ad ad

खेल


टी-२० विश्वकपमा भारतको विजयी सुरुवात, कोहली १ रनमै आउट

टी-२० विश्वकपमा भारतको विजयी सुरुवात, कोहली १ रनमै आउट

नेपालखबर
जेठ २३, २०८१ बुधबार २३:१७, काठमाडौँ

कप्तान रोहित शर्माको अर्धशतकमा उपाधि दाबेदार भारतले अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी टी-२० विश्वकपमा विजयी सुरुवात गरेको छ। 

बुधबार राति भएको समूह एको खेलमा भारतले आयरल्यान्डमाथि ८ विकेटको फराकिलो जित निकालेको हो। 

आयरल्यान्डले दिएको ९७ रनको झिनो लक्ष्य भारतले १२.२ ओभरमा २  विकेटको क्षतिमा भेट्टायो। 
कप्तान रोहित शर्माले ५२ रन बनाउँदै रिटायर्ड हर्ट भए। 

उनको स्थानमा सूर्य कुमार यादव क्रिजमा आएका थिए। रोहितले ३६ बलमा ४ चौका र ३ छक्का मद्दतमा अर्धशतक पूरा गरेका थिए। 

भारतीय टोलीका पूर्वकप्तान विराट कोहली १ रनमा नै क्याच आउट भए। ५ बलको सामना गरेका विराट तेस्रो ओभरको चौथो बलमा मार्क अडाएरको बलमा क्याच आउट भए। 

सूर्य कुमार यादव २ रन बनाउँदा वेन ह्वाइटको बलमा क्याच आउट भए। ऋषभ पन्त ३६ र शिवम दुबे शून्य रनमा अविजित रहे। ऋषभले २६ बलमा ३ चौका र २ छक्का प्रहार गरे। 

त्यसअघि अमेरिकाको न्युयोर्कस्थित नसाउ काउन्टी इन्टरनेशनल क्रिकेट मैदानमा भारतले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको आयरल्यान्ड १६ ओभरमा ९६ रन बनाउँदा अलआउट भयो। 

आयरल्यान्डका लागि ग्यारेथ डिलानीले बनाएको २६ रन नै सर्वाधिक रह्यो।  जोस लिटी १४ रनमा बोल्ड आउट ए। कर्टीस क्याम्फर १२ रनमा क्याच आउट भए। लोर्कान टकर १० रनमा बोल्ड आउट भए। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

आयरल्यान्डलाई कम स्कोरमा रोक्न हार्दिक पाण्ड्याले ३ विकेट लिए। जसप्रित बुमराह र अर्शदीप सिंहले समान २ विकेट लिए। मोहम्मद सिराजले १ विकेट आफ्नो नाममा गरे।

जितसँगै समूह एमा रहेको भारत अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ। आयोजक अमेरिका दोस्रो स्थानमा छ। भारत र अमेरिकाको समान २ अंक भए पनि नेटरनरेटमा भारत अघि छ। पराजित क्यानडा र आयरल्यान्ड तेस्रो र चौथो स्थानमा छन्। 

यही समूहको अर्को खेलमा बिहीबार राति पाकिस्तानले आयोजक अमेरिकासँग खेल्दै छ। सो खेल राति सवा ९ बजे सुरु हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .