ad ad

खेल


कतार विश्वकप : साविक विजेता फ्रान्सको शानदार सुरुवात

कतार विश्वकप : साविक विजेता फ्रान्सको शानदार सुरुवात

नेपालखबर
मंसिर ७, २०७९ बुधबार २:५२, काठमाडौँ

अष्ट्रेलियालाई पराजित गर्दै साविक विजेता फ्रान्सले फिफा विश्वकपमा शानदार सुरुवात गरेको छ। 

अल वार्कनस्थित अल जनौव स्टेडियममा मंगलबार राति भएको खेलमा फ्रान्सले अष्ट्रेलियालाई ४–१ गोल अन्तरले पाखा लगाएको हो। खेलको सुरुवातमा पछि परे पनि फ्रान्सले सानदार पुर्नरागमन गरेको हो। पहिलो हाफमा २–१ ले अग्रता बनाएको फ्रान्सले दोस्रो हाफमा २ गोल थप्यो।

फ्रान्सको जितमा ओलिभर जिरोटले दुई तथा एड्रिन रोबिट र केलियन एम्बाप्पेले एक एक गोल गरे। अष्ट्रेलियाका क्यारिन गुडविनले सुरुवाती अग्रता दिलाए पनि टोलीले फ्रान्सको दबाब झेल्न सकेन। 

खेलको नवौँ  मिनेटमा गुडविनले गोल गर्दै अष्ट्रेलियालाई सुरुवाती अग्रता दिलाएका थिए। गुडविनले म्याथु लेकीको पासमा उत्कृष्ट फिनिसिङ गरे। 

खेलको २२ औँ मिनेटमा मिच डुकेको प्रहार पोष्टको थोरै माथिबाट बाहिरिदा अष्ट्रेलिया अग्रता दोब्बर पार्नबाट चुक्यो। 

तर १–० ले पछि परेपछि फ्रान्सले आक्रमण बढायो। खेलको २७ औँ मिनेटमा एड्रिन रोबिटले थियो हर्नान्डेजको पासमा गोल गर्दै फ्रान्सलाई बराबरीमा फर्काए। त्यसको २ मिनेटपछि केलिएन एम्बापेको कर्नर प्रहार ओलिभर जिरोटको हेडर प्रहार पोष्टको नजिकबाट बाहिरिँदा अग्रता दोब्बर पार्ने मौका गुमायो। 

खेलको ३२ औँ मिनेटमा जिरुडले रोबिटको पासमा गोल गर्दै फ्रान्सलाई २–१ को अवस्थामा ल्याए। ३७ औँ मिनेटमा लगातार अष्ट्रेलियाको पोष्टमा आक्रमण बुनेको फ्रान्सको प्रहारले पोष्टको गति लिन सकेन। 

खेलको ४२ औँ मिनेटमा एम्बापेको पासमा एन्थोनी ग्रिजम्यानको प्रहार पहिलो बारको नजिकबाट बाहिरियो। ४५ औँ मिनेटमा केलियन एम्बापेको प्रहार पनि पोष्टको माथिबाट बाहिरियो। 

पहिलो हाफको अतिरिक्त समयमा अष्ट्रेलियाका ज्याक्सन इर्भाइनले गरेको प्रहार बाहिरिदा बराबरी गर्ने मौका गुमाएको थियो। 

खेलको ६८ औँ मिनेटमा केलियन एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई ३–१ को अग्रता दिलाए। ७१ औँ मिनेटमा ओलिभर जिरोटको अर्को गोल थप्दा फ्रान्सले ४–१ को जित दर्ता गरेको हो।

यसअघि २००६ पछिका साविक विश्वकप विजेता समूह चरणबाटै बाहिरिएका थिए। फ्रान्सको यो जितसँगै उसको अघिल्लो समूह पुग्ने सम्भावना बलियो बनेको छ। फ्रान्स समूह चरणबाट अगाडि बढे तीन विश्वकपका विजेताले भोगेको नियतीमा ब्रेक लाग्ने छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .