जारी टी–२० विश्वकपअन्तर्गत दोस्रो सेमिफाइनलमा आज (बिहीबार) गुएनाको प्रोभिडेन्स स्टेडियममा भारत र इङ्ग्ल्यान्ड भिड्दै छन्।
तर गुएनामा अहिले पानी परिरहेको छ। त्यहाँ अहिले रातको ३ बजेको छ। त्यहाँको समयानुसार सेमिफाइनल खेल बिहान १०:३० बजे सुरु हुने छ।
खेलको समयमा पनि गुएनामा वर्षाको सम्भावना ७५ प्रतिशत छ भने त्यहाँ कुनै रिजर्भ डे छैन। वर्षाका कारण खेल हुन सकेन भने के हुन्छ?
खेल नभएमा भारत सुपर-८ मा समूहको शीर्ष स्थानमा रहेकाले सिधै फाइनलमा पुग्ने छ भने इङ्ल्यान्ड आफ्नो समूहमा दोस्रो स्थानमा रहेकाले पराजित हुनेछ।
सेमिफाइनलका लागि रिजर्भ डे नभए पनि दुवै टिमलाई दिएको करिब साढे ४ घण्टा समय जोड्दा खेल साँझ ६ देखि ७ बजेसम्ममा पूरा हुनुपर्ने छ। यसको अर्थ खेलका लागि दिनभर कुर्न सकिने छ। बीचबीचमा वर्षा रोकियो भने पनि खेल कुनै न कुनै रूपमा टुंगिन सक्छ।
कुनै पनि टी-२० खेलमा वर्षा भएमा डीएलएस मेथडको प्रयोग गरेर नतिजा निकालिन्छ। यस्तो अवस्थामा कम्तीमा ५/५ ओभरको खेल हुनुपर्ने नियम छ। तर आईसीसीका अनुसार टी-२० विश्वकपको सेमिफाइनल र फाइनलमा डीएलएसको प्रयोग गर्न कम्तीमा १०/१० ओभरको खेल हुनु पर्नेछ।
अर्थात् आजको खेल कम्तीमा १०/१० ओभरको हुनैपर्ने छ। एक इनिङको १० ओभर फाल्न ४५ देखि ५५ मिनेट समय लाग्छ। यस्तोमा १०/१० ओभरको खेल पूरा हुन २ घण्टा पर्याप्त हुन्छ। त्यसैले दिनभरमा २ घण्टा खेल हुन पाए पनि सेमिफाइनल पूरा हुने छ।
मौसम वेबसाइट एक्यूवेदरका अनुसार गुएनामा आज दिनभर पानी पर्ने सम्भवना ७० प्रतिशत छ। त्यहाँ बिहान ९ बजे ४० प्रतिशत, १० बजे ६६ प्रतिशत , ११ बजे ७५ प्रतिशत तथा १२ बजे ५० प्रतिशत वर्षाको सम्भावना छ।
अर्थात् खेल सुरु हुने समयमा वर्षाको सम्भावना छ। तर दिन ढल्दै जाँदा वर्षा कम हुने छ। अर्थात् १ बजेदेखि वर्षाको सम्भावना ३४ देखि ४० प्रतिशतसम्म छ। तर ५० प्रतिशतभन्दा तल वर्षाको सम्भावना देखिए वर्षा नहुन पनि सक्छ।
Shares
प्रतिक्रिया