साविक विजेता अर्जेन्टिनाले कोपा अमेरिकामा विजय सुरुवात गरेको छ।
शुक्रबार बिहान भएको उद्घाटन खेलमा अर्जेन्टिनाले क्यानाडालाई २–० गोल अन्तरले पराजित गर्दै कोपा अमेरिकामा पहिलो जित दर्ता गरेको हो।
पहिलो पटक कोपा अमेरिका खेलेको क्यानडाले भने आफ्नो पहिलो भेटमा नै विश्व विजेता टोलीको सामना गर्नु परेकाे छ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा मात्र गोल सम्भव भयो। खेलको ४९ औँ मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए।
वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका लउतारो मार्टिनेजले खेलको ८८ औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे।
१५ पटक कोपा अमेरिकाको उपाधि उचालेको अर्जेन्टिनालाई यो पटक पनि उपाधि दाबेदार टोलीको रुपमा हेरिएको छ।
जितसँगै अर्जेन्टिना समूह ए को शीर्ष स्थानमा छ। पराजित क्यानडा पुछारमा छ। पेरु दोस्रो र चिली तेस्रो स्थानमा छ।
Shares
प्रतिक्रिया