ad ad

खेल


रोनाल्डोको काँधमा विश्वकपमा ओरालो लागेको पोर्चुगलको यात्रा

रोनाल्डोको काँधमा विश्वकपमा ओरालो लागेको पोर्चुगलको यात्रा

नेपालखबर
कात्तिक २६, २०७९ शनिबार १४:२९, काठमाडौँ

३७ वर्षीय क्रिस्टियानो रोनाल्डोको कप्तानीमा पोर्चुगल अर्को साता एसियन देश कतार आउँदै छ। ५ पटकका बालोन डे ओर विजेताको नेतृत्वमा पोर्चुगल विश्वकप जित्ने अन्तिम कसरतमा हुनेछ। 

विश्वकपमा खराब इतिहास भएपनि सन् २०१६ मा युरोकप जितेपछि पोर्चुगल एकाएक प्रमुख टोलीका रुपमा उदायो। २ वर्षपछि रुसमा भएको विश्वकपपमा भने पोर्चुगलको पुरानै नियति दोहोरिन गयो। अन्तिम १६ बाट पोर्चुगल पराजित हुन पुग्यो। तर अर्को वर्ष पोर्चुगल लयमा देखियो। सन् २०१९ को नेसन्स लिग पनि जितेपछि फुटबलमा पोर्चुगललाई नयाँ शक्ती राष्ट्रको रुपमा हेर्न थालिएको हो। 

रोनाल्डोको डेब्यू विश्वकप २००६ मा जति सुखद रह्यो, त्यसपछिका विश्वकप पोर्चुगलका लागि सम्झन लायक छैन। त्यो विश्वकपमा सेमिफाइनलसम्म पुग्नु नै अहिलेसम्मकै ठूलो सफलता हो। त्यतिबेला फाइनल पुग्ने पोर्चुगलको सपना फ्रान्सले ध्वस्त बनाइदियो। 

त्यसपछिका विश्वकपमा नियमित छानिँदै आएको पोर्चुगललाई समूह चरणबाट माथि उठ्नै हम्मेहम्मे पर्न थाल्यो। समूह चरण पार गरे पनि अन्तिम १६ बाट अगाडि जान सकेन। 

त्यसअघि सन् १९६६ को विश्वकपमा सेमिफाइनलसम्म पुगेको थियो। सन् १९३० बाट विश्वकप सुरु भए पनि पोर्चुगलले भने सुरुवाती ७ संस्करणमा सहभागिता नै जनाएन। १९६६ को पहिलो सहभागिता नै पोर्चुगलको सानदार रह्यो। पोर्चुगलका मारियो कोलुना र युसेबियो डा सिल्भाको नेतृत्वको पुस्ताले विश्वकपमा सम्झना लायक छाप छाडेका थिए। तर त्यसयताका खेलाडीले त्यही लयलाई समाउन सकेनन्। 

त्यसपछिका ४ संस्करणमा भाग नलिएको पोर्चुगलले १९८६ मा सहभागिता जनायो। त्यतिबेला समूह चरणभन्दा अगाडि बढ्न सकेन। फेरि त्यसपछिका ३ विश्वकप खेलेन। 

एकैचोटि सन् २००२ मा विश्वकपमा छनोट भएको पोर्चुगल पहिलो चरणबाटै बाहिरियो। त्यसपछिका विश्वकपमा भने पोर्चुगल नियमित छनोट हुँदै आएको छ। 

त्यसपछि २००६ मा सेमिफाइनल सम्म पुग्यो। त्यही विश्वकपमा क्रिस्टियानो रोनाल्डोले डेब्यु गरेका थिए। उनको डेब्युमा पोर्चुगल दोस्रोपटक सेमिफाइनल पुग्यो। त्यतिबेला सेमिफाइनलमा फ्रान्ससँग १–० ले पराजित पोर्चुगलले तेस्रो स्थानका लागि जर्मनीसँग खेलेको थियो।

जर्मनीसँगको खेल ३–१ ले गुमायो। त्यो विश्वकप फ्रान्सलाई हराउँदै इटालीले जितेको थियो।

त्यसयताका विश्वकप रोनाल्डोले लगातार खेल्दै आएका छन्। तर उनको टोली अन्तिम १६ बाट अगाडि बढ्न सकेको छैन। पछिल्लो समय पोर्चुगलका लागि समूह चरण पार गर्न नै मुस्किल पर्दै आइरहेको छ। सन् २०१० र २०१८ मा समूह चरण पार गरे पनि अन्तिम १६ बाट अगाडी बढ्न सकेन। सन् २०१४ मा समूह चरणमै रोकियो। 

२०१६ को पोर्चुगलको छाप विश्व फुटबलमा अहिले पनि ताजै छ। उमेर ढल्किँदै गएका रोनाल्डोसँग आज विश्वकै उत्कृष्ट टिम छ। अनुभवीमा ३९ वर्षीय पेपेदेखि उदाउँदा २३ वर्षीय फरवार्ड फेलिक्ससम्म पोर्चुगलको टिममा छन्।

यसपटक पोर्चुगलको यात्रा निकै अगाडि बढ्ने अनुमानहरु आइरहेका छन्। पोर्चुगलले विश्वकपको उपाधि नै जित्न सक्ने अनुमान गरिएको छ। विश्वकप खेल्ने पोर्चुगलको टिममा विश्वका ठूला क्लबमा खेलिरहेका स्टार समेटिएका छन्। केही खेलाडीको चर्चा यहाँ गरिएको छ-

डिफेन्डरः जोआओ क्यान्सेलो


विश्वकपका लागि प्रशिक्षक फर्नान्डो सान्तोसले घोषणा गरेको टोलीमा क्यान्सेलो पनि समेटिएका छन्। फुलब्याक र वीङ ब्याक पोजिसनमा खेल्न सक्ने क्यानसेलो अहिलेका मुख्य डिफेन्डर हुन्। उनीमाथि ठूलाक्लवको नजर छ। 

हाल म्यानचेस्टर सिटीका डिफेन्डर क्यान्सेलोे सिर्जनशिल, क्षमतावान् र सशक्त मानिन्छन्। बल होल्ड गरेर खेल्न सक्ने क्यान्सेलोको रोजाइ भने दायाँ डिफेन्डर हो। उनी बेन्फिकाबाट भ्यालेन्सिया, इन्टर मिलान र युभेन्टस हुँदै सिटी पुगेका हुन्।

डिफेन्डरः रुबेन डायस


पोर्चुगलको विश्वकप खेल्ने टोलीमा म्यानचेस्टर सिटीकै अर्का स्टार रुबेन डायस छन्। बेन्फिकाका उत्पादन रुबेन डायस पछिल्लो समय म्यानचेष्टर सिटीबाट व्यवसायीक फुटबल खेल्छन्। सन् २०२० मा सिटी पुगेका रुबेनले २०१८ मा पोर्चुगलको राष्ट्रिय टोलीमा स्थान बनाएका थिए। त्यसयताका नियमति सदस्य बेनले ३९ क्याप जित्दा २ गोल गरेका छन्। उनी यस विश्वकपका लागि पोर्चुगलको टोलीका आकर्षण हुन्। 

मिडफिल्डरः ब्रुनो फर्नान्डिस 


ब्रुनो फर्नान्डिस क्रिस्टियानो रोनाल्डोसँगै म्यानचेस्टर युनाइटेडबाट व्यावसायिक फुटबल खेल्छन्। आक्रमक मिडफिल्डर फर्नान्डिस  स्पोर्टिङ क्लब डे पोर्चुगलबाट म्यानचेस्टर युनाइटेड पुगेका हुन्। प्रिमियर लिगमा पछिल्लो समय आफुलाई स्थापित गर्न उनी संर्घषरत छन्। 
फर्नान्डिस आक्रमण र गोलका लागि अवसर सिर्जना गर्न उत्कृष्ट मानिन्छ। सँगै एउटै टिमबाट खेल्ने भएकाले पनि रानाल्डो र उनको जोडि यो विश्वकपमा जम्ने देखिन्छ। 

मिडफिल्डरः बर्नान्डो सिल्भा 


पछिल्लो पटक खेलाडी सरुवा बजारमा निक्कै चर्चामा आएका मिडफिल्डर हुन् बर्नान्डो सिल्भा। म्यानच्स्टर सिटीमा आवद्ध सिल्भा बार्सिलोना र पीएसजी जस्ता ठूला क्लबको रोजाइमा परे। 

भलै उनको अन्तिम समयमा पुगेर पनि बार्सिलोना सरुवाको चाहना पूरा हुन पाएन। तर उनी खेल शैलीकै कारण अहिले पनि ठूला क्लबको तानातानमा छन्। 

यो पटकको विश्वकपमा धेरैको नजर सिल्भामाथि हुनेछ। लेफ्ट फुटेट प्लेमेकर सिल्भा अट्याकिङ गेम खेल्छन्। गोल गर्नमा खप्पिस सिल्भा गोलका लागि पनि उतिकै अवसर सिर्जना गरिरहेका छन्।

फरवार्डः जोआओ फेलिक्स


२३ वर्षीय फरवार्ड जोआओ फेलिक्स पछिल्लो समय स्पेनिस क्लब एथ्लेटिको मड्रिडबाट खेल्छन्। अघिल्लो सिजनको लिग एथ्लेटिको मड्रिडले जित्दा उनी टोलीको प्रमुख हिस्सा थिए। फेलिक्स रचनात्मक खेल र ड्रिबिलिङका लागि परिचित छन्।

उनी विङ्गर र आक्रमक मिडफिल्डमा पनि खेल्न सक्छन्। उनी सन् २०१५ मा बेन्फिका जानुअघि पोर्टोको युवा टोलीमा थिए। एक वर्ष वैकल्पिक खेलाडीमा बिताएका उनी १७ वर्षको उमेरमै सन् २०१८ मा पहिलो टिममा बढुवा भए। 

क्लबलाई एउटा उपाधि जिताउन मद्दत गरेका उनले उत्कृष्ट युवा खेलाडीको अवार्ड पाए। एथ्लेटिको मड्रिडले ७ वर्ष लामो उपाधिको खडेरी तोड्दा उनी त्यसको हिस्सा थिए। पोर्चुगलले २०१९ मा नेसन्स लिग जित्दा पनि फेलिक्स टोलीको सदस्य थिए।  

कतार विश्वकपमा पाेर्चुगलको गोलपोष्ट डिओगो कोस्टा, रुई प्याट्रिसियो, जोसे साले सम्हाल्नेछन्। टोलीको रक्षापंक्तिमा डिओगो डालोट, डानिलो परेरा, जोआओ क्यान्सेलो, एन्टोनियो सिल्भा, पेपे, रुबेन डायस, नुनो मेन्डेस, राफेल गुरेइरोले सम्हाल्दा मध्यपंक्तीमा विलियम कार्भाल्हो, रुबेन नेभ्स, ओटाभियो मोन्टेइरो, बर्नान्डो सिल्भा, म्याथियस नुनेस, ब्रुनो फर्नान्डिस, जोओ मारियो, जोओ पाल्हिन्हा, भिटिन्हा रहनेछन्। 

टोलीको आक्रमणको जिम्मा भने आन्द्रे सिल्भा, रिकार्डो होर्टा, क्रिस्टियानो रोनाल्डो, जोआओ फेलिक्स, राफेल लिओ, गोन्कालो रामोसलाई दिइएको छ। 

समूह एच मा रहेको पोर्चुगलले समुह चरणमा घाना, उरुग्वे र दक्षिण कोरियासँग खेल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .