ad ad

बागमती


चितवन मेडिकल कलेजको प्रयोगशालाले पायो विशिष्ट श्रेणीको मान्यता

चितवन मेडिकल कलेजको प्रयोगशालाले पायो विशिष्ट श्रेणीको मान्यता

नेपालखबर
कात्तिक ३, २०७९ बिहिबार १२:५४, चितवन

चितवन मेडिकल कलेज (सीएमसी) शिक्षण अस्पतालको प्रयोगशालाले विशिष्ठ श्रेणी (ए क्याटागोरी) को मान्यता प्राप्त गरेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (नेसनल पब्लिक हेल्थ ल्याब्रोटरी) ले उक्त मान्यता प्रदान गरेको हो। राजधानी बाहिर यो मान्यता प्राप्त गर्ने सीएमसी पहिलो हो।

चितवन मेडिकल कलेज (सीएमसी) शिक्षण अस्पतालले आज यहाँ पत्रकार सम्मेलन गरी राजधानी बाहिर र मेडिकल कलेजमध्ये आफू पहिलो रहेको दाबी गरेको हो। 

अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले  नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड, २०७७ अनुसार ‘ए’ ग्रेडको प्रयोगशालाका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी मान्यता पाएको बताए। 

प्रयोगशालाले विशिष्ट श्रेणीको पूर्ण सुरक्षित भवन र त्यसभित्र आवश्यक पर्ने नमुना सङ्कलन, प्रतीक्षालय, बैठक कक्ष, कार्यालय क्षेत्र, भण्डार, शौचालयलगायतको व्यवस्था गरेको छ। न्यूनतम ३० मध्ये ५० प्रतिशत जनशक्ति स्नातक अथवा सोभन्दा माथिको योग्यताको हुनुपर्ने प्रावधान रहेको भए पनि सीएमसी प्रयोगशालामा तोकिएभन्दा बढी दक्ष जनशक्ति रहेको उनले बताए। 

सो मेडिकल कलेजले यसअघि नै आईएसओ १५१८९ः२०१२ प्राप्त गरिसकेको छ। देवकोटाले उच्च गुणस्तरको प्रयोगशालाका लागि चितवन तथा छिमेकी जिल्लाबाट राजधानी र विदेश जान नपर्ने गरी व्यवस्थापन गरिएको बताए। उनका अनुसार नेपालमा हुने सबै खालका परीक्षण यहाँ गर्न सम्भव छ।

विशिष्ट श्रेणीको प्रयोगशालाको हैसियतले सीएमसी प्रयोगशालाले अन्य प्रयोगशालामा नहुने विशिष्ट जाँच पनि यसअघिदेखि नै गरिरहेको छ। अब यहाँ परीक्षण हुन नसकेर नमुना विदेश पठाउनुपर्ने अवस्थाको अन्त्य भएको छ।

सीएमसी प्रयोगशालामा यसअघि नै हरेक परीक्षण स्टान्डर्ड ओपरेटिङ सिस्टम (एसओपी) अनुसार र गुणस्तर म्यानुअलअनुसार परीक्षण गर्ने भएकाले यसलाई अझै प्रभावकारी बनाउँदै लैजाने प्रयोगशाला प्रमुख सञ्जयराय यादवले बताए। 

उनले भने, ‘प्रयोगशाला स्वाथ्य सेवाको अभिन्न अङ्ग हो। प्रयोगशालाको नतिजाका आधारमा नै रोगको पहिचान र उपचार सहज हुन्छ।’

अस्पतालका निर्देशक डा दयाराम लम्सालले प्रयोगशाला उच्च गुणस्तरको नहुँदा बिरामीलाई उपचारमा कठिनाइ हुने भएकाले ठूलो लगानीमा विशिष्ट किसिमको प्रयोगशाला आफैँले बनाएको बताए। 

उनले भने, ‘राजधानी बाहिर यस्तो प्रयोगशाला अन्यत्र छैन, राजधानीमा हुने सबैखाले परीक्षण हामी गर्छौँ।’

अन्य अस्पताल र प्रयोगशालालाई पनि यो प्रयोगशाला उपयोगी हुने उनको भनाइ छ। देशभरकै मेडिकल कलेजमा धेरै बिरामी उपचार गर्ने अस्पतालका रूपमा चितवन मेडिकल कलेजलाई चिन्ने गरिन्छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .