ad ad

खेल


राजर्षि जनक कप : दुईपटकको विजेता पिप्ले क्लब क्वार्टरफाइनलमा जावलाखेलसँग हार्‍यो

राजर्षि जनक कप : दुईपटकको विजेता पिप्ले क्लब क्वार्टरफाइनलमा जावलाखेलसँग हार्‍यो

नेपालखबर
फागुन १, २०७९ सोमबार ८:३५, सर्लाही

सर्लाहीको बागमतीमा जारी सातौँ राजर्षि जनक कप फुटबल प्रतियोगिताअन्तर्गत आइतबार भएको पहिलो क्वार्टरफाइनल खेलमा साविक विजेता पिप्ले युवा क्लब (हेटौँडा), जावलाखेल युवा क्लब (ललितपुर) सँग हारेको छ। 

प्रतियोगिताको पाँचौँ र छैटौँ संस्करणको उपाधि जितेको पिप्ले क्वार्टरफाइनलमा जावलाखेलसँग ३-२ गोल अन्तरले हारेको हो। 

जितसँगै जावलाखेल सातौँ राजर्षि जनक कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। 

बागमतीको कर्मैयास्थित सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा भएको खेलको १५औँ मिनेटमा विशाल तामाङको गोलबाट जावलाखेलले अग्रता लिएको थियो। 

पहिलो हाफसम्म १–० ले पछि परेको पिप्लेले खेलको ६२औँ मिनेटमा एक गोल गरेर खेललाई बराबरीमा फर्कायो। 

पिप्लेका लागि विश्व लामाले पहिलो गोल गरे। त्यसलगत्तै ६८औँ मिनेटमा जावलाखेलका विनोद केसीले दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे।

खेलको इन्ज्युरी समयमा जावलाखेलका हिसुब थपलियाले तेस्रो गोल गरे। लगत्तै पिप्लेका खेलाडीलाई जावलाखेलका खेलाडीले डिबक्स नजिकै लडाएपछि पिप्लेले फ्रिकिक पायो। उक्त फ्रिकिकलाई सदुपयोग गर्दै पिप्लेका डोना थापाले आफ्नो टिमका लागि दोस्रो गोल गरे पनि पिप्ले हारबाट जोगिन सकेन। 

आइतबारको खेलमा म्यान अफ दि म्याच जावलाखेलका कप्तान सिमान्त थापा भए।

प्रतियोगिता अन्तर्गत आज (सोमबार) हुने दोस्रो क्वार्टरफाइनल खेल सुदूरपश्चिम–११ धनगढी र ए डिभिजनको नवप्रवेशी चर्च ब्वाइज फुटबल क्लब ललितपुरबीच हुनेछ।

बागमती युवा क्लब र बागमती नगरपालिकाको नगर खेलकुद विकास समितिको संयुक्त आयोजनामा जारी प्रतियोगिताका विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .