सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको पाँचौं प्रतियोगिता, सूर्य नेपाल च्यालेन्ज सोमबारदेखि रोयल नेपाल गल्फ क्लबमा सुरू हुँदैछ।
चार दिनसम्म चल्ने ७२ होलको प्रतियोगितामा ३१ प्रोफेसनल र ११ एमेच्योर खेलाडीले दाबेदारी प्रस्तुत गर्ने प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालका महासचिव दीपक आचार्यले जानकारी दिए। ३६ होलको समाप्तीमा कट लागू हुनेछ।
जहाँ उत्कृष्ट २१ खेलाडीले तेस्रो र चौथो दिनको लागि स्थान सुरक्षित गर्नेछन। एमेच्योर खेलाडीको हकमा पनि कट बनाउन उत्कृष्ट २१ भित्र पर्नुपर्नेछ।
कुल ५ लाख ७२ हजार २ सय ५० नगद पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले नगद १ लाख पुरस्कार प्राप्त गर्नेछ। दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमश ६७ हजार र ४८ हजार हात पार्नेछन।
यसैगरी चौथो हुनेलाई ४० हजार र पाँचौ हुनेलाई ३६ हजार प्रदान गरिनेछ। कट बनाउने २१ प्रोफेसनल गल्फरले नगद पुरस्कार प्राप्त गर्नेछन्।
प्रतियोगितालाई प्रतिस्पर्धामक बनाउनको लागि रोयल नेपाल गल्फ क्लबको कोर्सलाई पनि केहि अप्ठयारो बनाइएको छ। जसले गर्दा प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको छ।
तीन वटा रेकर्ड सहित सूर्य नेपाल वेस्टर्न ओपन जितेका भुवन नगरकोटी यो प्रतियोगिताको प्रमुख दाबेदार हुन्। यस्तै यो सिजनको सुरूवात सानदार गरेका दिनेश प्रजापतिसँगै रवि खड्का र जयराम श्रेष्ठले पनि उत्कृष्ट प्रदर्शन गर्ने अनुमान गरिएको छ।
प्रोफेसनल गल्फरहरूलाई युवा एमेच्योर तथा डिफेन्डिङ्ग च्याम्पियन सद्भाव आचार्यले कडा चुनौती दिनेछन्।
गत सिजन सबैभन्दा कम उमेरमा सूर्य नेपाल च्यालेन्ज जितेर इतिहास बनाएका सदभाव पनि उच्च फर्ममा रहेका छन्। उनी उपाधि रक्षा गर्ने कोशिशमा रहनेछन्।
Shares
प्रतिक्रिया