ad ad

खेल


साविक विजेता फ्रान्सलाई उदाउँदो मोरक्कोको चुनौती

साविक विजेता फ्रान्सलाई उदाउँदो मोरक्कोको चुनौती

नेपालखबर
मंसिर २८, २०७९ बुधबार ७:८, काठमाडौँ

साविक विजेता फ्रान्स र मोरक्को बुधबार राति अल वेत स्टेडियममा आमनेसामने हुँदा विश्वकपको उपाधि भिडन्तको अन्तिम बाधा पार गर्ने लक्ष्यमा हुनेछन्। जारी विश्वकपमा दुवै देशले उत्कृष्ट प्रदर्शन कायम राखेका छन्। 

खासगरी अफ्रिकन राष्ट्र मोरक्को अनपेक्षित नतिजासहित यहाँसम्म आइपुगेको छ। मोरक्को समूह चरणदेखि नै अपराजित छ। समूह चरणमै साविक उपविजेतासँग खेलेको मोरक्को फाइनल प्रवेशका लागि भने साविक विजेताको सामना गर्दै छ। 

उपविजेता क्रोएसिया भने अर्जेन्टिनासँग ३–० ले हार्दै सेमिफाइनलमै रोकिएको छ। मोरक्को र फ्रान्सबीच हुने खेलका विजेताले अब उपाधिका लागि अर्जेन्टिनासँग खेल्नेछ। 

मोरक्कोको अब्बल रक्षापंक्ति 

मोरक्को आक्रमणमा भन्दा रक्षात्मकमा अब्बल देखिएको छ। मोरक्को जारी विश्वकपमा ५ खेल खेल्दा मात्रै एक गोल खाएको छ। स्पेनका ३ वटै पेनाल्टी विफल बनाउँदै चकित पारेको थियो। 

मोरक्कोविरुद्ध बलिया टोलीले गोल गर्न सकेका छैनन्। समूहका सबै खेलमा पराजित क्यानडाले मात्रै एक गोल गरेको थियो। उक्त खेल मोरक्कोले २–१ ले जित्यो।  

क्वार्टरफाइनलमा पोर्चुगललाई १–० ले हराएको थियो। त्यसअघि अन्तिम १६ मा स्पेनलाई पेनाल्टी सुटआउटमा ३–० ले हराएको थियो। स्पेनसँगको नतिजासँगै मोरक्कोले विश्व फुटबलको ध्यान तानेको हो। 

त्यसअघि क्रोएसियासँग गोलरहित बराबरी खेलेको मोरक्कोले बेल्जियमलाई २–० ले हराएको थियो। मोरक्कोले एक गोल खाँदा विपक्षीको पोस्टमा ३ पेनाल्टीसहित ८ गोल गरेको छ। 

मोरक्को छैटौंपटक विश्वकप खेलिरहेको छ। यसअघि अन्तिम १६ बाट अघि बढ्न सकेको थिएन। 

फ्रान्सको अब्बल आक्रमण

मोरक्कोको भन्दा फ्रान्सको खेल शैली फरक छ। आक्रमणमा जति शक्तिशाली देखिएको छ फ्रान्स रक्षात्मक हिसाबले तुलनात्मक रुपमा कमजोर छ। फ्रान्स एक मात्रै खेलमा हारेको छ। तर उसले विश्वकपमा सामना गरेका सबै टोलीबाट गोल खाएको छ। 

पहिलो खेलमा अस्ट्रेलियालाई ४–१ ले हराएको थियो। दोस्रो खेलमा डेनमार्कलाई २–१ ले हरायो। तेस्रो खेलमा ट्युनिसियाले १–० ले फ्रान्सलाई हराएको थियो। 

अन्तिम १६ मा पोल्यान्डलाई ३–१ ले हरायो। क्वार्टरफाइनलमा इंग्ल्यान्डलाई २–१ ले हराएसँगै फ्रान्स उपाधि रक्षा गर्ने बाटोमा अघि बढेको हो। फ्रान्सले यसअघि २ पटक विश्वकप जितेको छ। १९९८ मा पहिलोपटक विश्वकप जितेको फ्रान्सले २०१८ मा दोस्रोपटक उपाधि रक्षा गरेको थियो। 

मोरक्कोलाई सेमिफाइनलमा रोक्दै फ्रान्स पुनः उपाधि जित्ने लक्ष्यमा छ। फ्रान्स १६ पटक विश्वकपमा सहभागी भएको छ। 

हेड टु हेड 

फ्रान्स र मोरक्को विश्वकपमा भने पहिलोपटक भिड्न लागेका हुन्। तर मैत्रीपूर्ण र अन्य प्रतियोगितामा गरी ७ पटक प्रतिस्पर्धा गरेका छन्। 

जसमा ४ खेल बराबरीमा सकिएका छन्। बाँकी ३ खेलमा फ्रान्स विजयी भएको छ। मोरक्कोले फ्रान्सलाई हराउन सकेको छैन। फ्रान्सले १३ गोल गरेको छ भने ७ गोल मात्रै खाएको छ। 

पहिलोपटक १९७५ मा १–१ को बराबरी खेलेका यी टोली अन्तिमपटक २००७ मा २–२ को बराबरी खेलेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .