थियो।

भारत चौथो पटक फाइनलमा पुग्दा तेस्रो उपाधिको खोजिमा छ। जुन अहिले उसको लय हेर्दा निकै नजिक पनि छ। भारतले खेलेका १० वटै खेल जित्दै सहजै फाइनल यात्रा तय गरेको छ।

तर अस्ट्रेलिया कठिन रूपमा फाइनलको यात्रा तय गरेको टिम हो। भारतले न्युजिल्यान्डलाई ७० रनले पराजित गर्दै फाइनल पुगेको हो। त्यसअघि समूह चरणमा पनि न्युजिल्यान्डलाई चार विकेटले पराजित गरेको थियो।

अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई तीन विकेटले पराजित गर्दै भारतसँग २० वर्षपछि पुनः उपाधि भिडन्त पक्का गरेको हो। त्यसअघि समूह चरणमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई १३४ रनले पराजित गरेको थियो।

दक्षिण अफ्रिकासँग समूह चरणको हारको बदला लिँदै फाइनल पुगेको अस्ट्रेलिया भारतसँग पनि सोही नतिजा चाहन्छ। समूह चरणमा भारतसँग १९९ रनमा समेटिएको अस्ट्रेलिया ६ विकेटले पराजित भएको थियो।

भारत भने सोही नतिजा दोहोर्‍याउँदै घरेलु मैदानको फाइदा उठाउने मनोबलमा छ।

भारतको लय
यो विश्वकपमा एक मात्र अपराजित टिम हो भारत। यसपटक भारतका खेलाडीले ब्याटिङ र बलिङ दुवैमा अब्बल प्रदर्शन गरेका छन्। विराट कोहली सर्वाधिक रन बनाउने खेलाडी हुन्। उनले यही विश्वकपबाट सचिन तेन्दुल्करको सर्वाधिक शतकको कीर्तिमान भंग गर्दै आफ्नो नाममा लेखाए।

विराटले १० खेलमा ७११ रन जोडे। यही विश्वकपमा उनले ३ शतक र ५ अर्धशतक प्रहार गरेका छन्। फाइनलमा भारतको प्रमुख ब्याटिङ हतियार उनै हुन्। तर भारतसँग यस बाहेकका विकल्प पनि प्रशस्त छन्।

कप्तान समेत रहेका ओपनर रोहित शर्मा जारी विश्वकपको सर्वाधिक रन बनाउने उत्कृष्ट पाँच भित्र छन्। रोहितले १० खेलमा ५५० रन बनाएका छन्। यसमा उनका एक शतक र तीन अर्धशतक सामेल छन्। रोहित जारी विश्वकपमा सबैभन्दा बढी छक्का प्रहार गर्ने ब्याटर हुन्।

उनले सबैभन्दा बढी २८ छक्का प्रहार गरेका छन्। चौका पनि विराटको भन्दा मात्रै दुई कम ६२ चौका प्रहार गरेका छन्। उत्कृष्ट १० भित्र अटाउने भारतका अर्का ब्याटर हुन् श्रेयस ऐर। जसले १० मध्ये सात खेलमा ब्याटिङ गरे र ५२६ रन बनाएका छन्। उनको नाममा नटआउट १२८ जारी विश्वकपमा सर्वाधिक रन हो।

उनले सात खेलमा ब्याटिङ गर्दा दुई शतक र तीन अर्धशतक प्रहार गरेका छन्। यी बाहेक भारतका प्रमुख ब्याटिङ हतियार हुन् शुवमन गिल र केएल राहुल। गिल एकदिवसीय क्रिकेटका उत्कृष्ट ब्याटर हुन्।

उनले यही विश्वकपबाट पाकिस्तानी ब्याटर बाबर आजमलाई पछि पारे। आठ खेलमा मौका पाएका गिलले सात खेलमा ब्याटिङ गरेका छन्। उनले सर्वाधिक ९२ रन बनाएका छन् भने चार चौका प्रहार गरेका छन्।

केएल राहुलले पाँच खेलमा मात्रै ब्याटिङको मौका पाएका छन्। तर उनले ३८६ रन बनाएका छन् भने दुई खेलमा उनको प्रदर्शन राम्रो रह्यो। एक शतक र एक अर्धशतक प्रहार गरेका छन्।

अस्ट्रेलियाको इतिहास
लगातार दुई हारबाट सुरु भएको अस्ट्रेलियाको विश्वकप यात्रा उत्कृष्ट पुनरागमनसँगै फाइनलमा पुगेको हो। पहिलो खेलमा भारतसँग ६ विकेटले पराजित भएको अस्ट्रेलिया दोस्रो खेलमा दक्षिण अफ्रिकासँग १३४ रनले पराजित भएको थियो। तर त्यसपछि लगातार आठ जित निकाल्दै अस्ट्रेलियाले सबैलाई आफ्नो इतिहास सम्झायो।

जारी विश्वकपमा एक मात्रै दोहोरो अर्धशतक बनाएर टोलीलाई जीवनदान दिने ब्याटर हुन् ग्लेन म्याक्सवेल। अफगानिस्तानविरुद्ध इनिङ धरमराइसकेको अवस्थामा म्याक्सवेलकै बलमा टोलीले जित हात पार्‍यो। २९२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया सुरुका विकेट लगातार पतन हुँदा हारको बाटोमा लागिसकेको थियो।

तर १९ बल बाँकी हुँदा तीन विकेटको जित दिलाउन उनले नटआउट २०१ रन बनाउँदा सम्भव भयो। नेदरल्यान्डविरुद्ध ३०९ रनको सानदार जित हात पार्दा पनि उनको अर्को शतक सामेल छ।

यो विश्वकपमा अस्ट्रेलियाको टोलीबाट सबैभन्दा बढी रन बनाउने ब्याटर हुन् डेभिट वार्नर। ओपनर वार्नरको खेलले अस्ट्रेलियाको उपाधि भिडन्त कस्तो हुने भन्ने अर्थ राख्छ। वार्ननरले १० खेलमा ५२८ रन बनाउदा दुई शतक र दुई अर्धशतक प्रहार गरेका छन्। उनले जारी विश्वकपमा ४९ चौका र २४ छक्का प्रहार गरेका छन्।

तेस्रो बरियताका ब्याटर मिचेल मार्सले जारी विश्वकपका ९ खेल खेल्दा आठ वटामा ब्याटिङ गरेका मार्सले ४२६ रन बनाएका छन्। उनले नटआउट १७७ रन बनाउनु बाहेक अर्को शतक र एउटा अर्धशतक प्रहार गरेका छन्।

यी तीन ब्याटरले अस्ट्रेलियाका लागि यो विश्वकपमा सम्झन लायक प्रदर्शन गरेका छन्। जो भारतका बलरलाई टाउको दुखाइ बन्न सक्छन्।

शामी भर्सेस जाम्पा
विश्वकप क्रिकेटको फाइनलमा बलिङतर्फ भने भारतका मोहम्मद शामी र एडम जाम्पाको बलिङ हेर्न लायक हुनेछ। शामीले सर्वाधिक २३ विकेट लिँदा जाम्पाका नाममा मात्रै एक कम २२ विकेट छ।

शामीले सेमिफाइनलमा न्युजिल्याण्डको सात विकेट लिँदै कीर्तिमान बनाए। न्युजिल्याण्डविरुद्ध सात विकट लिँदा उनले मात्रै ५७ रन खर्चिएका थिए। शामी भारतको पहिलो रोजाइका बलर भने थिएनन्।

नियमित खेलाडी हार्दिक पाण्डे चोटका कारण बाहिरिएसँगै टोलीमा परिवर्तन गर्नुपर्ने अवस्था आयो।

पाण्डे बाहिरिएसँगै सार्दुल ठाकुर पनि टोलीमा परेनन्। उनीहरूको स्थानमा सूर्यकुमार यादव र मोहम्मद शामीले मौका पाए। पछिल्ला ६ खेलमा मौका पाएका शामीले भने आफूलाई अब्बल प्रमाणित गरिछाडे। उनले ४१.५ ओभर बलिङ गर्दा तीन मेडनसहित २१० रन मात्रै खर्चिएका छन्। अस्ट्रेलियाका जाम्पा भारतीय ब्याटरका लागि प्रमुख हतियार हुन्।

उनले १० खेलमा २२ विकेट लिएर सर्वाधिक विकेट लिने खेलाडीमा दोस्रो स्थानमा छन्। जाम्पाले १० खेलमा ८६ ओभर बलिङ गर्दा एक मेडनसहित ४७१ रन खर्चिएका छन्। समूह चरणमा उनले नेदरल्यान्ड्सविरुद्ध तीन ओभारमा मात्रै आठ रन खर्चिएर चार विकेट लिएका थिए। यो उनको सबैभन्दा राम्रो नतिजा हो।

यी बाहेक भारतका जसप्रित बुम्राह, रबिन्द्र जडेजा, कुल्दिप यादव नतिजा प्रभावित पार्न सक्ने बलर हुन्। जारी विश्वकपमा बुम्राहले १८ विकेट, जडेजाले १६ विकेट र यादवले १५ विकेट लिएका छन्।

अस्ट्रेलियाका जोश हजेलवुड (१४), मिचेल स्टार्क (१३) र १३ विकेट लिएका प्याट्रिक जेम्स कमिन्स पनि अस्ट्रेलियाका प्रमुख बलर हुन्। जसको हातबाट भारतीय ब्याटरको इनिङ धर्मराउन सक्छ।

हेड टू हेड
एक दिवसीय विश्वकप क्रिकेटको फाइनलमा भारत र अस्ट्रेलिया २० वर्षपछि आमनेसामने भएका हुन्। सन् २००३ को फाइनलमा भारतलाई १२५ रनले पराजित गर्दै अस्ट्रेलियाले उपाधि जितेको थियो। भारत आज त्यसको बदला लिँदै तेस्रो पटक उपाधि उचाल्ने लक्ष्यमा छ।

भारत र अस्ट्रेलियाले यो वर्ष मात्रै एक दिवसीय क्रिकेटमा सात खेल खेलिसकेका छन्। जसमा भारतले चार खेल जित्दा अस्ट्रेलियाले तीन खेलमा आफ्नो पक्षमा नतिजा पारेको छ। समूह चरणमा ६ विकेटले जित्नुअघि भारत गत सेप्टेम्बरमा ६६ रनले पराजित भएको थियो। तर, त्यसअघि लगातार दुई खेल भारतले जितेको थियो। सेप्टेम्बर २४ मा डीएलएस मेथडमा ९९ र सेप्टेम्बर २२ मा पाँच विकेटले विजयी भएको थियो।

त्यसअघि मार्चमा भएको तीन दिवसीय सिरिज अस्ट्रेलियाले २-१ ले आफ्मो पक्षमा पारेको थियो। मार्च १७ मा पाँच विकेटले पराजित भएको अस्ट्रेलियाले त्यसपछि मार्च १९ मा १० विकेट र मार्च २२ मा २१ रनले जितेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .