ad ad

सुदूरपश्चिम


सुदूरपश्चिममा सत्ता घटक दललाई भाग पुर्‍याउन फुटाइयो ४ मन्त्रालय

बिनाविभागीय मन्त्रीले पाए जिम्मेवारी
सुदूरपश्चिममा सत्ता घटक दललाई भाग पुर्‍याउन फुटाइयो ४ मन्त्रालय

गोकुल जोशी
असार १६, २०८१ आइतबार १६:३८, कञ्चनपुर

सुदूरपश्चिम प्रदेश सरकारमा सत्तारुढ दलहरूलाई भाग पुर्‍याउन ४ मन्त्रालय फुटाइएको छ।

मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सत्तारुढ दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति र नेकपा एकीकृत समाजवादीका लागि मन्त्रालय टुक्र्याएका हुन्।

भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय फुटाइएको छ।

यो सँगै मुख्यमन्त्रीसहित सुदूरपश्चिममा १० सदस्यीय मन्त्रिमण्डल तयार भएको छ। नागरिक उन्मुक्तिले नेतृत्व गरिरहेको भौतिक पूर्वाधारलाई फुटाएर जलस्रोत तथा सहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय बनाइएको छ।

नेकपा माओवादी केन्द्रले नेतृत्व गरिरहेको सामाजिक विकास मन्त्रालय फुटाएर शिक्षा युवा तथा खेलकुद र स्वास्थ्य महिला तथा बालबालिका मन्त्रालय बनाइएको छ।

मुख्यमन्त्री सोडारीले यसअघि आफू मातहत राखेको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र नागरिक उन्मुक्तिले नेतृत्व गरिराखेको भूमि व्यवस्था कृषि तथा सहकारी विकास मन्त्रालयका महाशाखा गाभेर ३ मन्त्रालय बनाइएको छ।

ती २ मन्त्रालय समायोजन गरेर वन वातावरण तथा सहकारी मन्त्रालय, कृषि तथा भूमि सुधार मन्त्रालय र उद्योग वाणिज्य पर्यटन तथा संस्कृति मन्त्रालय बनाइएको छ।

मन्त्रालय फुटाएसँगै प्रदेश सरकारमा रहेका ५ जना बिना विभागीय मन्त्रीलाई जिम्मेवारी पनि दिइएको छ। नेकपा माओवादी केन्द्रका अक्कल बहादुर रावललाई दोस्रो वरियतासहित जलस्रोत तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ।

जेठ २८ मा मुख्यमन्त्री सोडारीले सरकार विस्तारका क्रममा नेकपा एमालेका सुरेन्द्र बहादुर पाललाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिएका थिए। यो मन्त्रालय यथावत् कायम छ।

नागरिक उन्मुक्तिका कैलाश चौधरीले नेतृत्व गरिरहेको भौतिक पूर्वाधार मन्त्रालय फुटाएपछि हाल उनी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारीमा आएका छन्।

बिना विभागीय मन्त्री रहेका नेकपा एमाले सांसद वीरबहादुर थापाले वन, वातावरण तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाए। २८ जेठमा नै माओवादीबाट नियुक्त बिना विभागीय मन्त्री लक्ष्मी विकले शिक्षा, युवा तथा खेलकुद र नेकपा एकीकृत समाजवादीकी माया पन्तले उद्योग, वाणिज्य, पर्यटन तथा संस्कृति मन्त्रालयको जिम्मेवारी पाएका छन्।

नेकपा एमालेका हिरा सार्कीले यथावत् कायम रहेको आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी पाए। नागरिक उन्मुक्तिकी टीका थापाले यसअघि नेतृत्व गरिरहेको मन्त्रालय फुटाएर बनेको कृषि तथा भूमि सुधार मन्त्रालयको जिम्मेवारी पाइन्।

२८ जेठमा माओवादीका तर्फबाट प्रदेश सरकारमा सामाजिक विकास मन्त्री नियुक्त भएका ओमविक्रम भाटलाई मन्त्रालय फुटालेर बनेको स्वास्थ्य, महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारीमा ल्याइएको छ।

मुख्यमन्त्री सोडारीले सुदूरपश्चिममा पहिलो पटक मन्त्रालय फुटाएर सत्तारुढ दललाई भाग पुर्‍याएर जम्बो मन्त्रिमण्डलका साथ सरकार चलाइरहेका छन्। बिना विभागीय मन्त्रीले झण्डै तीन सातापछि विभाग पाएका छन्।

लामो रस्साकस्सीपछि मुख्यमन्त्री सोडारी विश्वासको मत दिएका दलहरूलाई सरकारमा सामेल गराउन सफल भएका छन्। सरकार विस्तारका क्रममा विश्वासको मत दिएका स्वतन्त्र सांसद डा. ताराप्रसाद जोशीलाई पनि सामेल गराउन खोजिएको थियो। तर जोशीले मन्त्रालय फुटाएर मन्त्री बन्न अस्वीकार गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .