पोखरामा जारी टाइगर कप भलिबल प्रतियोगिताअन्तर्गत विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै साविक विजेता नेपाल एपीएफ क्लब उपाधिनजिक पुगेको छ।
बिहीबार भएको महिलातर्फको पहिलो सेमिफाइनलमा आर्मीलाई ३–२ को सेटमा हराउँदै एपीएफ फाइनलमा पुगेको हो।
सुरुवातको दुई सेटमा पछि परेको एपीएफले उत्कृष्ट पुनरागमन गर्दै खेल जितेको हो।
एपीएफले पहिलो सेट २५–१९ र दोस्रो सेट २५–२० ले गुमाउँदै पछि परेको थियो।
तर तेस्रो सेटमा २५–१२ ले आफ्नो पक्षमा पार्दै उत्कृष्ट पुनरागमन गर्यो।
चौथो सेट पनि एपीएफले २५–१६ ले जित्यो। पाचौँ तथा अन्तिम सेटमा एपीएफले १५–१३ ले जित हासिल गर्दै उपाधि रक्षामा अघि बढेको हो।
एपीएफले उपाधिका लागि आजै हुने दोस्रो सेमिफाइनल विजेता टोलीसँग खेल्नेछ।
दोस्रो सेमिफाइनलमा चन्द्रागिरी नगरपालिका न्यु डायमन्ड र नेपाल पुलिस क्लब भिड्नेछन्।
प्रतियोगितामा आज पुरुषतर्फको समूह चरणको अन्तिम खेल हुनेछ।
यसअघि उद्घाटन खेलमा आयोजक गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबबीचको स्थगित खेल हुनेछ।
खराब लाइटका लागि खेलमा गण्डकीले आर्मीलाई २–१ ले पछि पारेको अवस्थामा रोकिएको थियो। तर आज सुरुबाटै खेल हुने आयोजकले जनाएको छ।
यो खेलको नतिजाले समूह एको विजेता र उपविजेता टोलीको टुंगो लाग्नेछ।
पुरुषतर्फ समूह बीबाट एपिएफ समूह विजेता र श्रीलंका आर्मी उपविजेता बन्दै सेमिफाइनल पुगिसकेका छन्।
समूह एकै हेल्प नेपाल स्पोट्र्स क्लब सेमिफाइनलमा पुगिसकेको छ।
Shares
प्रतिक्रिया