खेल


विश्वकप क्रिकेटको उपाधि छैटौँपटक अस्ट्रेलियालाई, घरेलु मैदानमै भारत स्तब्ध

२० वर्षपछि पनि भारतलाई अस्ट्रेलिया नै बाधक
विश्वकप क्रिकेटको उपाधि छैटौँपटक अस्ट्रेलियालाई, घरेलु मैदानमै भारत स्तब्ध

भारतविरुद्ध शतक प्रहार गरेपछि अस्ट्रेलियाली मध्यक्रमका ब्याट्सम्यान ट्राभिस हेड, जसले फाइनल खेलमा महत्त्वपूर्ण १३७ रन बनाए (तस्बिर : ईएसपीएन)


उजिर कार्की
मंसिर ३, २०८० आइतबार २१:३६, काठमाडौँ

भारतलाई हराउँदै एक दिवसीय विश्वकप क्रिकेटको उपाधि अस्ट्रेलियाले जितेको छ। गुजरातको नरेन्द्र मोदी स्टेडियममा आइतबार बेलुका सम्पन्न फाइनलमा अस्ट्रेलियाले भारतलाई ६ विकेटले पराजित गरेको हो। 

भारतले दिएको २४१ रनको मध्यम लक्ष्य अस्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो। यो सँगै अस्ट्रेलियाले सबैभन्दा बढी छैटौँ पटक उपाधि चुमेको छ।

सन् १९८७ मा भारत र पाकिस्तानमा हुँदा पहिलो पटक उपाधि जितेको अस्ट्रेलियाले ३६ वर्षपछि पुनः भारतमै अर्को उपाधि थप्यो। त्यतिबेला इंग्ल्यान्डलाई पराजित गरेको थियो। १९९९ मा पाकिस्तानलाई पराजित गर्दै दोस्रो पटक उपाधि जितेको अस्ट्रेलियाले लगातार उपाधिमा ह्याट्रिक गरेको थियो। 

सन् २००३ मा भारतलाई र २००७ मा श्रीलंकालाई पराजित गर्दै चौथो पटक उपाधि जितेको थियो। त्यसपछि सन् २०१५ मा अस्ट्रेलिया र इग्ल्यान्डमा आयोजना हुँदा न्युजिल्यान्डलाई पराजित गरेको थियो। 

८ वर्षपछि पुनः आयोजक भारतलाई नै स्तब्ध पार्‍यो। अस्ट्रेलियाको यो नतिजाले जारी विश्वकपमा १० खेलको अपराजित यात्रा मात्रै टुंगिएन घरेलु दर्शकमाझ तेस्रो पटक उपाधि चुम्ने सपना पनि घरेलु भूमिमा बिलायो। यसअघि भारतले २०११ मा भारत र बंगलादेशले आयोजना गर्दा श्रीलंकालाई पराजित गर्दै दोस्रो पटक उपाधि जितेको थियो।

त्यसअघि १९८३ मा इग्ल्यान्डमा वेस्टइन्डिजलाई पराजित गर्दै पहिलो पटक उपाधि जितेको थियो। अरु दुई पटक फाइनलमा पुगे पनि दुवै पटक अस्ट्रेलियाले नै निराश बनायो। 

छैटौँ उपाधिका नायक बने ट्राभिस हेड
घरेलु टोलिलाई निरास बनाउने अस्ट्रेलियाको टोलिका नायक बने ट्राभिस हेड। उनले निर्णयक खेलमा सानदार सतक पूरा गर्दा मार्नस लावुसचेनसँग १९१ रनको साझेदारी गरे। 

हेड टोलीलाई मात्र २ रन आवश्यक हुँदा सिराजको बलमा क्याचआउट भए। ट्राभिसले ११९ बलमा १३७ रन बनाए। मार्नसले १०९ बलमा ५७ रन बनाए। 

त्यसअघि ४७ रन बनाउँदा तीन विकेट गुमाएपछि अस्ट्रेलिया दबाबमा परेको थियो। १६ रन बनाएको अवस्थामा दोस्रो ओभरमा डेविट वार्नर व्यक्तिगत ७ रनमै क्याचआउट हुँदा ४१ रन भएको अवस्थामा मिचेल मार्स पनि मात्रै १५ रन जोडेर आउट भए। त्यसपछि ४ रन जोडेर स्टेभिन स्मिथ एलबीडब्ल्यू धरापमा पर्दा अस्ट्रेलियाको इनिङ पनि धरापमा पर्दै थियो। जसलाई ट्राभिस र मार्नसले सानदार साझेदारी गर्दै उपाधिको बाटो देखाए। 

भारतका जसप्रित बुम्राहले २ तथा मोहम्मद शामीले एक विकेट लिनु बाहेक अन्य बलर चल्न सकेनन्। 

ब्याटिङबाटै निराश भारत
भारतीय खेलाडी पहिलो इनिङ सकिँदै निराश देखिन्थे। उनीहरूले सोचेजस्तो रन बनाउन सकेका थिएनन्। जुन स्कोरमा रक्षा गर्न चुनौती भएको उनीहरूको मुहारले देखाउँथ्यो। 

भारतको इनिङ्समा तीन ब्याटरले बाहेक अन्यले सन्तोषजनक प्रदर्शन गर्न सकेनन्। भारतका लागि विराट कोहली र केएल राहुलले अर्धसतक पूरा गर्दा कप्तान रोहित शर्मा ४७ रनमा आउट भए। रोहितले ३१ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। विराटले ६३ बलमा चार चौकाको मद्दतमा ५४ रन जोडे। 

जारी विश्वकपमा उनको यो छैटौँ अर्धसतक हो। उनले तीन सतक प्रहार गरेका छन्। यो विश्वकपमा विराटले सर्वाधिक रन जोडे। उनले ११ खेलमा ७६५ रन जोडेका हुन्।

लगातार विकेट पतन हुँदा भारतलाई सम्हाल्ने प्रअयास गरेका केएल राहुलले १०७ बलको सामना गर्दा मात्रै एक चौकाको मद्दतमा ६६ रन जोडेर आउट भए। 

शुबमन गिल र श्रेयस ऐयर समान चार रन जोड्दा पेबेलियन फर्किए। रबिन्द्र जडेजा पनि क्रिजमा लामो समय टिक्न सकेनन्। २२ बलको सामना गरेका जडेजा मात्रै ९ रन बनाउँदा क्याचआउट हुन पुगे। 

मोहम्मद शामीले ६ रन र जसप्रित बुम्राह १ रनमै एलबीडब्ल्यु धरापमा परे। 

सूर्यकुमार यादव १८ रनमा विकेटकिपरकै हातबाट आउट हुँदा कुल्दिप यादव पनि अन्तिम बलमा १० रनमा आउट भए। मोहम्मद सिराज ९ रनमा नटआउट रहे।   

अस्ट्रेलियाका लागि मिचेल स्ट्राकले ३ विकेट लिए। पूरै १० ओभर बलिङ गरेका मिचेलले ५५ रन खर्चिए। भारतका गिल, केएल राहुल र मोहम्मद शामी मिचेलको बलमा क्याचआउट भएका थिए। एडम जाम्पाले जसप्रित बुम्राहको विकेट लिए।

जोश हजलवुड र प्याट कुमिन्सले समान २ विकेट हात पारे। रविन्द्र जडेजा र सूर्यकुमार यादव हजलवुडको बलमा विकेटकिपरको हातबाट क्याचआउट भए। विराट कोहलीलाई बोल्ड गरेका कुमिन्सले श्रेयस ऐयरलाई विकेटकिपरकै हातबाट पेबेलियनको बाटो देखाए।

 ग्लेन म्याक्सवेलले भारतीय कप्तान रोहित शर्मालाई पेबेलियन फर्काएका थिए।

तस्बिर:ईएसपीएन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .