फुटबलको महाकुम्भ मानिने विश्वकप खेल्नु हरेक फुटबल खेलाडीको सपना हुन्छ।
एकै परिवारबाट दुईजनाले विश्वकप खेल्ने अवसर निकै कमलाई मात्रै जुर्छ। यद्यपि यसपटक हुने कतार विश्वकपमा दुई दाजुभाइ फरक फरक देशको प्रतिनिधित्व गर्दै विश्वकपमा सहभागी हुँदै छन्।
केही अघिसम्म विलियम्स परिवारले सहोदर दाजुभाइ अलग मुलुकको प्रतिनिधित्व गर्दै विश्वकपमा सहभागी हुने भनेर सोचको पनि थिएन।
यद्यपि कतार विश्वकपको मिति नजिकिँदै गर्दा यो परिवारमा उत्साह पनि बढ्दै गएको छ।
एक वर्षअघि विलियम्स परिवारले आफ्ना कुनै छोरा विश्वकपमा सहभागी हुन्छन् भन्ने सोचेको थिएन।
तर, विलियम्स परिवारका दुई दाजुभाइ नै यो विश्वकपमा सहभागी हुने भएका छन्। यसरी विश्वकपमा पुग्न पाउने दाजुभाइ इनाकी र निको विलियम्स हुन्।
इनाकी स्पेनिस क्लब एथ्लेटिक बिल्बाओका स्टार फरवार्ड हुन्। उनले टोलीमा प्रभावशाली प्रदर्शन गर्दै आएका छन्। उनले लगातार २०३ खेल खेलेर स्पेनिस लिगमा कीर्तिमान पनि बनाएका छन्।
क्लब फुटबलमा कीर्तिमान बनाए पनि उनी सन् २०१६ देखि स्पेनको टोलीमा परेका थिएनन्।
स्पेनमा जन्मिएका इनाकी पहिलो पटक घानाबाट विश्वकप खेल्ने तयारीमा छन्। सन् २०१५ देखि १७ सम्म स्पेनको यू–२१ टोलीमा रहेका इनाकीले सन् २०१६ मा त्यहीँको राष्ट्रिय टोलीबाट खेलेका थिए।
इनाकीका भाइ निको विलियम्स स्पेनबाटै यसपटकको विश्वकपमा खेल्नेछन्। निकोले सन् २०१० मा स्पेनको यू–१८ र २०२१ मा यू–२१ बाट खेलिसकेका छन्।
यसअघि दुवै दाजुभाइले एउटै क्लबबाट खेले पनि विश्वकपमा फरक देशको प्रतिनिधित्व गर्दै कतार पुग्नेछन्।
स्पेनमा जन्मिए पनि इनाकीले आफ्नो जन्म भएको देशबाट आफ्नो आमाबुवाको देशमा राष्ट्रियता परिवर्तन गरे।
इनाकीले आफ्नो राष्ट्रियता परिवर्तन गर्दै घानाबाट दुई खेल खेलिसकेका छन्। सेप्टेम्बरमा निकारागुआविरुद्ध ‘ब्ल्याक स्टार्स’का लागि डेब्यू गरेका उनले ब्राजिलविरुद्ध खेलिसकेका छन्।
निको पनि सेप्टेम्बरमा युईएफ नेसन्स लिगमा आफ्नो नाम आएपछि पहिलोपटक कतार जाने तयारीमा छन्।
निकोले स्विट्जरल्याण्डविरुद्धको खेलमा डेब्यू गरेका थिए। विलियम्सका दुई भाइहरु विश्वकपमा पहिलो बल छुने यात्रामा मात्र हैन एकेडेमीमा पनि सँगै थिए। उनीहरुले एथ्लेटिको एकेडेमीमा सँगै थिए।
सन्तानका लागि मरुभूमिको रापमा सपनाको पाइला
विलियम्स दाजुभाइको जन्म हुनुअघि नै उनीहरुका आमाबाबु मारिया र फेलिक्सले घानादेखि मेलिलाको स्पेनी एन्क्लेभसम्म ४ हजार किलोमिटरको कठिन यात्रा गरेका थिए। यो यात्रा सजिलो थिएन।
यो यात्राका क्रममा कहिले भिडले भरिएको ट्रकको पछाडि बसे भने कहिले ४०/५० डिग्री सेल्सियस तापक्रममा सहारा मरुभूमिमा पैदल हिँडे।
उक्त यात्राको डोब अझै पनि मेटिइसकेको छैन। विलियम्स दाजुभाइका बुबा फेलिक्सको खुट्टाको पैतालामा लागेको चोट अझै पनि निको भइसकेको छैन। उनी अझै पनि राम्रोसँग हिँड्न सक्दैनन्।
घानाबाट स्पेनसम्मको कठिन यात्राका क्रममा मारिया गर्भवती थिइन्। मेलिला पुगेपछि अवैधरुपमा स्पेन प्रवेश गरेको भन्दै दुवै दम्पत्ति पक्राउ परे।
यद्यपि उनीहरुले स्पेनमा राजनीतिक शरण पाए। त्यसपछि भने उनीहरु बिल्बाओ प्रस्थान गरेका थिए। त्यही यात्रामा इनाकीको जन्म भएको थियो। इनाकीको नाम पनि विलियम्स परिवारलाई सहयोग गर्ने पुजारीको नामबाट राखिएको थियो।
‘मेरो आमाबुवाको कथा सुन्दा उनीहरूले हाम्रो लागि बलिदान दिएका सबै कुरा फिर्ता दिन अझ कडा मेहनत गर्न चाहन्छु। मैले उनीहरूको गुन कहिल्यै तिर्न सकिनँ', इनाकीले एक अन्तर्वातामा समेत भनेका थिए, 'उनीहरुले आफूलाई जोखिममा राखेर हाम्रो उज्वल भविष्यको लागि बलिदान दिए तर मैले उनीहरुको लागि राम्रो संसार दिन सकिनँ।’
साकार सपना
स्पेन आएपछि विलियम्स परिवार बिल्बाओनजिकैको शहर पाम्प्लोनामा बसोबास गर्न थाल्यो। त्यसको आठ वर्षपछि निकोको जन्मिए।
फेलिक्सले आफ्नो धेरैजसो समय विदेशमा गएर काम गरेर खर्चिए। यस्तोमा भाइलाई स्कूल लैजाने, फुटबल अभ्यास गर्ने र खाजा तयार गर्ने जस्ता सबै कामको अभिभारा इनाकीको काँधमा थियो।
सन् २०१३ मा इनाकीले एथ्लेटिको बिल्बाओमा सम्झौता गरे। त्यतिबेला ११ वर्ष टेकेका निकोले पनि दाजुका पाइला पछ्याउँदै त्यही क्लबको युवा टोलीमा सामेल भए।
इनाकीले सन् २०१४ मा एथलेटिको बिल्बाओमा डेब्यु गरे। त्यो सिजनमा एथ्लेटिक क्लब कोपा डेल रेको फाइनलसम्म पुग्यो। उनले दुईपटक स्पेनिस सुपर कोपा जितेका छन्। उनले २०२१ मा बार्सिलोनाविरुद्धको फाइनलमा विजयी गोलसमेत गरेका थिए।
विलियम्स परिवारको सपना त्यतिबेला साकार भयो जब इनाकीको पदचाप पछ्याउँदै निको पनि फुटबलमा नै लागे। निकोले पनि एथलेटिकमा डेब्यु गरे।
उनी रियल भालाडोलिड विरुद्ध खेल्न मैदान उत्रे। त्यसको १० मिनेटपछि इनाकी पनि बेन्चबाट मैदानमा उत्रिएर उनीहरुसँगै सामेल भए।
निकोले सुपर कोपाको सेमिफाइनलमा विजयी गोल गरेपछि आमा मारियाले स्विमिङ पुलमा हाम फालेर खुशी मनाएकी थिइन्।
एक अन्तवार्तामा उनले भनेकी थिइन्, ‘मलाई उनीहरू दुवैप्रति गर्व लाग्छ। फुटबलरको रूपमा यो उपलब्धि हासिल गर्न धेरै गाह्रो छ। १ सयमध्ये पाँच जनाले मात्रै यो उपलब्धि हात पार्न सक्छन्। यस्तोमा दुई दाजुभाइ एउटै टोलीमा हुनु कति खुसीको कुरा हो तपाईं आफैँ कल्पना गर्नुहोस्।’
क्लब फुटबलमा एउटै टोलीबाट मैदानमा उत्रिरहेका दाजुभाइ विश्वकपका लागि फरक बाटोमा छन्। समूह चरण पार गर्न सके यी दुई दाजुभाइको भेट क्वार्टरफाइनलमा हुन सक्छ।
Shares
प्रतिक्रिया