७ राजनीतिक दलको प्रतिनिधित्व रहेको बागमती प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस हो। तर, केन्द्रमा नयाँ गठबन्धन बन्दा कांग्रेस प्रतिपक्षमा बस्न बाध्य हुनुपर्यो।
गठबन्धनमा रहेका दल बाहेक सबैभन्दा ठूलो दल रहेकै कारण कांग्रेसले प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्ने अवसर प्राप्त गर्न सफल भयो। प्रदेश सभामा कांगे्रसलाई प्रमुख प्रतिपक्षी दल पनि घोषणा गरिसकिएको छ।
तर, सरकालाई विश्वासको मत दिएर समर्थन गरेको कांग्रेस सत्तापक्ष नै हुनुपर्ने भन्दै नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले आफ्नो दललाई प्रमुख प्रतिपक्षी दल घोषणा गर्नुपर्ने माग राखेको छ।
मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई नेमकिपा बाहेक ६ राजनीतिक दलको समर्थन रहेको थियो। माघ ३ गते बसेको प्रदेश सभाको बैठकमा १०५ सांसदले मुख्यमन्त्रीलाई विश्वासको मत दिएका थिए। कांग्रेसले पनि सरकारलाई सघाएको भन्दै कांग्रेस प्रतिपक्ष दल हुनै नसक्ने नेमकिपा बागमती संसदीय दलका नेता सुरेन्द्रराज गोसाईँले बताए।
त्यसो त, सभामुख समक्ष केहीदिन अघि नै लिखित रुपमा नै विपक्षी दलको नेता आफूलाई बनाउन माग गर्दै उनले संसद सचिवालयमा पत्र बुझाएका थिए।
‘सरकारलाई विश्वासको मत दिँदा ३ मत अर्थात नेमकिपाले मात्रै विपक्षीमा मत दिएका कारण नेमकिपालाई प्रमुख प्रतिपक्षी दलको घोषणा गर्नुपर्छ भन्ने हाम्रो माग हो,’ गोसाईँले भने।
यता, बागमती प्रदेश सभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामा भने सरकारको निर्णयले आफ्नो पार्टी विपक्षी दल घोषणा भैसकेको र अब अरुले भन्दैमा हटाउन नमिल्ने बताउँछन्।
‘दाबी विरोध उहाँहरुको नैसर्गिक अधिकार हो। तर कार्यविधि अनुसार हामी प्रमुख प्रतिपक्षी दलमा घोषणा भैसक्यौं। सरकार पक्षबाहेक अन्य दल जो ठूलो छ, उसैलाई प्रमुख प्रतिपक्षको हैसियत दिने कार्यविधि छ। सोही अनुसार हामीले प्रमुख प्रतिपक्षी दलको भूमिका पाएका हौं,’ उनले भने।
सरकारलाई विश्वासको मत दिनु र सरकारमा मिसिन जानुमा फरक रहेको भन्दै सांसद लामा प्रमुख प्रतिपक्षी दलको हक कांग्रेस बाहेक अरुलाई नभएको दाबी गर्छन्।
एकपटक सरकारले गरेको निर्णय नदोहोरिने मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको भनाई छ।
उनले भने, ‘सरकार पक्ष र प्रतिपक्ष हुनलाई के के आधार चाहिन्छ भनेर कार्यविधि नै बनेका छन्। सोही अनुसार कांग्रेस बागमती प्रदेश सरकारको एक मात्रै प्रमुख प्रतिपक्ष दल हो। यसलाई अब पुनः परिमार्जन गर्न आवश्यक छैन।’
११० सदस्य रहेको बागमतीमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राप्रपा, नेकपा एकीकृत समाजवादी, हाम्रो नेपाली पार्टी र नेपाल मजदुर किसान पार्टी गरी ७ राजनीतिक दलहरु समावेश छन्।
मुख्यमन्त्रीलाई विश्वासको मत दिँदा संघीय संसदकै सिको गर्दै कांग्रेसले पनि विश्वासको मत दिएको थियो। नेमकिपा मात्रैले विपक्षमा मत जाहेर गरेकै आधारमा प्रमुख प्रतिपक्षी दल नेमकिपालाई नै घोषणा गर्नुपर्ने माग गरिरहेको हो।
Shares
प्रतिक्रिया