सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापाले मधेश प्रदेश सरकारले खेलकुदको विकासमा सहयोग नगरेको गुनासो गरेका छन्।
बागमती युवा क्लबले यही माघ २५ गतेदेखि आयोजना गर्न लागेको सातौं राजर्षि जनक कप फुटबल प्रतियोगिको सन्दर्भमा आइतबार बागमतीमा आयोजित पत्रकार सम्मेलनमा मेयर थापाले प्रदेश सरकारबाट खेलकुद उपेक्षित बनेको गुनासो गरेका हुन्।
मेयर थापाले बागमती युवा क्लबले राजर्षि जनक कपको सातौं संस्करण आयोजना गर्न लाग्दासमेत प्रदेश सरकारले कुनै सहयोग नगरेको गुनासो गरे।
आयोजक बागमती युवा क्लबका अध्यक्ष किस्मत मैनालीले प्रतियोगिताको सातौं संस्करणमा झण्डै एक करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको जानकारी दिए।
प्रतियोगितामा आयोजक बागमती युवा क्लबसहित १२ टिमको सहभागिता रहने छ।
प्रतियोगितामा नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, संकटा युवा क्लब, मछिन्द्र फुटबल क्लब, जावलाखेल युवा क्लब, नव जनजागृति युवा क्लब सीमरा, चर्च वाइज युनाइटेड ललितपुर, धरान फुटबल क्लब धरान, सुदूरपश्चिम - ११ धनगढी, युनाइटेड क्लब दार्जिलिङ लगायतका फुटबल टिम सहभागी हुँदै छन्।
प्रतियोगिताको विजेता टिमले १० लाख र उपविजेताले ५ लाख पुरस्कार प्राप्त गर्ने छन्। आयोजक बागमती युवा क्लब यसै वर्ष सी डिभिजनमा उक्लिएको छ।
Shares
प्रतिक्रिया