ad ad

खेल


विश्वकप आयोजना गर्ने मुलुकलाई के फाइदा हुन्छ?

विश्वकप आयोजना गर्ने मुलुकलाई के फाइदा हुन्छ?

नेपालखबर
मंसिर ३, २०७९ शनिबार १३:३०, काठमाडौँ

विश्व फुटबलको महत्वपूर्ण प्रतियोगिता फिफा विश्वकप आयोजनाको अधिकार पाउन मुलुकहरुबीच रस्साकस्सी हुने गर्छ।

कतारले पनि ठूलो रस्साकस्सी र विभिन्न विवादका बीच यस वर्षको विश्वकप आयोजना गर्न लागेको हो। यो प्रतियोगिताको लागि विश्वका मुलुकहरु किन मरिहत्ते गर्छन् त? 

फुटबल विश्वकप खेलकुदकै सबैभन्दा ठूलो प्रतियोगिता हो। यो प्रतियोगिता ओलम्पिकभन्दा पनि अगाडि छ। कतारमा हुन गइरहेको विश्वकप पनि पाँच अर्बभन्दा धेरै मानिसले हेर्न सक्ने अपेक्षा छ। टिकट र विभिन्न सामग्रीको बिक्रीदेखि कर्पोरेट स्पोन्सरसिप, पुरस्करको रकम र पर्यटनबाट पनि विश्वकपमा ठूलो रकम आम्दानी यो प्रतियोगितामा हुन्छ। 

यद्यपि आयोजक मुलुकको लागि भने आर्थिक हिसाबमा केही पनि फाइदा हुँदैन। आयोजक मुलुकले तयारी, पूर्वाधार विकास, होटल निर्माणलगायतका क्षेत्रमा अर्बौं डलर लगानी गरेको हुन्छ। यो लगानीमध्ये अधिकांश लगानी उक्त मुलुकले प्राप्त गर्न सक्दैन। पाए पनि नगदको रुपमा भने उक्त लगानी उठ्दैन। 

विश्वकप प्रतियोगिता फिफाको लागि धेरै पैसा आम्दानी हुने प्रतियोगिता हो। यद्यपि यो प्रतियोगितामा आम्दानी भएको रकम फिफा आफैंले राख्छ। सन् २०१८ मा टीभी राइट्सबाट ४ अर्ब ६० करोड डलर आम्दानी भएको थियो भने टिकट बिक्रीबाट करिब एक अर्ब डलर आम्दानी भएको थियो। 

फिफाले आयोजकलाई प्रतियोगिता सञ्चालनको खर्च भने दिन्छ। सोही खर्चअन्तर्गत कतारले यसपटक एक अर्ब ७० करोड डलर पाएको छ। जसमध्ये उपाधि जित्ने टोलीहरुको पुरस्कारको लागि ४४ करोड डलर खर्च हुनेछ। 

कतारले यो विश्वकपको लागि दुई खर्ब डलरभन्दा धेरै रकम खर्च गरेको अनुमान छ। विश्वकपका लागि उसले स्टेडियम, होटल, मनोरञ्जन क्षेत्र सडक तथा रेल सञ्जाल लगायतका संरचनामा उल्लेख्य रकम खर्च गरेको थियो। 

यो प्रतियोगिताको लागि १० लाखभन्दा भेरै विदेशी पर्यटक कतार आउने अपेक्षा गरिएको छ। एक महिना लामो प्रतियोगितामा कतारको पर्यटन क्षेत्रमा उल्लेख्य वृद्धि हुनेछ भने होटल, रेष्टुरेन्टजस्ता व्यवसायको आम्दानी पनि बढ्नेछ। यद्यपि धेरै मानिसको भिड थेग्न होटल तथा रेष्टुरेन्टको क्षमता बढाउनुपर्ने हुन्छ। जसको निर्माण खर्च छोटो अवधिमा हुने आम्दानीको भन्दा धेरै हुन पुग्छ। 

त्यसो भए छोटो अवधिको लागि कसले फाइदा उठाउलान्? 

वर्ल्ड  इकोनोमिक रिपोर्ट्सका अनुसार यस्ता प्रतियोगिता हुँदा होटल तथा अन्य पर्यटकीय क्षेत्रको आम्दानी बढ्ने तर सोही अनुसार सेवामा काम गर्ने कर्मचारीको तलब भने बढ्दैन। यसको अर्थ जोसँग पैसा छ, उनीहरुले पैसा कमाउँछन् र जोसँग छैन उनीहरुले कमाउन सक्दैनन्।

त्यसका साथै विश्वकप हेर्न आउने दर्शकले किन्ने विभिन्न सामग्रीबाट प्राप्त हुने रकम पनि फिफाको मातहतमा हुन्छ। फिफाको प्रायोजक ब्राण्डहरुको बिक्रीको पैसा भने बिडिङ प्रोसेसमा समेटिन्छ। सन् २००६ मा जर्मनीमा भएको फिफा विश्वकपमा जर्मनीमा यस्ता सामग्रीको व्यापारबाट २७ करोड २० लाख डलर आम्दानी भएको थियो। 

यसरी हेर्दा आयोजक मुलुकलाई खासै केही फाइदा हुने देखिँदैन। तर, केही कुराहरु पैसाभन्दा पनि महत्वपूर्ण हुने गर्छ। विश्वकप आयोजना गर्नुलाई सफ्ट पावरको प्रदर्शनको रुपमा पनि हेर्ने गरिन्छ। यो प्रतियोगिता आयोजना गर्नुले मुलुकको लागि विश्वको ढोका पनि खोल्नेछ। त्यस्तै विश्वकप आयोजनाको लागि बनाइएका नयाँ पूर्वाधारबाट पनि मुलुकले नयाँ व्यवसाय सुरु गर्न सक्छ। 

दीर्घकालीनरुपमा हेर्ने हो भने आयोजनाको लागि गरिएको खर्च राम्रोसँग व्यवस्थापन गर्न सकिएको अवस्थामा मुलुकको अर्थतन्त्र विस्तारको मौका पनि सिर्जना हुनेछ। नयाँ सडक र यातायातका परियोजनाले लामो समयसम्म आर्थिक फाइदा दिन सक्छ। 

ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताले विभिन्न किसिमको सामाजिक विभाजनलाई जोड्ने काम पनि गर्छ। सन् २०१८ को शीतकालीन ओलम्पिकमा उत्तर र दक्षिण कोरिया साझा झण्डामा स्टेडियम प्रवेश गरेका थिए। यस्ता प्रगियोगिताले मुलुकमा बालबालिकाहरुमा खेलप्रतिको रुचि पनि बढाउँछ। जुन। स्वास्थ्य स्याहारदेखि धेरै कुराको लागि राम्रो हुन्छ। 

आयोजक मुलुकका लागि पैसा कमाउनुभन्दा पनि विश्वकप प्रतिष्ठा, सम्मान र प्रचारको माध्यम हो।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .