ad ad

खेल


काभा यू-२० भलिबलको उपाधि जित्ने दाउमा नेपाली टोली (भिडिओ)


लक्ष्मी जि.सी
असार २६ , काठमाडौँ

माल्दिभ्सको मालेमा साउन पहिलो साता काभा यू-२० महिला भलिबल च्याम्पियनसिप हुँदै छ। सोही प्रतियोगिताका लागि नेपाली महिला भलिबल टोली यतिबेला बन्द प्रशिक्षणमा छ। 

नेपालले उमेर समूहमा पहिलोपटक ठूलो प्रतियोगितामा सहभागिता जनाउन लागेको हो। काभाका लागि नेपाली टोली अर्को साता त्यसतर्फ प्रस्थान गर्नेछ। छोटो समयको प्रशिक्षणका बाबजुद नेपाली टोली उत्साहित छ। 

काभाका लागि यही महिना काठमाडौँमा सम्पन्न प्रथम सहाना प्रधान स्मृति यू-१९ पुरुष तथा महिला भलिबल च्याम्पियनबाट खेलाडी छनोट गर्दै नेपाली टोली तयार पारिएको छ। 

भिडिओ

 

काभाका लागि नेपाली टोलीमा परेका खेलाडीमध्ये बागमती प्रदेशका सबैभन्दा धेरै छन्। न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबका ६ जनाले टोलीमा स्थान बनाएका छन्।

त्यसबाहेक एभरेस्ट भलिबल क्लबबाट खेल्दै आएका लुम्बिनी प्रदेशका ४ जना, नेपाल पुलिस क्लब तथा त्रिभुवन आर्मी क्लबका समान एक खेलाडीले स्थान बनाएका छन्। 

फरक प्रशिक्षण, नयाँ अवसर 
छोटो समयमा धेरै गर्नुपर्ने भएकाले आफूहरुले मिहिनेत गरिरहेको टोलीकी ओपन स्पाइकर तथा कप्तान जेनिसा विश्वकर्मा बताउँछिन्। 

‘पहिलो पटक यू–२० खेल्न लागेका छौँ, यो हाम्रो लागि ठूलो अवसर हो। यसलाई सदुपयोग गर्ने प्रयासमा छौँ’, उनी भन्छिन्। 

अन्य क्लबका खेलाडीहरु भएकाले सुरुमा टिममा केही गाह्रो भएको विश्वकर्माको अनुभव छ। तर अहिले विस्तारै मिलिरहेको उनी बताउँछिन्। 

‘सधै खेलेको टोली र नयाँ खेलाडीसँग केही गाह्रो हुने रहेछ’, जेनिसा भन्छिन्।  

व्यक्तिगत रुपमा पनि काभालाई ठूलो अवसरको रुपमा उनले लिएकी छिन्। 

उनलाई उचाइ (हाइट)को कारण सिनियर टोलीमा खेल्न पाउँछु कि पाउँदिन भन्ने दुविधा छ। तर यो पटक टोलीमा पर्दा खुसी लागेको उनी सुनाउँछिन्। 

उनी भन्छिन्, ‘एकपटक उमेर समूहमा नै भए पनि नेपालको जर्सी लगाउन पाउनेछु।’ 

काभाको सिनियर च्याम्पियनसिपमा दुईपटक स्वर्ण जितिसकेको नेपालका लागि उमेर समूहमा पनि उपाधिका लागि नयाँ अवसर हो। 

नेपालले साउन ३ गते श्रीलंकाविरुद्ध खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ। काभा यु–२० महिला भलिबल च्याम्पियनसिप साउन ३ देखि ८ गतेसम्म मालेमा हुनेछ। दोस्रो खेलमा साउन ४ गते किर्गिस्तान र अन्तिम खेलमा माल्दिभ्ससँग ५ गते खेल्नेछ। 

च्याम्पियनसिपमा आयोजक माल्दिभ्ससहित नेपाल, किर्गिस्तान र श्रीलंका छन्। राउन्ड रोविन लिगपछि लिगको शीर्ष र चौथो स्थानमा रहने टोली र दोस्रो र तेस्रो स्थानमा रहने टोलीले सेमिफाइनल खेल्नेछन्। यसको विजेताले फाइनल खेल्नेछ। 

उमेर समूहमा पहिलो अन्तर्राष्ट्रिय अनुभव
पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन लागेको नेपालको युवा टोली उत्साहित छ। 

फरक क्लबबाट खेल्दै आएका उनीहरुलाई सुरुमा टोलीमा केही असहज भए पनि अहिले टिम कम्बिनेसन मिल्दै गएको खेलाडीको अनुभव छ। 

टोलीकी अर्की सदस्य निशा चौधरीले भन्छिन्, ‘हामी खेलका लागि उत्साहित छौँ। उमेर समूहमा खेल्न पाउँदा खुसी लागेको छ। सुरुमा गाह्रो भएको थियो। आफ्नो उत्कृष्टता दिने हो। पहिला ओपन स्पाइकर थिएँ। अहिले ब्लकरको रुपमा खेल्दै छु।’ 

निशाले क्लब र यहाँको प्रशिक्षणमा फरक अनुभव गरेकी छिन्। पहिलेभन्दा अहिलेको प्रशिक्षण कडा रहेको उनी बताउँछिन्। 

अहिले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सिनियर र जुनियर दुवै टोलीले प्रशिक्षण गरिरहेका छन्। हलको अभावमा महिला टोली एक समय मात्र अभ्यासको भर पर्दै आएको छ। 

गण्डकी प्रदेश तथा नेपाल पुलिस क्लबकी आशिका क्षेत्रीले उमेर समूहमा नै भए पनि राष्ट्रिय टोलीको जर्सी लगाउन पाउँदा उत्साहित रहेको सुनाइन्। 

‘सिभिलभन्दा विभागमा र त्यहाँभन्दा यहाँको प्रशिक्षण फरक हुने रहेछ’, उनले भनिन्, ‘जस्तै टोली भए पनि हामी नआत्तिईकन सकेको राम्रो खेल्नेछौँ।’ 

सुुदूरपश्चिमकी स्नेहा ठगुन्ना पनि टोलीको तयारी राम्रो भएकाले स्वर्णपदकको आशा गरेको सुनाउँछिन्। 

‘सुरुमा फरक सबै जना प्रदेशको हुँदा केही गाह्रो भएको थियो तर अहिले सजिलो भएको छ। प्रदेशमा जस्तो प्रशिक्षण नहुने रहेछ यहाँ धेरै फरक हुने रहेछ’, उनले थपिन्, ‘उमेर समूहमा पनि यस्तो खेल हुन्छ भन्ने थाहा थिएन। नेपालको जर्सी लगाउने भन्ने कुराले मसँगै टोली नै उत्साहित छौँ।’

स्वर्णपदकको आशा 
महिला टोलीको मुख्य प्रशिक्षणको जिम्मेवारी न्यु डायमन्ड भलिबल क्लबका कुमार राईले पाएका छन्। 

महिला भलिबल खेलाडी उत्पादनका लागि राई अब्बल प्रशिक्षकका रुपमा चिनिन्छन्। 

उनले भने, ‘पहिलो पटक मौका पाएका छौँ। भलिबल संघले जसरी वातावरण तयार पारेको छ त्यसरी नै स्वर्णपदक ल्याएर भलिबल समर्थकलाई खुसी दिनेछौँ।’ 

सिनियर टोलीमा नेपालले श्रीलंका र कीर्गिस्तानलाई हराइसकेको छ। त्यसैले उमेर समूहमा पनि उनीहरुलाई हराउने रणनीतिमा युवा टोली छ। 

छोटो समयको तयारीका कारण टोलीमा केही समस्या देखिएको अनुभव प्रशिक्षक राईले गरेका छन्। 

उनले भने, ‘टिम सेटिङको लागि समय अलिक पुगेन पहिला नै प्रशिक्षण भएको भए टोली अझै राम्रो हुन्थ्यो। तर पनि स्वर्णपदक जित्नेछौँ भन्ने छ। खेलाडीहरु पनि उत्साहित छन्।’

एकै ठाउँबाट खेलेका ६ जना र अन्य स्मार्ट खेलाडी भएकाले सब्स्टिच्युट राम्रो भएकाले पनि स्वर्ण जित्ने विश्वास प्रशिक्षक राईको छ। 

संघले टोलीको सहायक प्रशिक्षकमा एभरेस्ट भलिबल क्लबका अर्जुन घिमिरेलाई नियुक्त गरेको छ। व्यवस्थापकमा भने जुनु पुन छिन्। 

भलिबल नेपालको राष्ट्रिय खेल भए पनि उमेर समूहमा हुने प्रतियोगिता भने शून्य छ। त्यसैले पनि यो च्याम्पियनसिप नेपाली टोलीका लागि नयाँ अवसर हो। 

यस्तो छ अन्तिम टोली
सलिना बुढा मगर, जेनिशा विश्वकर्मा, एलिसा मानन्धर, निशा महर, भावना तामाङ, एन्जिला प्रधान, निशा चौधरी, आरती चौधरी, मिना सुनार, अनुषा चौधरी, स्नेहा ठगुन्ना, आशिका क्षेत्री 

मुख्य प्रशिक्षक : कुमार राई
सहायक प्रशिक्षक : अर्जुन घिमिरे
व्यवस्थापक : जुनु पुन

असार २६, २०८१ बुधबार ८:८

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .