एपीएफ फुटबल क्लब र नेपाल पुलिस क्लबले एन्फा महिला लिगमा बराबरी गर्दै अंक बाँडेका छन्।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा मंगलबारको दोस्रो खेलमा एपीएफ र पुलिस क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्।
खेलमा एपीएफले केही दबाब बनाएपनि गोल गर्न भने असफल रह्यो। खेलमा फरवार्ड सावित्राको अभाव स्पष्ट देखिएको थियो।
महिला लिगको यो सिजन एपीएफमा स्टार फरवार्ड सावित्रा भण्डारी साम्बा र पहिलो रोजाइकी गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बा अनुपस्थित छन्।
साम्बा फ्रान्सको शीर्ष लिगमा लगातार दोस्रो सिजन खेल्न लागेकी हुन्। एञ्जिला भने ग्रिसको वुमेन्स सुपर लिग क्लब निस एट्रोमिटोउमा आवद्द भएपछि लिगमा टोलीमा हुनेछैनन्।
खेलको प्लेयर अफ दि म्याच नेपाल पुलिस क्लबकी डिफेन्डर समिक्षा घिमिरे बनिन्। उनले ५ हजार रुपैयाँ प्राप्त गरिन्।
जारी लिगमा गोलरहित बराबरी भएको यो पहिलो खेल हो। महिला लिगमा मंगलबारका दुवै खेल गोलरहित बराबरीमा सकियो। आजै भएको पहिलो खेलमा चन्द्रपुर नगरपालिका र कर्णाली प्रदेशले १–१ को बराबरी गर्दै अंक बाँडेका थिए।
लिगमा बुधबार ए डिभिजन क्लब संकटा र त्रिभुवन आर्मी क्लब भिड्नेछन्।
Shares
प्रतिक्रिया